मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
त्रिविमा विवाद

त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै

आइतबार, १८ जेठ २०८२, २० : ००
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद, विद्यार्थी संगठन र त्रिविबीच असमझदारी छ।
  • विद्यार्थी संगठनले भर्ना प्रक्रिया सुचारु गर्न माग गर्दै उपकुलपति कार्यालयमा तोडफोड र तालाबन्दी गरे, तर त्रिविले शैक्षिक क्यालेन्डरको कारण देखाउँदै भर्ना खोल्न मानेको छैन।
  • निजी कलेजहरूमा भर्ना भइरहेको तर सरकारी क्याम्पसमा रोकिएको भन्दै विद्यार्थी नेताहरूले आपत्ति जनाए, तोडफोडमा संलग्नलाई कारबाही गरिने त्रिवि प्रशासनको भनाइ छ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद देखिएको छ । विद्यार्थी संगठनहरू भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्र्दै आएका छन्, तर विश्वविद्यालयले भने शैक्षिक क्यालेन्डर प्रभावित हुने भएकाले भर्ना खोल्न नसकिने बताउँदै आएको छ ।

विद्यार्थी संगठनहरू र त्रिविबिच विवाद देखिएपछि विद्यार्थी संगठनहरूले उपकुलपति कार्यालय, रेक्टर र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यार्थीहरूले उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोडसमेत गरेका थिए ।

परीक्षा नियन्त्रण कार्यालयले जेठ २० गतेसम्मको म्याद राखेर रजिष्ट्रेशन फारम खुला गरेको छ । त्रिविका आङ्गिक क्याम्पसहरूले रजिष्ट्रेशन फारमका लागि आह्वान गरेका छन्, तर निजी तथा सामुदायिक क्याम्पसहरूले भर्ना रोकिएकै वेला भर्ना लिएर पुरानो मितिमा भर्ना भएको भन्दै रजिष्ट्रेशन गर्दै आएको विद्यार्थी संगठनहरूको आरोप छ ।

त्रिवि केन्द्रीय क्याम्पस स्ववियु अध्यक्ष दिपकराज जोशीले निजी कलेजहरूले भर्ना लिइरहेको तर, सरकारी क्याम्पसहरूमा मात्रै भर्ना रोकिएको बताए । निजीले लिइरहेको भर्ना रोकेर रजिष्ट्रेशन फारममात्रै भर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।

‘प्राइभेटमा भर्ना हुन क्यालेन्डर फरक नपर्ने, तर सरकारीमा भर्ना खोल्दा शैक्षिक क्यालेन्डरमा बाधा पुग्ने भन्ने हुँदैन । कि त कतै खोल्नु हुँदैनथ्यो,’ जोशीले भने ।

स्ववियु निर्वाचन लगायतका विभिन्न कारणले रोकिएको प्रथम वर्षको भर्ना खोल्ने विषयमा जेठ १४ गते विद्यार्थीहरूले उपकुलपति प्राडा केसीसहितका पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

छलफलपछि विभिन्न क्याम्पसका स्ववियु अध्यक्षहरू र अन्य विद्यार्थी नेताहरू उपकुलति कार्यकक्षको बाहिर निर्णयको प्रतीक्षामा थिए । त्यही वेला एक हुल विद्यार्थी आएर नाराबाजी गर्दै उपकुलपतिको कार्यकक्षमा तोडफोड गरे ।

तोडफोडमा आफूहरूको कुनै संलग्नता नरहेको पाटन र पद्मकन्या क्याम्पसका स्ववियु अध्यक्षले जनाएका छन् । उनीहरूले विज्ञप्ति जारी गर्र्दै आफूहरू उपकुलपति कार्यालयबाट आउने निर्णयको प्रतीक्षामा बसिरहेको वेला तोडफोड भएको प्रस्ट पारेका छन् ।

पाटन क्याम्पसका स्ववियु अध्यक्ष रोहित कपालीले निजी कलेजहरूले धमाधम विद्यार्थी भर्ना गरिरहेको वेला सरकारी कलेजहरूमा रोकिएको बताए ।

‘हरेक दिन विद्यार्थीहरू आउँछन्, हाम्रो भर्ना कहिले हुन्छ भनेर सोध्छन् । दिनदिनै पढ्न आउँछन् । तर, भर्ना हुन पाएका छैनन्,’ अध्यक्ष कपालीले भने, ‘यस्तो अवस्थामा निजीमा भने धमाधम भर्ना हुने । सरकारी कलेजहरूमा नहुने भएपछि विद्यार्थीलाई समस्या भयो ।’

स्ववियु निर्वाचन अघि विद्यार्थी संगठनहरूबिच विद्यार्थी भर्ना प्रक्रिया रोक्ने सहमति भएको थियो । सोही अनुसार त्रिविले २०८१ को फागुन ११ गतेदेखि नै भर्ना प्रक्रिया रोकेको थियो ।

त्रिविले ६२ वटै आङ्गिक क्याम्पसहरूलाई निर्देशन दिँदै विद्यार्थी भर्ना नगर्न भनेको थियो । त्रिविको निर्देशनपछि उनीहरूले विद्यार्थी भर्ना रोकेका थिए, तर निजी तथा सामुदायिक क्याम्पसहरूले भर्ना गरिरहेको विद्यार्थी संगठनहरूको आरोप छ ।

उपकुलपतिले शैक्षिक क्यालेन्डर कार्यान्वयनमा देखाएको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै त्रिवि स्ववियु अध्यक्ष जोशीले विश्वविद्यालय आफैँले हप्ता हप्तामा शैक्षिक क्यालेन्डर परिवर्तन गर्नु र विद्यार्थीको माग नजरअन्दाज गर्नुले असंवेदनशीलता झल्किने जिकिर गरे ।

त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा भर्ना प्रक्रिया रोकिएको अवस्थामा निजी क्याम्पसहरूमा भने नियमित भर्ना हुँदै जानु शैक्षिक समानतामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ ।

निजी क्याम्पसलाई प्रश्रय दिने गरी रजिस्ट्रेसन फारम जेठ २० गतेसम्म पुनः खोलिएको बताउँदै जोशीले त्यही अवधिमा आङ्गिक तथा सम्बन्धन प्राप्त सरकारी क्याम्पसहरूमा भने भर्ना प्रक्रिया रोकिएको प्रस्ट पारे ।

त्रिविले गत फागुन ११ गतेसम्म मात्रै भर्ना खुला भनिएको निर्णय सरकारी क्याम्पसहरूमा मात्र लागु भएको उनको भनाइ छ । उक्त निर्णय निजी क्याम्पसहरूमा समेत लागु हुनुपर्ने बताउँदै उनले निजी क्याम्पसको भर्ना गर्दागर्दै रजिस्ट्रेसन फारम स्वीकार गरिनु गलत भएको बताए ।

शैक्षिक क्यालेण्डरमा भएको फेरबदल र स्ववियु निर्वाचनका कारण भर्ना प्रक्रिया प्रभावित भएकाले यथाशीघ्र पुनः भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने आफूहरूको माग रहेको पाटन क्याम्पसका स्ववियु अध्यक्ष कपालीले बताए ।

त्रिविका पदाधिकारीहरूसँगको छलफलमा निजी क्याम्पसहरूमा मात्र प्राथमिकता दिई निजी क्याम्पसमा भर्ना लिइरहेको तर त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा भर्ना रोकिएको विषयमा आफूहरूले गम्भीर आपत्ति जनाएको उनको भनाइ छ ।

त्रिवि प्रवक्ता एमनसिंह बोहराले निर्वाचन अघि भर्ना हुन नपाएका विद्यार्थीहरूलाई भर्ना गराउनुपर्ने विद्यार्थीहरूको माग रहेको बताए । पदाधिकारीहरूले यो विषयमा आवश्यक छलफल गरिरहेको उनको भनाइ छ ।

तोडफोडमा संलग्नमाथि कारबाही

जेठ १४ गते त्रिवि उपकुलपतिको सचिवालयमा तोडफोड कार्यमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइएको त्रिवि प्रशासनले जनाएको छ ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिल्ली थापा क्षेत्रीले उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्नेहरूलाई कानुन बमोजिम कारबाही तथा भौतिक सम्पत्तिको हानि नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताइन् । विश्वविद्यालयले तय गरेको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार नै विद्यार्थी भर्ना भएर पठनपाठन समेत सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ ।

विभिन्न सङ्कायका डीनको कार्यालयबाट परीक्षा फारमको सूचना समेत प्रकाशित भई परीक्षा फारम भर्ने कार्य सम्पन्न भइरहेको क्षेत्रीले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप