शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म

बुधबार, १४ जेठ २०८२, २२ : ००
बुधबार, १४ जेठ २०८२

आज २०८२ जेठ १४ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

१. मोहम्मद अफताव आलम रिहा

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । नख्खु कारागारमा राखिएका उनी बुधबार रिहा भएका हुन् ।

आज मात्रै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएको थियो । 

२. राजावादीहरुको प्रदर्शनको तयारी 

राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले राजधानीको शान्तिबाटिका क्षेत्रमै प्रदर्शन गर्ने तय भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक सहजीकरण गरिदिएसँगै बिहीबार दिउँसो २ बजेदेखि शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले प्रदर्शन गर्ने तय भएको हो । 


३. प्रतिनिधिसभा बैठक 

प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।


४. भिजिट भिसाबारे.गृहमन्त्री लेखकको प्रतिक्रिया 

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गरेका छन् ।  बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे स्पष्टीकरण दिँदै भने, ‘यसमा मेरो कुनै संलग्नता छैन ।

मेरो विरुद्ध नियोजित ढङ्गले आक्रमण गरिएको छ, यो षड्यन्त्रपूर्ण छ ।’ 


५.तीनकुने प्रकरणबारे नागरिक छानबिन आयोगको प्रतिवेदन सार्वजनिक

गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको तीनकुने घटनाबारे देवेन्द्रलाल नेपाली नेतृत्वको स्वतन्त्र नागरिक छानबिन आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लङ्घन भएको आयोगले निष्कर्ष निकालेको छ ।


६. एकैदिन नेपालका तीन ठाउँमा भूकम्प

एकैदिन बुधबार नेपालका विभिन्न तीन ठाउँमा भूकम्प गएको छ । आज साँझ बझाङको मास्देभ केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि कास्कीको अन्नपूर्ण केन्द्रविन्दु भएर १२ बजेर ५० मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।त्यस्तै विहान ११ बजेर ५६ मिनेटमा कास्कीकै फुङलिङवाङ केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

७.प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

प्रधानमन्त्री केपी ओलीले संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । 

 


 ८‍. लुम्बिनी प्रदेशसभा सदस्य गुरुङ पदमुक्त

लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।  जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् । 

९. मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ पारित भएको छ । बुधवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।  


१०. बुटवलमा आमासहित २ बच्चाको बीभत्स हत्या

बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप