शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

गृहमन्त्री लेखकले भने– ‘सहसचिव भट्टराई मैले ल्याएको होइन, ०७७ देखि निरन्तर गृहमा छन्’

बुधबार, १४ जेठ २०८२, १७ : ३८
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखकले तीर्थराज भट्टराईलाई अन्यत्रबाट ल्याएर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नपठाएको बताए।
  • भट्टराई यसअघि विभिन्न महत्त्वपूर्ण विभाग र प्रजिअको रूपमा काम गरिसकेका थिए र उनी २०७७ देखि गृह मन्त्रालयमा कार्यरत थिए।
  • लेखकले भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट विमानस्थलमा पठाएको बताए, र उनी रवि लामिछाने गृहमन्त्री हुँदा गृहमा फर्किएका थिए।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अख्तियारको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई आफूले अन्यत्रबाट ल्याएर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नपठाएको बताएका छन् । बुधबार सङ्घीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘तीर्थराज भट्टराई मैले कुनै मन्त्रालय र विभागबाट ल्याएको कर्मचारी होइन ।’ 

आफू आउँदा भट्टराई कसुरजन्य सम्पत्ति विभागमा महानिर्देशक भएर काम गरिरहेको उल्लेख गर्दै लेखकले भने, ‘उहाँले यसअघि महत्त्वपूर्ण विभाग र प्रजिअको रूपमा काम गरिसक्नुभएको थियो ।’ 

रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा भट्टराईलाई  गोरखाको प्रजिअ बनाएर पठाइएको उनले बताए । उनले भने, ‘उहाँ २०७७ देखी निरन्तर गृह मन्त्रालय र मातहतको कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।’ 

मोरङ, महोत्तरी र गोरखाको प्रजिअ भएर काम गरिसकेका भट्टराईलाई आफूले अन्यत्रबाट ल्याएर त्यहाँ नखटाएको बताए । रामबहादुर थापा गृहमन्त्री हुँदा भट्टराईले महोत्तरीको प्रजिअ समेत भएर काम गरेको उनले बताए । बालकृष्ण खाण गृहमन्त्री हुँदा २०७८ मा भट्टराईले राष्ट्रिय परिचयपत्र विभागकाको प्रमुख र रवि लामिछाने गृहमन्त्री हुँदा २०७८ पुस १२ मा उनी मोरङको प्रजिअ भएको उनले बताए । 

लेखकले भने– ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा पनि उहाँ गृहमा हुनुहुन्थ्यो ।’ अनि, मुख्यमन्त्रीको कार्यालय हेटौँडामा सरुवा भएका भट्टराई फेरि २०८० साउन ३ गते गृहमा सरुवा भएर आएको लेखकले जानकारी दिए । उनले भने, ‘बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयबाट फर्केर उहाँ गृहमा आउँदा रवि लामिछाने  गृहमन्त्री हुनुहुन्थ्यो, लामिछानेकै पालामा उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुनुभएको हो ।’ 

कसुरजन्य सम्पत्तिबाट भट्टराईलाई आफूले विमानस्थलमा पठाएको बताए । उनले भने, ‘त्यसो भएको हुनाले उहाँ निरन्तर ०७७ देखि गृहमा काम गरिरहनुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप