सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय

चालु खाता र शोधनान्तर बचतमा

सोमबार, १२ जेठ २०८२, ०६ : ४१
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ। शोधनान्तर रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ।
  • कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८८ अर्ब २० करोड पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई रु १३ खर्ब नौ अर्ब ५३ करोड पुगेको छ।
  • विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ। औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ।

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधनान्तर रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८८ अर्ब २० करोड पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई रु १३ खर्ब नौ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर रु ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ । 

चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो ।  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब छ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा ९९ हजार छ सय ६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् । चालु आवको नौ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ । चालु आवको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति पाँच दशमलव ९२ प्रतिशत  थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत  थियो । 

गत चैतमा खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्य वृद्धि ५.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत रहेको थियो । 

वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप