आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडकमा कालोपत्रेकाे काम सुरू

आइतबार, ११ जेठ २०८२, २० : ५९
आइतबार, ११ जेठ २०८२

सुर्खेत । २० को दशकमै हुलाकी सडकका रूपमा विकास गर्न सुरु गरिएको सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडकको स्तरोन्नतिको काम सुरू भएको छ । 

आइतबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एक कार्यक्रमकाबिच सडक कालाेपत्रे कामकाे  उद्घाटन गरेका छन् । यससँगै वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने  फलाटे–रानीघाट खण्डको ७ किलोमिटर कालोपत्रेको काम सुरु गरेका छन्  ।

कालोपत्रे कार्यकाे उद्घाटन गर्दै कँडेलले कर्णालीका नागरिकले लामो समयदेखि प्रयोग गर्दै आएको उक्त सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा थप टेवा पुग्ने बताए । 

कुनै समय कर्णालीका पहाडी जिल्लामा हटारुहरु यही बाटो हुँदै बर्दियाको राजापुर खाद्यान्न लगायतका सामानहरू ल्याउन जाने यो मार्ग हाट मार्गका रूपमा पनि चिनिन्थ्यो । यदि यो सडकलाई पूर्ण रूपमा स्तरोन्नति गर्न सके बर्दिया राष्ट्रिय निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई छोटो समयमै वीरेन्द्रनगर ल्याउन सकिने मुख्यमन्त्री कँडेलले बताए । 

०८३ पुस ३० गते निर्माण कार्य सक्ने लक्ष्यसहित बसना निर्माण सेवा कालिकोटले १८ करोड ५२ लाख २३ हजार ८५१ रुपैयाँमा जिम्मा लिएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले सुरुवाती खण्डको स्तोरन्नतिका लागि ३२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको थियो ।

१० किलोमिटर सडकमध्ये अहिले ७ किलोमिटरमा काम सुरु गरिएको हो । वीरेन्द्रनगरस्थित जुम्लारोड मुलपानीदेखि फलाटेसम्म ३ किलोमिटर यसअघि प्रदेश सरकारले कालोपत्रे गरिसकेको छ । 

मुख्यमन्त्री कँडेलले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । २० को दशकमै चर्चामा रहेपनि राज्यको उपेक्षाका कारण सडकले पूर्णता पाउन सकेको थिएन । प्रदेश सरकार बनेसँगै कर्णाली सरकारले यस सडकलाई प्राथमिकतामा राख्दै आएको छ । 

यद्यपि यावत् कारण काममा विलम्ब भइरहेको छ । वीरेन्द्रनगरदेखि भुरीगाउँसम्म सडकको दुरी ५२ किलोमिटर रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने ५ किलोटर र भेरी नदीमा पुल निर्माणको काम अझै सुरु भएको छैन । सुर्खेत खण्डको अन्य खण्डमा पनि काम भइरहेको छ । 

बर्दियातर्फ तेलपानी–भुरीगाउँ सडकले रुख कटानको बल्ल सहमति पाएको छ ।  उक्त खण्डमा झन्डै १३ करोड लागतमा ६ वर्षअघि ठेक्का सम्झौता भएपनि जग्गा भोगाधिकार र रुख कटानको समस्याले अहिलेसम्म काम सुरु भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप