गायक तथा गीतकार विशाल सोनीलाई प्रश्न : ‘मकैबारी दर्याम दर्याम’ भन्या के हो ?

काठमाडौँ । गीतकार तथा गायक हुन् विशाल सोनी । एक दशकदेखि गीतसंगीतमा क्रियाशील सोनीका दर्जनौ गीत सांगीतिक बजारमा आएका छन् । ‘कामी दाइको घन ठोकाइ’, ‘पिरतीले जोगी बनायो’, ‘गुलेली तन्कियो’लगायत गीतले सांगीतिक बजार तताएका छन् ।
पछिल्लो समय उनका ‘मकैबारी दर्याम दर्याम, हरियो काँक्रो कर्याम कर्याम’ चर्चामा छ । १८ अप्रिलमा सार्वजनिक गीतको भिडियो समाचार तयार गर्दासम्म युट्युबमा डेढ करोड बढीले हेरिसकेका छन् ।
विशालले गायिका सुष्मा शाही ठकुरीसँगको सहकार्यमा गाएको यो गीतको चर्चासँगै आलोचना पनि व्यापक हुँदै आएको छ । नबुझेका कारण धेरैले सर्जकलाई यो कस्तो गीत हो ? गीतले भन्न खोजेको के हो ? जस्ता प्रश्न सामाजिक सञ्जालमा गरिरहेका छन् ।
यसै विषयमा गीतकार तथा गायक विशाल सोनीसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश ।
पछिल्लो समय तपाईंको गीत ‘मकैबारी दर्याम दर्याम’ निकै चर्चामा छ, कस्तो अनुभव भइरहेको छ ?
मानिसले जीवनमा कहिलेकाहीँ एउटा ठूलो खुशी अनुभव गर्छ नि, अहिले त्यस्तै अनुभव भइरहेको छ । लामो समयदेखि गीत–संगीतमा संघर्ष गरिरहँदा यो गीतमार्फत राम्रो सिर्जना दिन सकेको महसुस भएको छ । जसरी कृषकले राम्रो बाली फलाउँदा खुशी हुन्छ, त्यसैगरी यो गीतको सफलता र चर्चा मेरो लागि त्यस्तै खुशी हो । दश वर्षको संघर्षपछि जीवनमा हीरामोती भेटिएजस्तो लागेको छ ।
गीत बनाउँदै गर्दा यति धेरै चर्चा पाउँछ भन्ने अपेक्षा थियो ?
बिल्कुलै थिएन । यति धेरै चर्चा होला, यति धेरै दर्शक–श्रोताले सुन्नेछन्, युट्युबमा डेढ करोडभन्दा बढी भ्यूज पाउँछ भन्ने कल्पना पनि गरेको थिइनँ । मेरा अघिल्ला केही गीतले युट्युबमा खासै भ्यूज र चर्चा पाएका थिएनन् । यो गीत बनाउँदा पनि ‘एउटा राम्रो गीत बनाऔँ, कम्तीमा युट्युबमा ८–१० लाख भ्यूज त आओस्’ भन्ने सोच मात्रै थियो ।
तर गीत बुझिएन भनेर धेरैले आलोचना पनि गरेका छन् नि?
हो, धेरैले प्रश्न उठाएका छन्, कस्तो गीत हो भने । गीत ठट्यौली लोकदोहोरी शैलीमा बनेको हो, ठट्यौली भनेको हास्य–व्यंग्यको मिश्रण हो । त्यसैले सबैले नबुझ्न पनि सक्छन् । तर गीतले व्यापक चर्चा पायो, लोकप्रिय भयो । त्यसैले यसलाई सकारात्मक रूपमा हेर्नु पर्छ ।
‘मकैबारी दर्याम दर्याम, हरियो काँक्रो कर्याम कर्याम’ शब्दको अर्थचाहिँ के हो ?
धेरैको जिज्ञासा यही हो । पश्चिमतिर ‘मकैबारी दर्याम दर्याम’ भन्नाले बारीमा फलेको मकैलाई दाँतले चबाएर खाने भन्ने बुझिन्छ । कतै–कतै यसलाई ‘मकैबारी दोहोर्याएर खन्ने’ अर्थमा पनि बुझिन्छ । तर मैले गीतमा प्रयोग गरेको अर्थ भने मकै चबाएर खाने भन्ने नै हो । यसमा प्रयोग भएको भाषा अलिकति टिपिकल छ, जुन संगीतका लागि उपयुक्त लाग्यो ।
शब्द नबुझेपछि भिडियोबाट सन्देश दिन सकिन्थ्यो, भिडियो चुक्यो त ?
यो कुरा सही हो । जब भिडियो बनायौँ, त्यो बेला मकैको सिजन थिएन । हामीले हरियो मकै खोज्यौँ तर फेला परेन । जसोतसो सुकेको मकै देखाएर भिडियो तयार गरियो । दर्शक पूर्ण सन्तुष्ट नभएको हुन सक्छन्, तर हामीले प्रयास त गरेका थियौँ ।
गीत बनाउने सोच कसरी आयो ?
म राम्रो गीत बनाउने सोचमा थिएँ । गीतका अधिकांश शब्द मेरा भए पनि ‘मकैबारी दर्याम दर्याम’ भन्ने लाइन संगीतकार सन्दीप सेञ्चुरीको हो । उहाँले साथीहरूसँग जंगलमा मादल बजाएर झ्याउरे गीत गाउने क्रममा यो शब्द प्रयोग गर्नुभएको थियो । रमाइलो ठट्यौली शैलीका लागि उपयुक्त लागेर गीतमा समावेश गरियो ।
तपाईंको गीत कुन उमेर समूहले बढी रुचाएको देख्नुभयो ?
यो गीत मैले नयाँ पुस्तालाई लक्षित गरेर बनाएको थिएँ । तर अहिले हेर्दा बालबालिका, युवापुस्ता, वृद्धसम्मले मन पराएको पाएको छु । विशेषगरी जेनेजी पुस्ताले बढी रुचाएका छन् ।
एकसाथ चर्चा र आलोचना हुँदा व्यक्तिगत रूपमा कस्तो प्रभाव पर्यो ?
गीतले कामको अवसर बढाएको छ । अहिले बर्खाको मौसम भए पनि ९ वटा कार्यक्रम गरिसकेको छु, २ वटा महोत्सवमा जान लागिएको छ । नयाँ गीत जुत्ता टल्कियो पनि छिट्टै आउँदैछ । हाल निर्माण भइरहेका धेरै गीतहरूमा मेरो सहभागिता छ ।
के यस्ता गीतहरू कालजयी बन्न सक्छन् त ?
त्यो त समयले नै देखाउँछ । हिजोका गायक झलकमान गन्धर्वको गीतहरू आज पनि सुन्छु, तर अन्य कतिपय पुराना कलाकारका गीतहरू सुनेको छैन । अहिले राम्रो काम गरियो भने भविष्य उज्यालो हुन्छ । यो गीत मैले वर्तमान अडियन्सलाई लक्षित गरेर बनाएको हुँ, जसमा म सफल भएको छु ।
अहिलेसम्मको सिर्जनामध्ये सबैभन्दा बढी सन्तुष्टि दिएको गीत कुन हो ?
निश्चय नै ‘मकैबारी दर्याम दर्याम’ । यसले मलाई केवल सफलता मात्र होइन, जीवनको बाटो नै बदलिदिएको छ । यही गीत मेरो टर्निङ प्वाइन्ट हो । अहिले काम र दामको कुनै कमी छैन ।
गीत लेख्ने, गाउने र अभिनय गर्ने—सबै काम गर्नुहुन्छ । आफूलाई के भनेर चिनाउनु हुन्छ ?
म आफूलाई गायक भनेर चिनाउन रुचाउँछु । मैले गायकका रूपमा सांगीतिक यात्रा थालेको हुँ । प्रकाश सपुत, दुर्गेश थापा, विमल अधिकारी, राजेश हमालजस्ता कलाकारहरू मेरो गीतमा अभिनय गरिसकेका छन् । आफैँले अभिनय गर्न थालेको चाहिँ हालैदेखि हो ।
गायकलाई मोडलिङ आवश्यक हुन्छ भन्ने धारणा छ, के भन्नुहुन्छ ?
अहिले चिनिन गायकरगायिकाले मोडलिङ गर्ने चलन छ । म पनि त्यही ट्रेन्डमा छु । गीत गाएर मात्रै चिनिन गाह्रो हुन्छ । अनि सबैले भन्छन्—हाइट राम्रो छ, फिगर ठिक छ, अभिनय गर भनिएको थियो । त्यसैले सुरु गरेँ ।
गीत रुचाउने अडियन्सलाई के भन्न चाहनुहुन्छ ?
यो गीतमार्फत दर्शकले मलाई जुन माया दिनुभएको छ, म त्यसको जीवनभर ऋणी रहनेछु । कसैले आलोचना गरे पनि त्यो पनि मायाकै रूप हो । मेरो भगवानसरहका अडियन्सबाट ताली–गाली, सबै स्वीकार्य छ । यस्ता प्रतिक्रियाले अझ अगाडि बढ्न प्रेरणा दिन्छ ।
कतिपयले ‘गीत बुझिएन’ भनेका छन्, त्यसको उत्तर ?
गीत बुझिएन भने पनि चिन्ता लिने कारण छैन । बालबालिकादेखि वृद्धसम्म गाउन सक्ने रमाइलो गीत हो । शब्दहरू अपमानजनक होइनन् । गीतलाई रमाइलोको रूपमा लिनुपर्छ, गहिरो अर्थ खोज्न थालियो भने धेरै अर्थ लाग्न सक्छ । त्यसैले रमाउनुहोस्, नाच्नुहोस् ।
यस्ता–उस्ता भन्दा पनि सबैले रुचाउने, फरक स्वादका, सबैको माया पाउने गीतहरू बनाउने सोचमा छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक : रोजगारी सिर्जना र कृषि विकासमा जोड
-
रोहितको रन वर्षा, गुजरात सामु २ सय २९ रनको लक्ष्य
-
‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ लोकार्पण
-
नेपाली सेनाको मेजर र नेपाल प्रहरीको डीएसपी हुँ भन्दै सर्वसाधारणलाई झुक्याउने दुई जना पक्राउ
-
नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु
-
विश्व शान्तिका लागि संस्कृति र सभ्यताबिच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी