बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

युवा संघमा प्रतिस्पर्धा : केपी ओलीको दबाबका बिच पुरीले छाडेनन् अडान

दुवै उम्मेदवार प्यानलसहित मैदानमा, के भन्छन् थेबे र पुरी ?
सोमबार, १२ जेठ २०८२, ०६ : ५९
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • युवा संघको राष्ट्रिय महाधिवेशन पोखरामा जारी छ, जसमा अध्यक्षका लागि क्षितिज थेबे र सुमन पुरीबीच प्रतिस्पर्धा हुँदैछ।
  • केपी ओलीले थेबेलाई सर्वसम्मत बनाउन खोजे पनि पुरीको अडानका कारण निर्वाचन हुने भएको छ, जसमा विद्यादेवी भण्डारीको समर्थन पुरीलाई रहेको चर्चा छ।
  • निर्वाचनमा १ हजार ७५२ प्रतिनिधिले मतदान गर्नेछन् र सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने मंगलबारसम्ममा अध्यक्ष निर्वाचित हुने अपेक्षा गरिएको छ।

पोखरा । पार्टी 'हेडक्वार्टर' एकातिर ढल्किँदा सुमन पुरी कसको आडमा युवा संघको अध्यक्ष बन्ने अडानमा छन् भनेर एक नेतालाई सोध्दा उनले भने, ‘मदन भण्डारी फाउन्डेसन उहाँसँग छ । यसको मतलब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विना यो सम्भव होला ?’ 

चीन भ्रमणमा रहेकी भण्डारीले आधिकारिक वक्तव्य दिएकी त छैनन्, तर उनको समर्थन पुरीलाई छ भन्ने हल्ला युवा संघको राष्ट्रिय महाधिवेशन स्थल पोखरा सभागृहभर फैलिएको छ ।

 यता हालका अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत बनाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका थिए । तर पुरीको अडानका कारण अध्यक्ष मण्डलले उनलाई सर्वसम्मत बनाउन नसकेपछि निर्वाचन हुन लागेको छ । जसअनुसार थेबे र पुरी प्यानलसहित मैदानमा खडा भएका छन् । 

युवासंघका पूर्व अध्यक्षहरू भानुभक्त ढकाल, महेश बस्नेत र हालका इन्चार्ज समेत रहेका राजीव पहारी सम्मिलित अध्यक्ष मण्डलले ओलीको निर्देशन अनुसार भरमग्दुर प्रयास गरे । पुरीले अडान नछाड्दा मतदानको अवस्था सिर्जना भएको हो । 

त्यसो त अध्यक्षमा आधा दर्जनको आकाङ्क्षा थियो । हालका उपाध्यक्षहरू महाराजा गुरुङ, प्रकाश गौतम, युवा विज्ञ परिषद् संयोजक मदन भण्डारी लगायतले अध्यक्षमा दाबी गरेका थिए । अन्ततः उनीहरू तितरबितर भए । गौतमले पुरीलाई साथ दिए र उनको उपाध्यक्ष भएर उम्मेदवारी दिएका छन् । महाराजा भने थेबेतिरै खुले, उनले पनि प्यानलबाट उपाध्यक्षमा दोहोरिन मनोनयन दर्ता गराएका छन् । 

थेबे समूहबाट उपाध्यक्षमा माहाराजा गुरूङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिव महिला निशा लिम्बू, सचिव खुलातर्फ मोबिन आलम, मदन भण्डारी, देबु बस्नेतले मनोनयन दर्ता गराएका छन् । पुरी समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिव कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले मनोनयन दर्ता गराएका छन् । महिला सचिवमा रेशु तामाङ र सचिव (मधेसी) मा चित्ररञ्जन यादव, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवरले उम्मेदवारी दिएका छन् । 

एमाले हेडक्वार्टको दबाब पछि थेबे उठ्नै पर्ने अवस्थामा पुगे । यता पुरीको दाबी स्वाभाविक रहेको युवासंघका नेताहरू बताउँछन् । दुई पटक उपाध्यक्ष बनेर महासचिवमा थुमथुम्याइएका पुरीले मतदानको माग गरिरहँदा उनलाई बोक्ने नेता खुलेर मैदानमा झरेका छैनन् । तर केन्द्रमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ सहितका नेताहरूले पुरीको प्यानल निर्माणमा सघाएको बताइन्छ । स्रोतका अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त्यो काम गर्न नेताहरूलाई अह्राएकी थिइन् ।

नेतृत्व दोहोर्‍याउन नहुने वक्तव्य दिँदै आएका युवा संघका इन्चार्ज तथा पूर्व अध्यक्ष राजीव पहारी, महेश बस्नेतहरू  थेबेतिरै खुलेका छन् । एमाले नेतृत्व थेबेलाई सर्वसम्मत नेतृत्व चुन्न चाहन्थ्यो, महाधिवेशनका प्रतिनिधिहरू आफ्नो नेता आफै मत दिएर निर्वाचित गराउनुपर्ने अडानमा टसमस नभएपछि एमालेको भ्रातृ संस्थामा निर्वाचन ‘निषेध’को शृङ्खला युवा संघबाट तोडिँदै छ । 

९ सदस्यीय पदाधिकारीसहित १ सय ५१ पदमा निर्वाचन हुने छ । योबाहेक पनि लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको समेत मतदान हुनेछ । 

महाधिवेशनमा १ हजार ७ सय ५२ प्रतिनिधिले मतदान गर्ने छन् । मतदान सोमबार बिहान ८ बजेदेखि हुने कार्यतालिका छ । तर भोटिङ मेसिनमा नामावली मिलाउनुपर्ने र अन्य प्राविधिक कारणले दिनैभर समय लाग्ने बताइएको छ । जे होस्, मंगलबारसम्ममा युवा सघंको  अध्यक्ष निर्वाचित हुनेछन् । भोटिङ मेसिन सभागृहमा ल्याइसकिएको छ । 

म एमालेको आधिकारिक उम्मेदवार हुँ: थेबे

494687211_1223915895951212_669018775215937484_n

हाम्रो संगठन गतिशील संगठन हो । अधिकार प्राप्तिको अभियानमा लागेको संगठन हो । अबको उद्देश्य भनेको समृद्धी र राष्ट्रिय पुँजी निर्माण गर्नु हो । नेपालमा केही गर्न सकिँदैन र युवाहरूका लागि नेपालमा कुनै भविष्य छैन भन्ने भाष्य निर्माण गर्न लागिएको छ । यसलाई तोड्नुपर्ने छ । नेपालको मुख्य समस्या भनेको बेरोजगारी हो । यो महाधिवेसनले नीतिमा सुधार ल्याउन दबाब दिन्छ । बेरोजगारी अन्त्य गर्न हामी आफै उद्यमी बन्छौं । ३ वर्षमा २० लाख रोजगारी दिने प्रण गरेर अगाडि बढ्छ । अहिलेको नेपालको राजनीतिलाई अगाडि बढाउन र राष्ट्र जोगाउन युवा संघ चाहिएको छ । त्यसको लागि सक्षम नेतृत्व चाहिन्छ । 

अर्कोतिर भूराजनीतिले विश्वलाई गिजोलेको छ, ग्लोबल युगमा कसरी नेपाललाई समाहित गर्ने भन्ने सोचमा हामी केन्द्रित छौँ । नेपाललाई देशी विदेशीको षड्यन्त्रबाट जोगाउन भिजिनरी लिडरसिप चाहिएको छ । आम युवा पङ्क्तिले क्षितिज थेबे दोहोरिन पर्छ भनेपछि म अघि बढेको हुँ । नेकपा एमालेको उम्मेदवार म हुँ । यो सामान्य कुरा हो । केपी शर्मा ओली पार्टी अध्यक्ष हो, युवासंघको अहिलेको अध्यक्ष म हुँ । राजनीतिक सुझबुझका साथ युवा मुभमेण्टलाई निष्कर्षमा लैजान म अघि बढेको छु । पार्टी पङ्क्ति र अध्यक्ष कमरेडसँग छलफल गरेपछि निर्णयमा पुगेको हुँ ।

अध्यक्ष कमरेडले पनि मलाई नै सहयोग गर्नुहुन्छ : पुरी 

494817033_725952416624521_6403778884494498801_n

बहालवाला अध्यक्षले नेतृत्व दाबी गर्दा पार्टी नेतृत्वले साथ दिएको हो कि भन्ने अड्कलबाजी मात्रै हो । हाम्रो अध्यक्ष सम्माननीय प्रधानमन्त्री ज्यूले सकेसम्म सर्वसम्मत गर्नुस् नत्र स्वच्छ प्रतिस्पर्धा गर्नुस् भन्नुभएको छ । मुगुको साथीसँग झापाको साथीले भोट माग्ने अवसर अरू बेला कहाँ पाइन्छ ? यसले त हार्दिकता बढाएको छ, सङ्गठनलाई चलायमान बनाएको छ । यो राम्रो पक्ष हो । 

दुई कार्यकाल उपाध्यक्ष भएर महासचिवमा झरेँ । नवीन कार्यक्रम मार्फत दुई संस्करण सफल गर्‍यौं । अध्यक्ष ज्यूलाई हामीले सक्दो सहयोग गर्‍यौं । विश्वास छ, अध्यक्ष कमरेडले पनि मलाई नै सहयोग गर्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप