आईपीएलको ‘अरेन्ज’ र ‘पर्पल’ क्यापमा गुजरातका खेलाडीको दबदबा
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणको प्ले-अफ चरणमा पुग्ने टिमको टुंगो लाग्यो। गुजरात टाइटन्स, पञ्जाब किङ्स, रोयल च्यालेन्जर्स बेंगलुरु र मुम्बई इन्डियन्स प्ले-अफमा प्रवेश गरे।
- आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई 'अरेन्ज क्याप' र सर्वाधिक विकेट लिने बलरलाई 'पर्पल क्याप' दिइन्छ। यस पटक दुवै विधामा गुजरात टाइटन्सका खेलाडी अगाडि छन्।
- सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा गुजरातका साई सुदर्शन पहिलो र शुभमन गिल दोस्रो स्थानमा छन्। सर्वाधिक विकेट लिनेमा चेन्नईका नुर अहमद पहिलो स्थानमा छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण उत्तरार्धतिर छ । ७४ मध्ये हालसम्म ६८ खेल खेलिसकिएको छ । अब लिग चरणको दुई खेलमात्र खेल्न बाँकी छ ।
प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने चारवटै टोलीको पनि टुङ्गो लागिसकेको छ । गुजरात टाइटन्स, पञ्जाब किङ्स, रोयल च्यालेन्जर्स बेंगलुरु र मुम्बई इन्डियन्स प्ले–अफ चरणमा पुगेका छन् ।
आईपीएलको प्रत्येक संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई ‘अरेन्ज क्याप’ र सर्वाधिक विकेट लिने बलरलाई ‘पर्पल क्याच’ प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
यसपटक यी दुवै विधामा गुजरात टाइटन्सका खेलाडी अगाडि देखिएका छन् । हाल सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा गुजरातका दुई खेलाडी पहिलो र दोस्रो स्थानमा आसीन छन् ।
यो सूचीमा गुजरातका साई सुदर्शन पहिलो स्थानमा छन् । उनले १४ खेलमा कुल ६ सय ७९ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक पनि प्रहार गरेका छन् ।
यसैगरी, अरेन्ज क्यापको दौडमा गुजरातकै शुभमन गिल दोस्रो स्थानमा आसीन छन् । उनले १४ खेलमा कुल ६ सय ४९ रन बनाएका छन् । यस क्रममा उनले ६ अर्धशतक बनाएका छन् ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा तेस्रो स्थानमा रहेका मुम्बई इन्डियन्सका सूर्यकुमार यादवले १३ खेलमा कुल पाँच सय ८३ रन बटुलेका छन् । उनले चार अर्धशतक बनाएका छन् ।
यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचिमा चेन्नई सुपर किङ्सका नुर अहमद पहिलो स्थानमा आसीन छन् । उनले १४ खेलमा २४ विकेट लिएका छन् । तर, उनको टोली लिग चरणबाटै बाहिरिएको छ । त्यसैले प्ले–अफ चरणमा पुग्ने अन्य टोलीका बलरले उनलाई उछिन्न सक्ने बलियो सम्भावना छ ।
पर्पल क्यापको दौडमा गुजरात टाइटन्सका प्रसिद्ध कृष्णा दोस्रो स्थानमा छन् । उनले १४ खेलमा २३ विकेट लिएका छन् । तेस्रो स्थानमा आसीन मुम्बई इन्डियन्सका ट्रेन्ट बोल्टले १३ खेलमा १९ र चौथो स्थानमा आसीन रोयल च्यालेन्जर्स बेंगलुरुका जस हेजलउडले १० खेलमा १८ विकेट कुम्ल्याएका छन् ।
गुजरातका साई किशोर, कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्ती र कोलकाताकै वैभव अरोडाले १७–१७ विकेट हात पारेका छन् । तर, कोलकाता लिग चरणबाटै बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण