मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
फोटो फिचर

नेवार समुदायले इनार, पोखरी र ढुंगेधारा सफा गरी मनाए सिथि नखः पर्व (तस्बिरहरू)

आइतबार, १८ जेठ २०८२, १० : ४५
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • नेवार समुदायले वर्षभरिको अन्तिम पर्वको रूपमा धुमधामका साथ सिथि नखः पर्व मनाए। यस पर्वसँगै वर्षा सुरु हुने र धान रोपाइँ सुरु हुने विश्वास छ।
  • सिथि नखःमा कुमारको पूजा गरी मास, मुगी, केराउबाट बनेका पकवान बारा, र नयाँ गहुँको म्हुछ्यामढी खाने चलन छ।
  • यस दिन पानीका स्रोतहरू जस्तै मुहान, इनार, कुवा, पोखरी सरसफाइ गरिन्छ। किसानले खेतबारीमा काम गर्दैनन् र गोबर मल खेतबारीमा पुर्याउँछन्।

भक्तपुर । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरिको अन्तिम पर्वका रूपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाइरहेका छन् ।  सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व छ । यो चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडका रूपमा मनाइन्छ ।

भगवान कुमारको जन्मदिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारका पकवान बारा खाने प्रचलन छ । यस वर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने चलन पनि रहेको छ ।

सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र फोहर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।

सिथि नखःको दिन किसानले खेतबारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरमा रहेका गाईवस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्‍याउने गर्छन् । त्यसपछि आफ्नो घर सफा गरी सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन् । यस दिन खेतको माटोलाई चोट पुर्याउन नहुने धार्मिक मान्यता छ ।

dhunga dhara (2)dhunga dhara (3)dhunga dhara (4)dhunga dhara (5)dhunga dhara (6)dhunga dhara (7)dhunga dhara (8)dhunga dhara (9)dhunga dhara (10)dhunga dhara (11)dhunga dhara (12)dhunga dhara (13)dhunga dhara (14)dhunga dhara (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप