बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लस एन्जलसको ‘हाउस अफ ब्लुज’ मा गुन्जियो नेपथ्यको लोक रक

बिहीबार, १५ जेठ २०८२, १० : ३२
बिहीबार, १५ जेठ २०८२

सारांश

  • नेपथ्य ब्यान्डले लस एन्जलसमा गरेको कन्सर्टमा दुई घण्टासम्म दर्शकलाई नचाएको थियो ।
  • कन्सर्टमा विभिन्न उमेर समूहका दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो, जसमा संयुक्त राष्ट्रसङ्घका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम पनि सहभागी थिए ।
  • कार्यक्रममा 'कोशीको पानी' बाट कन्सर्ट सुरु भएको थियो भने 'रातो र चन्द्रसूर्जे' बाट समापन गरिएको थियो, जसमा नयाँ गीत 'कर्नालीका छाइला' पनि प्रस्तुत गरिएको थियो।

वासिङ्टन डीसी । अमेरिकाको शृङ्खलाबद्ध यात्रामा रहेको नेपथ्यले लस एन्जलसमा अर्को सफल प्रस्तुति दिएको छ । एनहायमस्थित ‘हाउस अफ ब्लुज’ हलमा स्थानीय समयअनुसार सोमबार बेलुकी ठिक ८ बजे सुरु भएको कन्सर्टमा ब्यान्डले लगातार दुई घण्टासम्म श्रोता–दर्शकलाई नचाएको थियो ।

‘नेपालको परम्परागत आवाजलाई नेपथ्यले आधुनिक धुनहरूमा परिणत गरेर यहाँसम्म ल्याइपुर्‍याउनु हामीजस्ता श्रोताका लागि आफैँमा मिठो कोसेली हो,’ कन्सर्टका लागि  सान डिएगो सहरदेखि सहभागी अजय मल्लले भने– ‘क्यालिफोर्नियाको मुटुमा व्यावसायिक परिपक्वतासहित यस स्तरको उपस्थिति जनाउने नेपाली ब्यान्डको प्रयास यहाँका नेपालीकै निम्ति गौरवको विषय हो ।’

नेपथ्यले अमेरिकाको यात्रा गर्दा क्यालिफोर्निया प्रायः छुट्ने गरेको छैन । गत वर्ष मात्र पनि डेढ महिना लामो प्रस्तुतिका क्रममा सान फ्रान्सिस्कोमा ब्यान्ड प्रस्तुत भएको थियो । तर विश्वकै अग्रणी सिने उद्योग हलिउड अटाएको र जनसङ्ख्याका हिसाबले क्यालिफोर्नियाकै ठुलो सहर लस एन्जलसमा भने नेपथ्यको यो दोस्रो प्रस्तुति हो । यसअघि सन् २०१६ मा ब्यान्ड यहाँ प्रस्तुत भएको थियो ।

यस व्यस्त सहरमा विगतका नेपाली कार्यक्रम त्यति फलदायी नभएकाले खासै मानिस नआउलान् कि भन्ने भयले प्रारम्भमा टुर प्रवर्द्धक निश्चल बज्राचार्य नेपथ्य नल्याउने विचार गर्दै थिए ।

‘त्यसो गरेको भए गलत हुने रहेछ,’ कन्सर्टमा दर्शकको उपस्थिति र उनीहरूको उत्साह देखेपछि उनी भनिरहेका थिए, ‘आफू मात्र नभई दोस्रो पुस्ताका सदस्यहरूलाई पनि साथमा लिएर आउने अभिभावकको यहाँ उपस्थित ठुलो सङ्ख्याले मलाई प्रभावित पार्‍यो ।’

हलको ढोका खुल्नासाथ अर्थात् शो सुरु हुनुभन्दा एक घण्टा अगावैदेखि बाहिर र भित्र दुवैतिर दर्शकको उपस्थितिले रोचक माहोल तयार गरिसकेको थियो । कन्सर्ट सुरु भइसकेपछि भने त्यो ऊर्जा झनै व्यापक बन्यो ।

‘हलभित्र ननाच्ने मानिस भेट्न मुस्किल पर्थ्यो,’ शो हेर्नकै निम्ति निकै पर एरिजोना राज्यको फिनिक्सदेखि आएका मिलन श्रेष्ठ भनिरहेका थिए, ‘यसमा बज्दै गरेको सङ्गीत मात्र नभएर फरक–फरक पुस्तालाई बाँध्दै आएको नेपथ्यको लामो इतिहास, नेपाल र नेपालीप्रतिको माया अनि मञ्चबाटै विगतदेखि आगतसम्म बाँध्न सक्ने केवल अमृत गुरुङमा अटाएको क्षमताले पनि उत्तिकै साथ दिएको थियो ।’

सदाझैँ लस एन्जलसमा पनि गायक अमृत गुरुङले गीतहरू मात्र नगाई ती गीतहरूको उद्गम विन्दु पहिल्याउँदाको प्रसङ्ग सुनाए अनि त्यस्ता स्थानको सुन्दरताको बयान गर्दै स्वदेश घुम्न दर्शकलाई प्रेरित गरे ।

कन्सर्टमा दर्शक पनि अत्यन्तै फरक उमेर समूह र पृष्ठभूमिका देखिन्थे । तिनैमध्येका एक थिए संयुक्त राष्ट्रसङ्घका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम ।

‘क्यालिफोर्नियामा नेपथ्यको कन्सर्ट हेर्नुका साथै यसका प्रेरक अगुवा अमृत गुरुङ अनि उनको प्रतिभाशाली समूहसँग भेट गर्नु आज रातिको उत्साहजनक अनुभव रह्यो,’ गौतमले कन्सर्टबाट फर्किएपछि आफ्नो एक्स (ट्विटर) मा उल्लेख गरेका छन्, ‘उनीहरूको प्रस्तुतिमा सधैँ जस्तै प्रवासी नेपाली माझ देश प्रेम जगाउने, उत्साह अभिवृद्धि गर्ने र शान्ति अनि सद्भावनाको विश्वव्यापी आवाजलाई बुलन्द पार्ने अवयव भरिएको पाएँ ।’

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरेकी पौडी खेलाडी सोफिया शाह पनि कन्सर्टमा उपस्थित थिइन् । ‘एकातिर ब्यान्डको प्रस्तुति आफैँमा गजब थियो भने अर्कातिर जताततै रमाएका नेपाली देख्दा मलाई आफन्तहरूकै भीडमा पुगेको अनुभव भयो,’ स्विमर सोफियाले प्रतिक्रिया दिइन्, ‘त्यसमाथि गाइरहेको बेला ती गीत सङ्कलन गरिएका गाउँघर अनि मानिसको भिडियो देख्दा आफू स्वयं पनि नेपालैमा छु जस्तो लागिरह्यो ।’  

कन्सर्टको सुरुवात ‘कोशीको पानी’ बाट भएको थियो भने नेपथ्यका सर्वकालिक लोक रकसँगै अन्तिममा नेपाली झन्डाको स्तुतिमा आधारित ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो । कार्यक्रममा भर्खरै सार्वजनिक गरिएको नेपथ्यको गीत ‘कर्नालीका छाइला’ पनि गाएर सुनाइएको थियो ।

मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रम सेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप