आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य

बेलैमा उपचार नगर्दा पाठेघर गुमाउँदैछन् महिला

आइतबार, ११ जेठ २०८२, १५ : ००
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • बझाङकी गीता बोहरा सुत्केरी भएको वर्ष दिन नपुग्दै फेरि घाँस-दाउरा र भारी बोक्ने काममा व्यस्त भइन्, पाठेघरको समस्याले उनी प्रत्येक महिना अस्पताल धाउन बाध्य छिन्।
  • सुदूरपश्चिमका महिलाहरू पाठेघरको समस्याबाट पीडित छन् किनभने सुत्केरी अवस्थामा राम्रो स्याहार पाउँदैनन्, आर्थिक अवस्था कमजोर छ, र स्वास्थ्यप्रति सजग हुने चेतनाको अभाव छ।
  • महिलाहरूले आफ्नो स्वास्थ्य समस्या लुकाउने र परिवारले बेवास्ता गर्दा पाठेघर सम्बन्धी रोगहरू बढ्दै गएका छन्, जसले गर्दा कतिपय महिलाले पाठेघर नै फाल्नुपरेको छ।

धनगढी । सुत्केरी भएको वर्ष दिन पनि नपुग्दै बझाङकी गीता बोहरा (नाम परिवर्तन) फेरि घाँस–दाउरा र भारी बोक्ने काममा व्यस्त भइन् । जीविकोपार्जनका लागि भारतका विभिन्न ठाउँ पुगेर ज्याला–मजदुरी गरेकी उनी ४५ वर्र्षको उमेर पुग्दा–नपुग्दै प्रत्येक महिना अस्पताल धाउन बाध्य भएकी छन् ।

पाठेघरमा समस्या देखिएपछि उनलाई चिकित्सकले नियमित औषधि सेवन गर्न सल्लाह दिएका छन् । उनी प्रत्येक महिना ‘फलो अप’का लागि अस्पताल पुग्नुपर्छ ।

परिवारको आर्थिक अवस्था, चेतनाको अभाव र सामाजिक परिवेशका कारण गीताजस्तै सुदूरपश्चिमका कैयौँ महिला पाठेघरको समस्याबाट पीडित छन् । सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु, काम नगरी हातमुख जोर्ने अवस्था नहुनु लगायतका कारण पनि महिलाले आफ्नो स्वास्थ्य अवस्थाको ख्याल गर्न सकेका छैनन् ।

सुत्केरी भएको वर्षदिन नपुग्दै घर छाडेर उत्तराखण्ड पुगेकी गीताले त्यहाँ रहँदा कामलाई नै बढी महत्त्व दिइन् । बिहानदेखि बेलुकासम्म बारीमा झुकी–झुकी काम गरेकी उनले पोषणको ख्याल गर्न पाइनन्, न त सामान्य स्वास्थ्य समस्यालाई नै समयमै ध्यान दिन सकिन् ।

‘पहिलो पटक पेट दुख्दा सानो समस्या होला भनेर बेवास्ता गरेँ । पछि त रगत बग्न थाल्यो, सेतो पानी झर्न थाल्यो,’ धनगढीको एक निजी अस्पतालमा उपचारका लागि आएकी उनले रातोपाटीसँग भनिन् ।

गीताको भोगाइ सुदूरपश्चिमका विकट गाउँका गरिब समुदायका सयौँ महिलाको प्रतिनिधिमूलक कथा हो । जहाँ महिला आफ्नै शरीरको आवाज सुन्ने फुर्सद पाउँदैनन्, समाजले त परै जाओस्, जबसम्म अवस्था चरम बिन्दुमा पुग्दैन, तबसम्म उपचार, जाँच वा स्वास्थ्यप्रति सजग हुने संस्कार नै छैन । यही प्रवृत्तिले गर्दा अहिले पनि थुप्रै महिलाहरू पाठेघरको समस्या लिएर अस्पताल पुग्दा ढिलो भइसकेको हुन्छ । गीताकै जस्ता समस्याका कारण कतिपय महिलाले त पाठेघर नै काटेर फाल्नुपर्ने अवस्था झेलिरहेका छन् ।

गीताले जीवनको तीन दशक भारतमै बिताइन् । कहिले बैंगलोर, कहिले उत्तराखण्ड । घाँस, दाउरा, मेलापात, भारी बोक्नेजस्ता कठिन शारीरिक कामले उनको जीवन पूरै थकित बनायो ।

कामकै सिलसिलामा बेंगलोर रहेको समयमा उनी थला परिन् । बैंगलोरको अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले पाठेघर तत्काल फाल्नुपर्ने बताए ।

श्रीमान निरन्तर मदिरा सेवन गर्ने, छोरा सानो भएकाले उनलाई उपचारमा साथ दिने कोही थिएन । भाइको सहयोगमा उनले पाठेघरको शल्यक्रिया गराइन् ।

‘शल्यक्रियापछि केही महिना बिरामी भएर बसेँ, श्रीमान अब सुध्रिन्छु भन्थे, तर बानी छुटेन,’ उनले भनिन् ।

पछि श्रीमानलाई टाउकोको मासु पलाउने रोग लाग्यो । उनलाई बचाउन लाखौँ खर्च गरियो, तर सम्भव भएन । बाँकी रहिन् गीता र उनको शिथिल शरीर । नियमित उपचारमा खर्च गर्दै आएकी उनलाई छोरा पढाउनसमेत आर्थिक समस्या छ ।

कञ्चनपुरको बेलडाँडी गाउँबाट सीतादेवी रानी प्रत्येक महिना स्वास्थ्य परीक्षण र उपचारका लागि धनगढी आइपुग्छिन् । ‘गाडी भाडा, औषधि, फलफूल खर्च गरेर महिनामा १०–१५ हजार लाग्छ,’ उनले भनिन् ।

कैलालीको चुरे गाउँपालिका–४ की फूलमाया घर्तीलाई पनि पाठेघरको क्यान्सर भयो । उनले भारतमा गएर पाठेघर परीक्षण गराइन् । त्यहाँ पहिलो चरणमा डाक्टरले औषधि दिए । तर अवस्था सुधार नभएपछि उनले पाँच वर्ष अगाडि ५० हजार खर्च लगाएर पाठेघर काटेर फ्याक्नुपरेको सुनाइन् ।

‘पेट दुख्ने, कम्मर दुख्ने, हिँडडुल गर्न नहुने भएपछि मैले बल्ल पाठेघरको परीक्षण गराएकी हुँ,’ घर्तीले भनिन् ।

घर्तीकै छिमेकी ३३ वर्षकी सुनिता घर्तीमगर पनि पाठेघरमा समस्या भएपछि औषधि सेवन गरिरहेकी छन् । धेरै पटक गर्भ फ्याँक्ने, सानै उमेरमा बच्चा जन्माउने, सुत्केरी समयमा पर्याप्त स्याहार नपाउनै, समयमै उपचारका लागि स्वास्थ्य संस्था नजाने प्रवृत्तिका कारण महिलाहरू पाठेघर सम्बन्धी समस्या भोगिरहेका स्वास्थ्यकर्मी हिमा उपाध्यायले बताइन् ।

‘अझै पनि महिलाहरू खुलेर आफ्नो समस्या भन्दैनन् । न त परिवारले नै गम्भीर मानेर स्वास्थ्य परीक्षण, उपचार गर्न चासो राख्छन् । यसले महिलाको जीवनमा ठुलो समस्या पारेको छ,’ उनले भनिन्, ‘प्रत्येक गाउँका स्वास्थ्य संस्था लगायतका विभिन्न अस्पतालबाट सरकारले यो विषयमा राम्रोसँग बुझेर पाठेघर बचाउने अभियानमा लाग्नुपर्छ ।’

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारले प्रजनन स्वास्थ्य सम्बन्धी शिविरहरू सञ्चालनका लागि बजेट छुट्ट्याएको छ, तर ती शिविर कहाँ र कहिले सञ्चालन भए भन्ने विवरण अस्पष्ट छ ।

स्थानीय तह र स्वास्थ्य कार्यालयले सेवा प्रवाह गरेको दाबी गरे पनि तथ्याङ्क र अनुगमनको अभावमा यसको प्रभावकारिता थाहा पाउन मुस्किल छ ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र यौन शिक्षा अभावमा महिला अझै पनि गम्भीर रोगको चपेटामा परिरहेका छन् । प्रजनन स्वास्थ्यका विषयमा सरकारका तर्फबाट हुने कार्यक्रमले विकट, दुरदराजका गरिब महिलाहरूलाई छुन सकेको छैन ।

सेती प्रादेशिक अस्पतालका मेसु डा. शेरबहादुर कमरका अनुसार महिलामा महिनावारी नभएको बेला रगत बग्ने, तल्लो पेट दुख्ने, यौनाङ्गमा बिमिरा आउने जस्ता लक्षण देखिएमा बेवास्ता गर्ने प्रवृत्तिले पाठेघरको क्यान्सर बढ्दैछ ।

३० वर्षभन्दा माथिका सबै महिलाले कम्तीमा वर्षमा एक पटक पाठेघरको स्वास्थ्य जाँच गर्नुपर्ने डा. कमरले बताए । उनले भने, ‘सरकारी अस्पतालमा अहिले पनि निःशुल्क परीक्षण सेवा छ, तर महिलाहरू त्यसबारे जानकार छैनन् । न त परिवारबाट उनीहरूले यसबारे सहयोग पाउँछन् । त्यसैले कैयौँ महिला रोग पालेर बसिरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप