शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

मार्सको शानदार शतक, गुजरातसामु रनको पहाड

बिहीबार, ०८ जेठ २०८२, २१ : ५१
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • मिचेल मार्सको उत्कृष्ट शतकको मद्दतले लखनउले गुजरातलाई जितका लागि २३६ रनको लक्ष्य दियो।
  • मार्सले ११७ रन बनाए भने निकोलस पूरनले ५६ रनको योगदान दिए।
  • गुजरात प्लेअफमा पुगिसकेको छ भने लखनउ उपाधि होडबाट बाहिरिएको छ, गुजरात अंक तालिकामा पहिलो स्थानमा छ।

अहमदाबाद । मिचेल मार्सको शानदार शतकको मद्दतले लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्ससामु जितका लागि २ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहमदादबादको नरेन्द्र मोदी स्टेडियममा बिहीबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको हो ।

मार्सले ६४ बलको सामना गर्दै सर्वाधिक ११७ रनको योगदान दिए । उनले १० चौका र ८ छक्का प्रहार गरे । मार्ससँग मिलेर एडेन मार्क्रमले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरे । मार्क्रमले २४ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतले ३६ रन बनाए ।

निकोलस पूरनले ५६ रनको महत्त्वपूर्ण योगदान दिए । आफ्नो इनिङ्समा उनले ४ चौका र ५ छक्का प्रहार गरे । उनी र मार्सले मात्र ५२ बलमा १२१ रन जोडे ।  अन्त्यतिर कप्तान ऋषभ पन्तले तीव्र गतिमा रन बनाउँदै १६ रन जोडे । गुजरातका लागि साई किशोर र अर्सद खानले १–१ विकेट लिए ।

गुजरात र लखनउ दुवैले आफ्नो १३औँ खेल खेल्दैछन् । गुजरात प्ले–अफ चरणमा पुगिसकेको छ भने लखनउ यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । गुजरात हाल अङ्क तालिकाको पहिलो स्थानमा आसीन छ ।

गुजरातले १२ खेलबाट १८ अङ्क बटुलेको छ । गुजरातले नौ जित र तीन हारको नतिजा निकोलेको छ । गुजरात यो खेलमा लखनउलाई हराउँदै तालिकामा आफ्नो स्थान अझ मजबुत बनाउने धुनमा रहने छ । 

अर्कोतिर, लखनउले जारी सिजनको आईपीएलमा मिश्रित प्रदर्शन गरेको छ । लखनउ हाल १२ खेलबाट १० अङ्क बटुल्दै तालिकाको सातौँ स्थानमा आसीन छ । लखनउले पाँच खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । 

जारी सिजनको आईपीएलमा गुजरात र लखनउ दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा लखनउले गुजरातलाई ६ विकेटले हराएको थियो । त्यसैले बिहीबार गुजरातको टोली लखनउसँग अघिल्लो हारको बदला लिने धुनमा पनि रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप