शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
व्यवस्थाविरुद्ध गतिविधि

छातासहित सडकमा राजावादी, हिंसा भड्किने भय

बुधबार, १४ जेठ २०८२, १७ : १८
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले गणतन्त्र दिवसकै दिनदेखि आन्दोलन गर्ने घोषणा गरेको छ, आन्दोलनमा छाता ब्रान्डिङ गर्न खोजिएको छ।
  • एमालेको प्रदर्शन र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजावादी सशङ्कित छन्, भने मानव अधिकार आयोगले संयमता अपनाउन आग्रह गरेको छ।
  • आन्दोलन शान्तिपूर्ण बनाउन र मानव अधिकारको सम्मान गर्न आयोगले सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ, साथै प्रदर्शनकारीलाई पनि संयम अपनाउन आग्रह गरेको छ।

काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै गणतन्त्र दिवसकै दिनदेखि आन्दोलनमा होमिन लागेको राजावादी समूह ‘छाता र पानीको बोतल’सहित सडकमा भेला हुने भएका छन् । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि सुरु हुन लागेको आन्दोलनमा लागि काठमाडौँ बाहिरबाट उल्लेख्य राजसंस्थावादीहरू आइसकेको समिति मातहतको निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले रातोपाटीलाई बताइन् । 

उनले वर्तमान व्यवस्थाले नेपाली जनताले परिवर्तनको अनुभूति गर्न नपाएको निष्कर्षका साथ आफूहरूले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका साथै संघीयता खारेजीको मागसहित अनिश्चितकालीन आन्दोलन गर्न लागेको बुधबार रातोपाटीलाई बताइन् । आन्दोलनलाई व्यवस्थित बनाउन सबै आन्तरिक व्यवस्थापन गरिसकिएको उल्लेख गर्दै उनले बिहीबार राजधानीका विभिन्न स्थानमा भेला भएर रत्नपार्कमा भेला हुन प्रयास गरिने बताइन् । 

तर, सरकारले भने राजावादीको आन्दोलन रत्नपार्कमा गर्नेबारे कुनै जानकारी नभएको स्पष्ट पारेको छ।  काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी अशोक कुमार भण्डारीले समग्र सुरक्षा रणनीतिबारे निर्णय गर्न बुधबार साँझ जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको रातोपाटीलाई बताए । 

राजावादीले अनिश्चितकालीन आन्दोलन सुरु गर्ने दिन बिहीबार नै एमालेले समेत राजधानीमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको छ । 

राजावादीको प्रदर्शनकै बिच एमालेले प्रदर्शन तय गर्नु तथा यहीबिचमै प्रधानमन्त्रीको अभिव्यक्तिले राजावादी सशङ्कित देखिएका छन् ।  

जेठ ११ गते बसेको एमाले सचिवालय बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिए । उक्त अभियव्यक्तिपछि सरकारले नै हिंसा भड्काउने हो कि भन्नेतर्फ आफूहरू सशङ्कित भएको आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी बताउँछन् । उनले जेठ ११ गते ओलीले दिएको अभिव्यक्ति लगत्तै एक विज्ञप्ति जारी गरेर उक्त अभिव्यक्ति संविधानको भावना र लोकतन्त्रको मर्म विपरीत रहेको बताए । गत चैत १५ गते राजावादी समूहले राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । उक्त प्रदर्शन सरकारका कारण हिसांत्मक बनेको राजावादी समूहको दाबी रहँदै आएको छ । तर, सरकारले चाहिँ राजावादीमात्रै नभएर पूर्वराजा समेत यो घटनामा जिम्मेवार रहेको दाबी गर्दै आएको छ । यही आरोप प्रत्यारोपका बिच केही दिनअघि ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 

एकातिर राजावादीको आशंका र अर्कातिर प्रधानमन्त्रीले समेत आक्रामक अभिव्यक्ति दिएपछि राष्ट्रिय मानव अधिकार आयोगले समेत चासो दिएको छ ।  आयोगले दुई दिनअघि जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिइएको छ । 

आयोगका अनुसार शान्ति सुरक्षा कायम गर्नु सरकार र सुरक्षा निकायको जिम्मेवारी हो । तर सरकारकै नेतृत्वमा रहेका व्यक्तिले यस्तो अभिव्यक्ति दिनु विधिको शासनको भावना विपरीत भएको आयोगको भनाइ छ । आयोगले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि समूह, व्यक्ति वा पार्टीलाई आफ्नो विचार र प्रदर्शन गर्ने स्वतन्त्रता सुनिश्चित गरिएको उल्लेख गर्दै अरूको विचारप्रति लक्षित उत्तेजनापूर्ण भाषा प्रयोग गर्नु मानव अधिकारका मूल्य र मान्यताको उल्लङ्घन हुने स्पष्ट पारेको छ।

‘आन्दोलन पूर्णतः भद्र अवज्ञा र सत्याग्रहको स्वरूपमा’

यस्तै बुधबार सुवेदीले जारी गरेको अर्को विज्ञप्तिमा बिहीबारदेखि सुरु हुने आन्दोलन पूर्णतः भद्र अवज्ञा र सत्याग्रहको स्वरूपमा अघि बढाइने उल्लेख छ ।  देश वर्तमान अवस्थामा भ्रष्टाचार, बेथिति र चौतर्फी संकटमा फसेको उल्लेख गर्दै सुवेदीले अब अवस्था र व्यवस्था परिवर्तन अपरिहार्य भएको दाबी गरे । 

उनले मानव अधिकार आयोग, सञ्चारमाध्यम र अन्य अधिकारसम्बन्धी संस्थाहरूलाई तीनकुने घटनाजस्तै सम्भावित हिंसात्मक अवस्थाप्रति चनाखो रहन आग्रह गर्दै प्रभावकारी अनुगमनका लागि आह्वान समेत गरे । 

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले राप्रपा, राप्रपा नेपालसहित ४ दर्जन हाराहारीका हिन्दुवादी र राजवादी संघसंगठनको सहभागितामा हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे । तर, सरकारले नै पेल्ने नीति लिएको आरोप लगाउँदै उनले तीनकुने घटना पनि सरकारले नै घटाएको दाबी गरे । उनले बिहीबारदेखि हुन आन्दोलनमा पनि षड्यन्त्र हुनसक्ने खतरा रहेकाले आफूहरू सचेत रहेको बताए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त एमालेले आफूहरुलाई अवरोध गरे प्रतिकारको चेतावनी समेत दिइसकेका छन् । 

प्रशासन के भन्छ ?

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले काठमाडौँमा हुने भनिएको राजावादीहरूको प्रदर्शनका लागि प्रशासनबाट कुनै अनुमति नलिएको बताउँदै भने, ‘हामीकहाँ उहाँहरूको कुनै आधिकारिक पत्र आएको छैन। मिडियाबाट मात्रै उहाँहरूको भोलिको प्रदर्शनको कुरा थाहा भएको हो।’

तर, सत्तारुढ दल एमालेले गणतन्त्र उत्सवका लागि गर्ने भनिएको प्रदर्शनका लागि भने अनुमति दिइएको उनले जानकारी दिए। ‘उहाँहरूको कार्यक्रमका लागि मंगलबार नै पार्टी केन्द्रीय कार्यालयबाट औपचारिक जानकारी आएको थियो। उहाँहरूले भृकुटीमण्डप र भद्रकाली क्षेत्र आसपासमा कार्यक्रम गर्ने भनिएको छ’, भण्डारीले भने । राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले भने आन्दोलन गर्न कुनै अनुमति नचाहिने प्रतिक्रिया दिए । 

काठमाडौँ जिल्ला प्रशासनका अनुसार राजावादीहरूको रत्नपार्क केन्द्रित र एमालेको भृकुटीमण्डप केन्द्रित कार्यक्रम गरेको अवस्थामा दुवै समूहको कार्यक्रम एक अर्कासँग नजिक पर्ने भएकाले सुरक्षा समितिले दुई समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिन आग्रह गर्ने तयारी भएको जनाएको छ । 

निषेधित क्षेत्र थप्ने तयारी छैन

हालको अवस्थामा थप निषेधित क्षेत्र घोषणा गर्ने कुनै तयारी नभएको पनि सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले स्पष्ट पारे । ‘अहिले तोकिएको निषेधित क्षेत्र पूर्ववत् नै छ । कुनै विशेष आवश्यकता परे भने सुरक्षा समितिको सिफारिसमा मात्र निषेधित क्षेत्र थप्ने निर्णय हुने छ’, उनले भने। उनका अनुसार साँझ बस्ने सुरक्षा समितिले प्रदर्शनलाई लिएर सुरक्षाका थप विषयमा छलफल गरेर र आवश्यक निर्णय लिइनेछ।

१२ बजे रत्नपार्कमा भेला हुन्छौँः भण्डारी

यस्तै राजावादी नेतृ भण्डारीले बिहीबार दिउँसो १२ बजे रत्नपार्कमा भेला हुन प्रयास गरिने र त्यसअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने तयारी भएको बताइन् । भण्डारीले आन्दोलन शान्तिपूर्ण ढंगले गर्ने तयारी भएकाले सहभागीलाई कुनै पनि प्रकारको हतियार वा आपत्तिजनक सामग्री नल्याउन निर्देशन दिइएको जानकारी दिइन् । ‘हाम्रो आन्दोलनमा ओमको झन्डा र राष्ट्रिय झन्डा बाहेक केही पनि ल्याउने छैनौँ’ उनले भनिन् । 

आयोगको सक्रियता

यसैबिच राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण विरोध प्रदर्शनमा जोड दिँदै सक्रियता बढाएको छ । सोहीअनुसार बुधबार आयोगले काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जिल्ला प्रहरी प्रमुखहरूसँग छलफल गरेको छ।  

छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय बिच समन्वय गरिएको, दुई पक्ष बिच झडपको स्थिति आउन नदिन दुवै समूह एक आपसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चारगृहलगायतका संवेदनशील स्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरू एवम् जिल्ला प्रहरी प्रमुखहरूले बताएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको समेत विज्ञप्तिमा उल्लेख छ ।  आयोगले विभिन्न टोलीहरू बनाई राजधानीमा हुने प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्ने बताइएको छ । 

‘आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एक अर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।  साथै, आयोगले प्रदर्शनको क्रममा सुरक्षा संवेदनशीलतामा आउनसक्ने जोखिमहरूको आङ्कलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरेको छ । 

राजावादीको आन्दोलनमा छाता ब्राण्डिङ !

राजावादीको आन्दोलन राजनीतिक वृत्तमा चासोका साथ हेरिँदा राजावादीहरूले छातालाई समेत ‘ब्रान्डिङ’को प्रयास गरेका छन् । राजावादीहरूले आन्दोलनको प्रचारका क्रममा छाताको समेत प्रचार गरिरहेका हुन् । राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती पछिल्लो समय आन्दोलनलाई जोडेर छाताको प्रचार हुँदा राजावादीको आन्दोलनमा छातासमेत ‘ब्रान्डिङ’ हुन पुगेको बताउँछन् । 

628573f8-ed6e-4b2e-bdaf-11d2448f5104

‘सुरुमा आन्दोलनको घोषणा हुँदा कतिपयले वर्षाको समयमा आन्दोलन सहज नहुने भनेर भन्नुभयो । तर, यहीबीचमा छाता बोकेरै आन्दोलनमा सहभागी हुने टिममा कुरा भयो । सोहीअनुसार प्रचार हुँदै गर्दा अहिले छाता ब्राण्डजस्तो भएको छ’, उनले बुधबार रातोपाटीसँग भने । हुन पनि राजावादी नेता र अभियन्ताहरूले आफ्नो सामाजिक सञ्जालमा छातासहितको पोस्टरको प्रचारप्रसार गरिरहेको देखिन्छ । आयोजक आन्दोलन परिचालन समितिले समेत ‘छाता लिएर काठमाडौँ जाऔँ’ भन्ने नाराका साथ पोस्टर सार्वजनिक गरेको छ । नागरिक सर्वोच्चता कायम गर्दै प्रजातन्त्र र मानवअधिकारको संरक्षण र राजसंस्था पुनर्स्थापनाका लागि मौसमका हिसाबले उचित नभए पनि आन्दोलन गर्नुपरेको राजावादी समूहको भनाइ छ । यस्तै आन्दोलनकारीलाई सकेसम्म पानी समेत साथमा लिएर आउन भनिएको छ । पिउनका साथै अश्रुग्यास समेत प्रहार हुन सक्ने भएकाले त्यसक्रममा प्रयोग गर्न पानी ल्याउन भनिएको बताइएको छ । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ प्रतिकुल मौसमका बिच पनि छाता लिएर प्रदर्शनमा सहभागी हुन आम सर्वसाधारणलाई समेत आग्रह गरिएको बताउँछन् । सोहीअनुसार उनले शीर्ष नेतहरुसमेतको सहभागितामा उपत्यकाका तीनवटै जिल्लामा सर्वसाधारणलाई निम्तासमेत दिने काम भएको उल्लेख गर्दै राजधानीबाहिरबाट आन्दोलनमै सहभागी हुनका लागि  मानिसहरु आइसकेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप