सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
अन्तर्वार्ता

शेखर कोइरालालाई प्रश्न– ‘तपाईं पो भिजिट भिसा प्रकरणबाट अप्ठ्यारोमा पर्नुभयो, होइन ?

‘जे बोलेँ, त्यसमा अडिग छु’
मङ्गलबार, १३ जेठ २०८२, १७ : २६
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • अध्यागमन विभागसँग जोडिएको भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। पूर्व अधिकारीलाई नियन्त्रणमा लिएर छोडेपछि यो प्रकरण चर्चामा आएको हो।
  • भिजिट भिसाका नाममा दैनिक ५० लाख घुस लिने गरेको रिपोर्ट सार्वजनिक भएको छ, जसमा गृहमन्त्रीको सचिवालयका कर्मचारीको संलग्नताको चर्चा छ। डा. शेखर कोइरालाले गृहमन्त्रीको राजीनामाको माग गरेका छन्।
  • कांग्रेसको पदाधिकारी बैठकले कोइराला, शर्मा र बजगाईंलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। कोइरालासँगको कुराकानीमा उनले गृहमन्त्रीको राजीनामाको विषयमा आफू अडिग रहेको बताए।

विराटनगर । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागसँग जोडिएको भिजिट भिसा प्रकरण अहिले चर्चामा छ । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थ भट्टराईलाई आयोगले नियन्त्रणमा लिएर १० दिनपछि उपस्थिति हुनु भन्दै छोडेपछि यो प्रकरण चर्चामा छ ।

भिजिट भिसाका नाममा विदेश पठाउन त्यहाँ दैनिक ५० लाख बढी घुस लिने गरेको रिपोर्ट सार्वजनिक भएका छन् । त्यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारी पनि जोडिएको र लेखककै संलग्नता हुनसक्ने चर्चा चलिरहेको छ ।

डाक्टर शेखर कोइरालाले गत शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भिजिट भिसा प्रकरणमा जोडिएका कारण गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउनु पर्ने धारणा राखे । कांग्रेसका सांसदद्वय सुनिल शर्मा र राजेन्द्र बजगाईले पनि सोही धारणा राखेका छन् ।

कांग्रेस पदाधिकारी बैठकले भने गृहमन्त्रीको राजीनामा माग्ने कोइराला, शर्मा र बजगाईलाई नै स्पष्टीकरण सोध्नुपर्ने भन्दै छलफल अगाडि बढाएको छ । त्यसै विषयमा हामीले डाक्टर कोइरालालाई ‘तपाईं पो भिजिट भिसा प्रकरणबाट अप्ठ्यारोमा पर्नुभयो, होइन ?’ भनेर सोधेका छौँ ।

प्रस्तुत छ, कोइरालासँगको छोटो कुराकानीको सम्पादित अंश -

  • भिजिट भिसा प्रकरणले त तपाईंलाई पो अप्ठ्यारो पर्ने भयो त, होइन ?

– किन अप्ठ्यारो पार्ने भयो र ?

  • कांग्रेसको पदाधिकारी बैठकमा तपाईंलाई स्पष्टीकरण सोध्ने कुरा आइरहेको छ नि ?

– यो नेपाली कांग्रेसभित्रको कुरा हो । उहाँहरूले के गर्नुहुन्छ हेरौँ, बुझौँ । त्यस्तो चिन्ता गर्नुपर्ने कुरा छैन ।

  • स्पष्टीकरण मागियो वा कारबाहीमा पर्नुभयो भने के गर्नुहुन्छ ?

– यो ‘हाइपोथेटिकल’ कुरा भयो । उहाँहरूले सोध्नु पर्‍यो, अनि न भन्नु पर्‍यो ।

  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्ने तपाईंको कुरामा कुनै करेक्सन छ कि ?

– मैले बोलिसकेँ त । जे बोलेँ, त्यो मैले बोलेको हो । त्यो बोलीमा म अडिरहेको छु । मलाई केही ‘करेक्सन’ छैन । मैले जे बोलेको थिएँ, त्यसमा म अडिएर बसेको छु ।

  • पार्टीले निर्णय गरे मान्छु भन्नुभयो भन्ने पनि सुनिन्छ नि, हो ?

– यो मेरो व्यक्तिगत विचार हो भनेको छु । प्राकृतिक हिसाबले मैले बोलेको कुरा व्यक्तिगत नै हुन्छ । पार्टीले के निर्णय गर्छ, त्यो हेर्नुपर्‍यो नि !

  • भनेपछि गृहमन्त्रीले राजीनामा दिनु पर्दैन ?

– अरे ! त्यो पनि मैले भन्नुपर्ने होइन नि !

  • फेरि सोध्छु । तपाईंसहित तीन जनालाई स्पष्टीकरण सोधियो वा कारबाहीमा पर्नुभयो भने नि ?

– अरे यार, सोध्न दिनु न ! सोधेकै छैन । किन तपाईंहरू लागिरहनु भएको छ भनेको ?

  • तपाईंको राजनीतिक जीवन नै समाप्त गर्छन् कि भन्ने चिन्ता छ नि त समर्थकहरूमा ?

– विराटनगरवासीले चिन्ता गर्नुपर्दैन । म छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप