गृहमन्त्रीको सचिवालयबाट पौडेलको एनइओसीमा ४ गतेको मितिमा आज सरुवा

समाचार सारांश
- गृहमन्त्रीको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई भिजिट भिसा सेटिङको आरोपमा एनइओसीमा सरुवा गरिएको छ।
- अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई नियन्त्रणमा लिएपछि पौडेलको नाम पनि छानबिनमा आएको थियो।
- पौडेल यसअघि पनि नक्कली कागजात बनाएर मानिसहरूलाई विदेश पठाउने गिरोहमा संलग्न भएको आरोप लागेको थियो।
काठमाडौँ । भिजिट भिसामा सेटिङको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र (एनइओसी) मा सरुवा गरिएको छ ।
गत बुधबार (जेठ ६ गते) मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापा हानेर नियन्त्रणमा लिएको थियो ।
भिजिट भिसामा सेटिङका आधारमा अनैतिक काम गरेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा हान्दा शङ्का लागेपछि भट्टराईसँग सम्बन्धित डिभाइस अख्तियारले नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाएको छ ।
त्यो सेटिङमा मन्त्रीको सचिवालयमा कार्यरत शाखा अधिकृत पौडेलको पनि हात रहेको विषय बाहिर आएपछि उनलाई एनइओसीमा सरुवा गरिएको हो । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजाल स्तरीय निर्णयबाट पौडेलको सचिवालयबाट सरुवा गरिएको हो ।
उनलाई गत जेठ ४ गतेको मितिमा सरुवा गरिएको पत्र दिइएको कर्मचारी प्रशासन महाशाखा स्रोतले जानकारी दियो । तथापि उनको सरुवा भने शुक्रबार छलफल भएर आइतबार मात्रै गरिएको निकटस्थ स्रोत बताउँछ ।
भिजिट भिसा सेटिङ प्रकरणमा पौडेलको नाम पनि जोडिएपछि सरुवा गरिएको बताइएको छ । तर एनइओसीको वेभसाइटमा यो समाचार तयार पार्दासम्म पौडेल शाखा अधिकृत रहेको उल्लेख गरिएको छैन ।
पौडेल यसअघि आफै पनि नक्कली कागजात तयार पारेर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न भएको अभियोग खेपेका अधिकृत हुन् । नरवीर खड्कासहित पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु आचार्य, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोलाई नक्कली कागजात तयार पारेर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरिएको थियो । पछि पौडेलले अदालतबाट सफाइ पाएका थिए ।