मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भैरहवामा प्रदेशस्तरीय यु–१६ क्रिकेट :  दाङ र नवलपरासीलाई सफलता

सोमबार, १२ जेठ २०८२, १९ : १०
सोमबार, १२ जेठ २०८२

बुटवल । दाङ र पश्चिम नवलपरासीले रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । 

भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको खेलमा दाङले बर्दियालाई हरायो भने तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले पराजित गरेको हो ।

आज सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दाङले निर्धारित ३५ ओभरमध्ये ३३ ओभर २ बल खेल्दै अलआउट भई १ सय ७० रन बनाएको थियो ।

उसका लागि योगेश्वर कुँवरले ४२, सन्दीप थापाले २४, शुभम खनालले १९, चन्द्र थापाले १७ र दक्ष ठाकुरले १६ रन बटुले । बलिङमा बर्दियाका आकाश थापाले ३, हेमन्त आचार्य र सक्षम बुढाथोकीले २–२ तथा निराजन थापा र श्रीजन भुजेलले १–१ विकेट लिए ।

प्रतिउत्तरमा बर्दिया ३० ओभर ४ बलमा अलआउट हुँदै १ सय ४० रनमै रोकियो । उसका लागि केशव विष्टले ४० र हेमन्त आचार्यले ३० रन बनाए । बलिङमा दाङका दक्ष ठाकुरले ३, सन्दीप थापा र शुम खनालले २–२ तथा करण घर्ती मगर र रिजन बुढाथोकीले १–१ विकेट लिए । खेलमा दाङका दक्ष ठाकुर प्लेयर अफ द म्याच भएका  छन् ।

रुपन्देही तिलोत्तमा एक्स्ट्राटेक ओभलमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको नवलपरासीले निर्धारित ३५ ओभरमा २८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३२ रन बनायो । उसका लागि आरोनजंग गिरीले २८, तिलक सापकोटाले २२, मनिष तिवारीले १४ र अजय चाईले ११ रन बनाए । बलिङमा पाल्पाका अमृत अर्यालले ४, दिवस अर्यालले ३, उपसन विक्रम जिसीले २ तथा कोशिश न्यौपानेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले २१ ओभर २ बलमा सबै विकेट गुमाएर ६३ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न नवलपरासीका आर्यन अली, तिलक सापकोटा र प्रेमसागर यादवले ३–३ तथा अजर्य चाईले १ विकेट लिए ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजना र रुपन्देही क्रिकेट सङ्घको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो।प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी,पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । 

जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप