बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

एकअर्कालाई हराउँदै ‘लिग लिडर’ बन्ने धुनमा मुम्बई र पञ्जाब

सोमबार, १२ जेठ २०८२, ०९ : ४३
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ, जुन जयपुरमा हुनेछ।
  • मुम्बई इन्डियन्स र पञ्जाब किङ्स दुवैले लिग चरणको अन्तिम खेल खेल्दैछन् र अंक तालिकामा माथि उक्लने लक्ष्य राखेका छन्।
  • सूर्यकुमार यादव मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् भने श्रेयष अय्यर पञ्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार दुई बलिया टोली पञ्जाब किङ्स र मुम्बई इन्डियन्सबिच भिडन्त हुँदैछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो ६९औँ खेल हो । यो खेलपछि लिग चरणमा एक खेलमात्र बाँकी रहनेछ । मुम्बई इन्डियन्स र पञ्जाब किङ्स दुबैले लिग चरणमा आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । यी दुई टोली यो सिजन पहिलो पटक आपसमा भिड्न लागेका हुन् । 

आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोली हो । मुम्बईले पाँचपटक आईपीएलको उपाधि जितेको छ । पञ्जाब कङ्सले भने हालसम्म उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलमा पुगेको थियो । तर, फाइनलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । 

  • यस्तो छ समीकरण

यी दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेका छन् । सोमबारको खेलमा विजयी हुने टोली अंक तालिकाको पहिलो स्थानमा उक्लने छ । १३ खेलबाट १७ अंक बटुलेको पञ्जाब तालिकाको दोस्रो स्थानमा आसीन छ । 

पञ्जाबले हालसम्म आठ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । पञ्जाबको एक खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको छ । १४ खेलबाट १८ अंक बटुलेको गुजरात टाइटन्स तालिकाको पहिलो स्थानमा छ । सोमबारको खेलमा विजयी भए पञ्जाबको अंक १९ पुग्नेछ । 

अर्कोतिर, १३ खेलबाट १६ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा आसीन छ । मुम्बईले आठ जित र पाँच हारको नतिजा निकालेको छ । सोमबारको खेलमा विजयी भए मुम्बई पनि तालिकाको पहिलो स्थानमा उक्लने सम्भावना छ । 

पञ्जाबलाई हराए मुम्बईको अंक १८ पुग्नेछ । यस्तो स्थितिमा हाल तालिकाको पहिलो स्थानमा रहेको गुजरातसँग मुम्बईको अंक बराबरी हुनेछ । त्यसपछि नेट रन रेटमा मुम्बई तालिकाको पहिलो स्थानमा उक्लनेछ । हाल गुजरातको नेट रन रेट ०.२५४ र मुम्बईको नेट रन रेट १.२९२ रहेको छ । त्यसैले यी दुवै टोलीका लागि सोमबारको खेल निकै महत्त्वपूर्ण छ । 

  • हेड टु हेडमा मुम्बई अगाडि

आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र पञ्जाब किङ्स ३२ पटक आपसमा भिडेका छन् । त्यसमा मुम्बई इन्डियन्स बलियो देखिन्छ । मुम्बईले १७ खेलमा पञ्जाबलाई हराएको छ । 

पञ्जाबले भने १५ खेलमा मुम्बईलाई पराजित गरेको छ । जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भने यी दुई टोली पहिलो पटक आसमा भिड्न लागेका हुन् । 

  • मुम्बईको सर्वाधिक रन सूर्यको नाममा

जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले लयमा देखिन्छन् । उनले हालसम्म ६३.७५ को औसत र १७०.५७ को स्ट्राइक रेटमा रन बनाएका छन् । 

सूर्यकुमारले हालसम्म १३ खेलमा कुल पाँच सय ८३ रन बनाइसकेका छन् । यस क्रममा उनले चार अर्धशतक पनि प्रहार गरेका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने ट्रेन्ट बोल्ट हुन् । तीव्र गतिका बलर बोल्टले १३ खेलमा १९ विकेट लिएका छन् ।

  • लयमा छन् पञ्जाबका श्रेयष

आईपीएलको यो संस्करणमा पञ्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान श्रेयष अय्यर हुन् । उनले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले दिल्ली क्यापिटल्सविरुद्धको अघिल्लो खेलमा पनि ५३ रन बनाएका थिए ।

श्रेयषले हालसम्म टोलीका लागि १३ खेलमा कुल चार सय ८८ रन बनाएका छन् । दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान प्रभसिमरन सिंह हुन् । उनले चार सय ८६ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह हुन् । तीव्र गतिका बलर अर्शदीपले १३ खेलमा १६ विकेट लिइसकेका छन् । 

  • सन्तुलित चरित्रको पिच

पञ्जाब किङ्स र मुम्बई इन्डियन्सबिच सोमबारको खेल हुने जयपुरस्थित सवाई मानसिंह स्टेडियमको पिच सन्तुलित चरित्रको रहेको छ । यो पिचमा खेलको प्रारम्भमा तीव्र गतिका बलरले राम्रो फाइदा उठाउन सक्छन् ।

तर, खेल अगाडि बढ्दै जाँदा यो पिचले ब्याट्सम्यानहरूलाई साथ दिन थाल्छ । यो स्टेडियममा उल्लेख्य संख्यामा रन बन्ने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ६३ खेल खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले २३ खेल जितेका छन् । 

यसैगरी, ४० खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा आईपीएलमा बनेको उच्च स्कोर भने पाँच विकेट गुमाएर दुई सय १९ रन हो । यो स्कोर पञ्जाबले यसै सिजन राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।

  • छैन वर्षाको सम्भावना

मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबिच खेल हुने दिन सोमबार जयपुरको मौसम सफा रहने बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको कुनै सम्भावना छैन । तापक्रम भने ३० देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ । 

  • सम्भावित टोली 

पञ्जाब किङ्स : श्रेयष अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंह (विकेटकिपर), शशांक सिंह, नेहल बढेरा, मार्कस स्टोइनिस, अजमतुल्लाह ओमरजाई, मार्को यानसन, जेभियर बार्टलेट, अर्शदीप सिंह, युजवेन्द्र चहल र हरप्रीत बरार । 

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकल्टन (विकेटकिपर), रोहित शर्मा, विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा , नमन धीर, मिचेल सान्टनर, दीपक चहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह ।

Indian Premier League (IPL) 2025 Indian Premier League (IPL) 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप