राजावादीलाई गणतन्त्रवादी दलको ‘च्यालेन्ज’

समाचार सारांश
- गणतन्त्र पक्षधर र राजावादीबीचको द्वन्द्व बढ्दै जाँदा, दुवै पक्षले प्रदर्शनको तयारी गरेका छन्।
- एमालेले जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ भने सरकारले राजतन्त्रवादी गतिविधिप्रति कडा प्रतिक्रिया जनाएको छ।
- राजनीतिक विश्लेषकहरूले गणतन्त्रवादी दलहरूको कार्यशैलीका कारण राजावादीहरू सक्रिय भएको टिप्पणी गरेका छन्।
काठमाडौँ ।
सन्दर्भ १ : वर्तमान व्यवस्थालाई चुनौती दिँदै गत चैत १५ गते राजावादी समूहले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गर्दा त्यसलाई ‘काउन्टर’ दिनेगरी गणतन्त्र पक्षधर समाजवादी मोर्चाले राजधानीको भृकुटीमण्डपमा जनसभाको आयोजना गर्यो ।
मूलतः समाजवादी मोर्चाको प्रदर्शन गणतन्त्रको पक्षमा जनलहर छ भन्ने सन्देश प्रवाह गर्नु थियो । त्यही सन्देश प्रवाह गर्ने गरी मोर्चाको सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘इँटको जवाफ पत्थरले दिन्छौँ । उनीहरू (राजावादी)ले एक जना जुटाउँछन् भने हामी १० हजार, उनीहरू १० हजार जुटाउँछन् भने हामी एक लाख, उनीहरू एक लाख जुटाउँछन् भने हामी १० लाख, उनीहरू १० लाखको कुरा गर्छन् भने हामी एक करोड मान्छे ल्याएर तिनको जवाफ दिन्छौँ ।’
सन्दर्भ २ : व्यवस्था विरोधी गतिविधिलाई निरन्तरता दिँदै राजावादी समूहले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको सन्दर्भमा नेकपा एमालेले जेठ १५ गते नै राजधानीमा प्रदर्शनको तयारी गरेको छ ।
एमालेले तयारीमात्रै गरेको छैन, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘उत्तेजनापूर्ण’ अभिव्यक्ति नै दिएका छन् । आइतबारको पार्टी सचिवालय बैठकमा ओलीले जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्तिसहित नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । सोहीअनुसार एमालेले १५ गते राजावादीलाई चुनौती दिनेगरी प्रदर्शनको आन्तरिक तयारी थालिसकेको छ ।
सन्दर्भ ३ : जेठ ८ गते नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजेको भन्दै सरकार साँधैभरि टुलुटुलु हेरेर नबस्ने अभिव्यक्ति दिए । उनले सरकारको उदारतालाई कमजोरी नठान्न समेत चेतावनी दिए ।
इतिहास बनिसकेको राजतन्त्रको पक्षमा राजावादी समूह सङ्गठित हुन थालेपछि गणतन्त्रवादी शक्तिहरूले झस्किन पुगेका छन् । सोही कारण उनीहरुले अभिव्यक्ति र आफ्नो राजनीतिक गतिविधिमार्फत राजवादीलाई चुनौती दिन खोजेको देखिन्छ ।
हुन पनि नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को नाममा राजावादी समूह पछिल्लो समय आक्रामक ढङ्गले व्यवस्था विरुद्ध प्रस्तुत भइरहेको उनीहरूको गतिविधिले देखाउँछ ।
सुवेदीको समूहमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा),कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान लगायत राजावादी समूह र सङ्गठन रहेका छन् ।
सोही समूह जनताको आन्दोलनको बलमा फालिएको २ सय ४० वर्षीय राजसंस्था फेरि पुनर्स्थापना गर्न भन्दै लागिपरेको हो । राजसंस्था पुनर्स्थापना गर्ने नै उद्देश्य बोकेर चैत्र १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईंलाई ‘कमाण्डर’ तोकेर कार्यक्रम गरियो ।
उक्त कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायत शीर्ष नेताहरू समेत सहभागी थिए । तर, राजसंस्था पुनर्स्थापना गर्न गरिएको उनीहरूको आन्दोलन हिंसात्मक बन्यो ।
आन्दोलनमा आपराधिक गतिविधिहरू गरिएपछि आन्दोलनमा सहभागी रवीन्द्र मिश्र, धवलशमशेर, दुर्गा प्रसाईंलगायत समातिए । हाल उक्त प्रकरण अदालतमा पुगेको छ भने दुर्गा प्रसाईं हिरासतमै रहँदा राणा, मिश्रहरूले बाहिरबाटै मुद्दा लडिरहेका छन् । उक्त घटनापछि राजावादीको प्रदर्शनलाई सामान्य रूपमा लिएका गणतन्त्रवादी दलहरू थप झस्किँदै एकजुट हुन बाध्य भएका छन् ।
यसरी राजावादीहरूको सक्रियताबाट सचेत बनेका गणतन्त्रवादी दलहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको खिलापमा नजान चेतावनी दिँदै आएका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले व्यवस्था विरोधी, प्रतिगामी, निरंकुशतावादी, सामन्तीवादी शक्तिहरूलाई ठेगान लगाइने चेतावनी दिए ।
बर्तौलाले रातोपाटीसँग भने,‘लोकतन्त्र,गणतन्त्र एवं जनताका अधिकारलाई चुनौती दिनेहरू सबै जनताका बैरी (शत्रु) हरू हुन् । यसको हामी स्वाभाविक रूपमा विरोध र आलाेचना गर्छौँ ।’
लोकतन्त्रको सीमाबाहिर गएर निरंकुशतालाई पक्षपोषण गर्ने खालका प्रदर्शनको एमालेले जहिल्यै विरोध गर्ने उनले बताए । गणतन्त्रको विकल्प निरंकुशतन्त्र (राजतन्त्र) हुन नसक्ने बताउँदै उनले लोकतन्त्रमा जनताले आफूले चाहेका जनप्रतिनिधि छान्न पाउने व्यवस्था रहेको उल्लेख गरे ।
‘आफूले छानेका जनप्रतिनिधिहरूले ठिक ढङ्गबाट कामकारबाही नगरेमा जनताले पाँच वर्षपछि त्यसको विकल्प खोज्न सक्छन् । प्रतिनिधि, दलहरू फेर्न सक्छन् । यो लोकतन्त्रको अधिकार हो’, प्रमुख सचेतक बर्तौलाले भने,‘ त्यसकारण यसलाई अस्वीकार गर्ने गरी हुकुमी शैली, वा कुनै वंशका आधारमा २१ औँ शताब्दीमा आएर कसैले शासन गर्न खोज्छ भने त्यो सम्भव छैन, त्यस्ता शक्तिहरूलाई परास्त गर्छौँ ।’
गणतन्त्रात्मक व्यवस्था कसैले माया, प्रेम गरेर दिएको नभई जनताले लडेर ल्याएको उनको भनाइ छ । ‘हामी गणतन्त्रवादीहरू विजेताहरू होऔँ, गणतन्त्रात्मक व्यवस्था कसैले उपहार दिएको नभई लडेर ल्याएको हौँ’, उनले भने, ‘त्यसकारण यस व्यवस्थामा राजसंस्था जिन्दावाद पनि भन्न पाइन्छ । तर निरंकुशतन्त्रमा गणतन्त्र जिन्दावाद भन्दा जेल जानुपर्थ्यो ।’ खुल्लमखुल्ला गणतन्त्रलाई चुनौती दिइए सह्य नहुने उनको भनाइ छ ।
व्यवस्था विरोधी शक्तिलाई परास्त गर्न गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै उनले कमीकमजोरीलाई सच्याउँदै शासकीय कार्यशैली थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनले व्यवस्थाका पक्षमा र यसको रक्षाका लागि एमालेले जेठ १५ गते प्रदर्शन गर्न लागेको समेत प्रस्ट पारे ।
तर, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जेठ १५ गते आयोजना गरिएको प्रदर्शन शान्तिपूर्ण हुने बताए । उनले राज्यपक्षबाटै गत चैत १५ गते तीनकुनेमा हिंसात्मक गतिविधि भएको दाबी गरे ।
अहिले पनि गणतन्त्रवादी दलबाट नै मुठभेडको स्थिति सिर्जना गर्ने प्रयत्न गरिएको उनले बताए । आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई सङ्केत गर्दै उनले राज्य पक्षबाट नै हिंसा भड्काउने काम हुन नहुने धारणा राखे ।
यसैबीच राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईं गणतन्त्रवादी दलहरुकै कारण राजावदीहरु सलबलाएको तर्क गर्छन् । ‘गणतन्त्र विश्वकै सबैभन्दा राम्रो व्यवस्था हो । जनताको नेतृत्वमा शासन व्यवस्था सञ्चालन हुनु र कुनै वंशजको आधारमा शासन सञ्चालन हुनु भनेको धेरै फरक हो । यति भनिरहँदा गणतन्त्रलाई ह्यान्डिल गर्नेहरू भने सही हुनुपर्छ,’ उनले राताेपाटीसँग भने,‘उहाँहरूकै कारण राजावादीहरू सलबलाइरहेका छन् ।
डा.चापागाईंले राजावादीहरूलाई गणतन्त्रवादीहरूले वास्ता नै गर्न नहुने धारणा राखे । गणतन्त्रवादी दलहरू आफ्नो प्रणाली(गणतन्त्र)सँग ढुक्क हुन नसकेकै कारण उनीहरू राजावादीहरूसँग डराइरहेको चापागाईंले तर्क गरे । राप्रपाका कारणले अहिले नै राजतन्त्र नफर्किने बताउँदै उनले भने, ‘असन्तुष्ट मान्छेहरूको मन जित्न सकिन्छ कि भनेर राजावादीहरू लागिपरेका छन् । राजनीतिक खपतका लागि राप्रपालगायत राजावादीले राजतन्त्र फर्काउने भनिरहेका छन् । तर, राजतन्त्र फर्किन्छ जस्तो मलाई लाग्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ