सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

बजेटमा गण्डकीः पोखरा एयरपोर्ट पर्यटकी हब, आँबुखैरेनी–पोखरा सडक सक्ने

बिहीबार, १५ जेठ २०८२, १७ : ११
बिहीबार, १५ जेठ २०८२

पोखरा । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा गण्डकी प्रदेशलाई खासै सम्बोधन गरिएन । पर्यटनको राजधानी मानिने पोखरालाई नै पर्यटन मन्त्रालयको बजेटमार्फत समेटिएको छैन । यद्यपि केही पूर्वाधारका क्षेत्रमा भने जोडिएको छ । 

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गर्ने घोषणा गरेको छ । यस्तै, पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान कम्पनीलाई निश्चित संख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन दिने बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीदेखि पोखरासम्मको सडक विस्तार आगामी वर्ष सम्पन्न गरिने छ । 

यो सडक निर्माण सक्न सरकारले आगामी वर्षलाई ८ अर्ब ५२ करोड विनियोजन गरेको छ । बुटवलदेखि पोखरा जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डवल लेनमा स्तरोन्नति गर्ने काम सुरु गर्ने र डुम्रे–बेंसिसहर–चामे सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको पौडेलले बताए । 

लुम्बिनीदेखि मुक्तिनाथसम्म पदमार्ग निर्माण सुरु गर्ने सरकारी घोषणा छ भने मुक्तिनाथमा थप पूर्वाधार निर्माण गर्ने जनाएको छ । मुस्ताङमा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्ने घोषणा गरिएको छ ।

सरकारले नवलपुरमा पुर्वाधार निर्माण गर्न ८० करोड विनियोजन गरेको छ । नवलपुरकै धौवादी फलाम खानी सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने र गोरखकाली रबर उद्योगलाई सम्भाव्यता अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गर्ने बजेटमा समेटिएको छ । 

बहुप्रतिक्षित बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा निर्माण गर्ने र सरकारले गरेको लगानी सेयरमा परिणत गर्ने बजेटले सम्बोधन गरेको छ । तनहुँको तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने घोषणा गरिएको छ भने उत्तर गंगा आयोजनामा लगानी ढाँचा तयार गरी निर्माण प्रक्रिया अघि सार्ने बताइएको छ । 

यता विवादित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको डीपीआर सकेर निर्माणको ढाँचा यकिन गर्ने अर्थमन्त्री पौडेलले बताए । उनकै अगुवाइमा यसअघि बुटवलमा आयोजनाको कार्यालय उद्घाटन भएको थियो । अदालतले पनि उक्त आयोजना अघि बढाउन क्लिन चिट दिएको छ । तर गण्डकी तर्फका जनप्रतिनिधि र नागरिकहरू उक्त आयोजनाको विरोधमा छन् । 

यसअघि नै डीपीआर बनाएर थन्किएको बीरेठाँटी–मुक्तिनाथ केवलकार निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको छ ।

तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण गरिने बजेट भाषणमार्फत पौडेलले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप