बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानको गोलाबारीमा शिक्षक मारिए, भारतीय मिडियाले आतंकवादी बनाइदियो

मङ्गलबार, १३ जेठ २०८२, ०९ : ४३
मङ्गलबार, १३ जेठ २०८२

सारांश

  • कश्मीरको पुन्छमा सीमा पारबाट भएको गोलाबारीमा शिक्षक मोहम्मद इकबालको मृत्यु भयो।
  • इकबालको मृत्युपछि केही भारतीय मिडियाले उनलाई आतंकवादीको रूपमा चित्रित गरे, जसको परिवारले विरोध गर्यो।
  • प्रहरीले झुटो समाचारको खण्डन गर्दै विज्ञप्ति जारी गर्यो र मिडियाविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दियो।

पुन्छ । फारूक अहमदलाई आफ्नो दाजु मोहम्मद इकबालको मृत्युबारे कुरा गर्दा अझै पनि रिस उठ्छ। कश्मीरको पुन्छ सहरका बासिन्दा इकबालको मृत्यु गत ७ मे मा सीमा पारबाट गरिएको गोला बम प्रहारमा भएको थियो। 

त्यो घटना भारतले पहलगाममा भएको आतङ्कवादी आक्रमण, जसमा २६ जनाको मृत्यु भएको थियो, को बदलामा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि भएको हो। 

अहमदका अनुसार इकबालले दुई दशकभन्दा बढी समयसम्म काम गरेको स्थान पुन्छको एक मदरसा जिया-उल-उलूम मै उनको मृत्यु भएको थियो। तर, इकबालको मृत्यु उनीहरूको परिवारका लागि दुःखद सुरुवात मात्र बन्यो।

उनको मृत्युको समाचार फैलिएपछि केही मिडिया च्यानलहरूले इकबाललाई गलत रूपमा आतंकवादीको रूपमा चित्रित गरे । यसबारे प्रहरीले आधिकारिक रूपमा उक्त दाबी अस्वीकार गर्दै विज्ञप्ति नै जारी गर्नुपरेको थियो।

‘मेरो दाजु शिक्षक थिए, तर उनको दाह्री र टोपी देखेर मिडियाले उनलाई आतंकवादी बनाए,’ फारूक भन्छन्, ‘मिडियाले उनको चरित्र हत्या गर्‍यो। मरेको मानिसले आफ्नो बचाउ गर्न सक्दैन थियो।’

भारतीय अधिकारीहरूले भारत–पाकिस्तानबिच भएको हवाई आक्रमणपछि चार दिनसम्म चलेको सैन्य द्वन्द्वमा इकबालसहित १६ जनाको सीमा पारबाट भएको गोलाबारीमा मृत्यु भएको बताएका छन्। पाकिस्तानले भने ४० जना नागरिकको मृत्यु भएको दाबी गरेको छ । 

केही हप्ता बितिसक्दा पनि परिवार अझै पनि उक्त त्रासदीको आघातबाट बाहिर आउन सकेको छैन। फारूकका अनुसार ७ मेको बिहान उनका दाजु मोहम्मद इकबाल सधैँझैँ मदरसाका लागि घरबाट निस्केका थिए, तर फर्केर उनको शव मात्र आयो। दिउँसोसम्म शवलाई नजिकैको कब्रिस्तानमा अन्तिम संस्कार थियो।

यता समाचार च्यानलहरूले झुटा समाचार फैलाइरहेका थिए भन्ने कुरा परिवारलाई सुरुमा थाहा थिएन। उनीहरू इकबालको अन्तिम संस्कारमा व्यस्त थिए।

केही घण्टापछि मात्र एकजना आफन्तले ह्वाट्स एपमा एउटा भिडियोक्लिप फर्वार्ड गरे जहाँ एक प्रमुख समाचार च्यानलले भारतीय सेनाले एक आतंकवादीलाई मारेको दाबी गरिरहेको थियो, र स्क्रिनमा इकबालको फोटो देखाइँदै थियो।

‘हामी स्तब्ध भयौँ। त्यसपछि लगातार फोनहरू आउन थाले । मानिसहरूले सोध्न थाले के भइरहेको हो, र किन मिडियाले इकबाललाई आतंकवादी भनिरहेका छन्?,’ फारूक भन्छन्।

जीन्युज, एबीपी, र न्यूज१८ जस्ता प्रमुख च्यानलहरूले यो दाबी प्रसारण गरेका थिए। बीबीसीले ती च्यानलहरूसँग प्रतिक्रिया माग्दा एउटा च्यानलले इकबाल ‘पाकिस्तान प्रशासित कश्मीरमा रहेको एक आतंकवादी शिविरमा भारतीय आक्रमणमा मारिएको’ दाबी गर्‍यो ।  उनी पाकिस्तान आधारित आतंकवादी समूह लश्कर-ए-तैयबा सँग आवद्ध रहेको उक्त च्यानलको दाबी थियो ।

‘हाम्रा परिवारजनहरू पुस्तौँदेखि पुन्छमै बस्दै आएका छन्। कसरी उनीहरूले भन्न सक्छन् कि मेरा दाजु पाकिस्तानमा बसिरहेका थिए ? मिडियाले लाज मान्नुपर्छ,’ फारूक भन्छन्।

इकबालमाथि लगाइएको आरोप यति छिटो र व्यापक रूपमा फैलियो कि ८ मे मा पुन्छ प्रहरीले एक विज्ञप्ति जारी गरेर प्रस्ट पारेको थियो ।  विज्ञप्तिमा इकबालको मृत्यु मदरसामा सीमापारबाट भएको गोलाबारीका कारण भएको उल्लेख थियो ।

प्रहरीको विज्ञप्तिमा भनिएको थियो, ‘पुन्छ प्रहरीले यस्ता झूटा प्रचारहरूलाई कडाइका साथ अस्वीकार गर्दछ। दिवङ्गत मौलाना मोहम्मद इकबाल स्थानीय समुदायमा सम्मानित धार्मिक व्यक्तित्व थिए र कुनै पनि आतंकवादी संगठनसँग उनको कुनै सम्बन्ध थिएन।’ साथै, झूटो समाचार फैलाउने मिडिया र व्यक्तिहरूमाथि कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको थियो।

तर फारूक अहमदका अनुसार, यो बयान आउँदा धेरै ढिलो भइसकेको थियो । उनी भन्छन्, ‘त्यो बेला सम्म त यो झूटा दाबी लाखौँ भारतीयहरूसम्म पुगिसकेको थियो।’
उनका अनुसार न्यूज१८ बाहेक कुनै पनि च्यानलले न त उनीहरूसँग क्षमायाचन मागे, न त आफ्ना दर्शकहरूलाई यसबारे जानकारी नै दिए ।

अहिले फारूक अहमद ती मिडिया च्यानलहरूविरुद्ध कानुनी कारबाही गर्न चाहन्छन् । तर त्यो प्रक्रिया केही समयका लागि रोकिएको छ, किनभने परिवार आर्थिक समस्यामा छ।

इकबालका दुई श्रीमती र आठजना सन्तान रहेका छन्, र उनी नै परिवारका एक मात्र कमाउने व्यक्ति थिए। सरकारले दिएको क्षतिपूर्ति केही लाख रुपैयाँ मात्रै भएको र त्यो पनि एक–दुई वर्षमै सकिने भएकोले अबदेखि भविष्यको योजना बनाउनैपर्ने उनको भनाइ छ।

‘पूरै परिवार मेरा दाजुमा आश्रित थियो। उनी शान्त र मृदु स्वभावका व्यक्ति थिए, जसलाई बालबालिकालाई पढाउन मन पर्थ्यो,’ फारूक भन्छन्, ‘तर यो कुरा संसारलाई कसले सुनाउने? धेरै मानिसहरूका लागि त मेरा दाजु अझै पनि आतंकवादी नै छन्, जसको हत्या उचित ठानिएको छ। हाम्रो पीडा कसरी बुझ्ने त?’
बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप