बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय

पत्नीबाट सधैँ हैरान थिए अमेरिकी राष्ट्रपति लिङ्कन, वेलावेलामा पिटाइ पनि खान्थे

मङ्गलबार, १३ जेठ २०८२, २० : ४०
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र उनकी पत्नीको भिडियो भाइरल भएपछि, केहीले यसलाई अब्राहम लिङ्कन र उनकी पत्नी मेरी टोडको सम्बन्धसँग तुलना गरे।
  • मेरी टोड लिङ्कनको रिस र व्यवहारको कारण ह्वाइट हाउसमा समस्या बनेको थियो, उनले लिङ्कनलाई सार्वजनिक रूपमा गाली गर्थिन् र सामानहरू फ्याँक्थिन्।
  • मेरी टोडको मानसिक सन्तुलन बिग्रिएपछि उनले धेरै पैसा खर्च गरिन् र लिङ्कनको हत्यापछि मानसिक अस्पतालमा भर्ना हुनुपरेको थियो।

वासिङ्टन डीसी । हालै मात्र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उनको श्रीमती बिग्रिटको एउटा भिडियो इन्टरनेटमा भाइरल भयो । यस भिडियोमा ब्रिग्रिटले दुव हातले म्याक्रोँको मुखमा हलुका धक्का दिइरहेको देखिएको थियो । यो घटना भियतनाम भ्रमणमा विमानबाट ओर्लिँदै गर्दाको थियो । म्याक्रोँको लागि पनि यो परिस्थति अप्रत्याशित देखिन्छ । तर केहीबेरमै उनले सामान्य बनेर र हात हल्लाउँदै पत्नीसँगै विमानबाट बाहिर आए । 

यस घटनालाई केहीले महान् अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कन र उनकी श्रीमतीको सम्बन्धसँग जोडेर हेर्न थालेका छन् । 

लिङ्कनकी श्रीमती निकै उग्र थिइन् । सधैँ श्रीमानसँग झगडा गरिरहन्थिन् । कति पटक त उनले श्रीमानलाई हातपात समेत गरेकी थिइन् । यो कुरा लिङ्कनको जीवनीमा समेत उल्लेख गरिएको छ । लिङ्कनकी पत्नीको नाम मेरी टोड थियो । रिसको झोकमा उनी कहिलेकाहीं हिंस्रकसमेत हुन्थिन् । लिङ्कनलाई अरूको अगाडि समेत गाली गर्ने र सामान फ्याकेर हान्ने पनि गर्थिन् । मेरी टोड एक शिक्षित, सामाजिक रूपमा प्रभावशाली महिला थिइन् । तर उनी त्यति नै जिद्दी पनि थिइन् । उनी प्रायः लिङ्कनको कमजोरी र निडर स्वभावबाट रिसाउँथिन् । 

मेरीको रिस ह्वाइट हाउसका सबैका लागि पनि समस्या बनेको थियो । एक पटक एक नोकरले लिङ्कनको प्रशंसा गरेपछि मेरीले नोकरलाई गाली मात्र गरिनन्, जागिरबाट निकालिदिएकी थिइन् । त्यस्तै अर्को सन्दर्भमा लिङ्कनले एक महिला पाहुनासँग लामो कुराकानी गरिरहेको वेला मेरीले पार्टी चलिरहेको वेला झगडा सुरु गरेको चर्चा पनि छ । ‘त्यो महिलाको रिस देखेर देशको राष्ट्रपति पनि डरले थर्थर काप्छन्,’ लिङ्कनका साथीभाइ र सहयोगीहरूले भन्ने गर्थे । मेरीको रिस र झगडा ह्वाइट हाउस र मन्त्रिपरिषद्मा समेत हुने गरेको थियो । 

समय बित्दै जाँदा, मेरीको मानसिक सन्तुलन पनि बिग्रँदै गयो । उनका धेरै बच्चाहरूको मृत्यु भइसकेको थियो, जसका कारण उनी डिप्रेसन र मानसिक तनावबाट पीडित हुन थालिन् । उनी जथाभावी पैसा खर्च गर्थिन् । युद्धको समयमा जब देशको आर्थिक अवस्था खराब थियो, उनले लाखौं डलरको लुगा र सजावटका सामानहरू अर्डर गरिन् । उनको यो बानी र अन्धविश्वासले लिङ्कनलाई पनि धेरै सताएको थियो । लिङ्कनको हत्यापछि उनको मानसिक सन्तुलन पूर्ण रूपमा बिग्रियो । उनलाई मानसिक अस्पतालमै भर्ना गर्नुपर्‍यो । लिङ्कन र मेरीको सम्बन्धमा सधैं द्वन्द्व र झगडा हुने गरेको धेरै इतिहासकारहरू बताउँछन् । 

इतिहासकार डोरिसको प्रसिद्ध पुस्तक ‘टिम अफ रिभल्स’मा मेरीको यो स्वभावको उल्लेख गरिएको छ । ‘मेरी टोडको रिसले वासिङ्टन नै काप्थ्यो अनि अब्राहम लिङ्कन आफैं यसबाट बच्न खोजिरहेका हुन्थे,’ पुस्तकमा उनले लेखेका छन् । लिङ्कन जति शान्त र सहिष्णु थिए, मेरी टोड पनि त्यति नै उग्र र चिडचिडे थिइन् । उनीहरूको विवाहलाई प्रायः आँधीबेहरीपूर्ण सम्बन्धको रूपमा वर्णन गरिएको पाइन्छ । 

‘लिङ्कन कहिलेकाहीँ मेरीको रिसबाट बच्न घरबाट बाहिर निस्कन्थे । एक पटक उनले छिमेकीलाई भने, ‘मेरीलाई फेरि रोगले च्यापेको छ, म केही दिन बाहिर बस्नुपर्छ । के तिमी मलाई सफा सर्ट सापटी दिन सक्छौ रु’ इतिहासकार माइकल बर्लिंगेमले आफ्नो पुस्तक ‘एन अमेरिकन म्यारिजः द अनटोल्ड स्टोरी अफ अब्राहम लिङ्कन एन्ड मेरी टोड’मा लेखेका छन् । यसले लिङ्कनको धैर्य र मेरीको तीव्र स्वभाव देखाउँछ । 

रिसको आवेगमा तेलबाट बल्ने बत्तीले हानेकी थिइन् 

क्याथरिन क्लिन्टनको पुस्तक ‘मिसेस लिङ्कनः अ लाइफ’का अनुसार, मेरी टोड लिङ्कनलाई यति छिटो रिस उठ्थ्यो कि उनले एक पटक लिङ्कनतिर तेलबाट बल्ने बत्ती फ्याँकेकी थिइन् । लिङ्कन एक महिला साथीलाई भेट्न गएपछि मेरी रिसाएकी थिइन् । पुस्तकमा मेरीको मुड स्विङ, हिंस्रक आक्रोश र लिङ्कनसँगको झगडाको वृतान्त पुस्तकमा छ । 

मेरीले एक पटक रिसको झोकमा चक्कु नै उठाएको कुरा कैयौं संस्मरणहरूमा भनिएको छ । तर, यो तथ्य शतप्रतिशत प्रमाणित छैन, यो रेकर्ड गरिएका संस्मरणहरूमा पाइन्छ । केही प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै लिङ्कन प्रायः मेरीको रिसको डरले घर बाहिर सुत्ने कुरा पनि भनिएको छ । लिङ्कनले मनै नलागी नलागी मेरी टोडसँग विवाह गरेका थिए । दुवै एकअर्काको ठीकविपरीत थिए । एक पटक त उनीहरूको इन्गेजमेन्ट नै टुट्यो । तर मेरीले लिङ्कनसँग मात्र बिहे गर्ने कसम खाएकी थिइन् । कुनै न कुनै तरिकाले मेरीले त्यो कसम पूरा गरिन् । पहिलो पटक आफ्नो इन्गेजमेन्ट तोड्दा नै लिङ्कनलाई लागेको थियो, यो बिहे भयो भने विनासकारी हुनेछ । तर सायद नियति थियो । बिहे भइछाड्यो । 

निकै कुख्यात बनिन् मेरी 

जीवनको उत्तरार्धमा लिङ्कनको जति धेरै प्रशंसा र सम्मान गरियो, त्यति नै धेरै उनकी श्रीमतीको निन्दा गरियो । श्रीमानको मृत्युपछि त उनले राज्यसँग झन् धेरै पैसा माग गरिन् । बिमारीको नाममा नक्कली बिल पेस गरेर त्यहाँको कांग्रेससँग पैसा धुतिन् । आफू ऋणमा चुर्लुम्म डुबेको अनि यसबाट आफूलाई निकाल्नु अमेरिकी सरकारको कर्तव्य भएको भन्दै उनले जीवन बिताउन सरकारसँग पैसा मागेकी थिइन् । 

राष्ट्रपति भवनबाट निस्कने क्रममा उनले त्यहाँबाट धेरै बहुमूल्य सामान पनि लगेकी थिइन् । मेरीलाई अहिलेसम्म पनि अमेरिकी राष्ट्रपतिकी सबैभन्दा लोभी र स्वार्थी पत्नीको रूपमा सम्झना गरिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप