नेपाल र भुटानका झन्डासहित नाचे पिट्सबर्गमा दर्शक

समाचार सारांश
- पिट्सबर्गमा नेपथ्यको कन्सर्टमा भुटानी झन्डा देखियो, जहाँ भुटानी शरणार्थीहरूको उल्लेख्य उपस्थिति थियो।
- गायक अमृत गुरुङले विगत बिर्सेर अघि बढ्न र भाषाको माध्यमबाट नेपाली समुदायलाई जोड्न आग्रह गरे।
- कन्सर्टमा 'कोशीको पानी यो जिन्दगानी' गीतबाट सुरु भई विभिन्न चर्चित गीतहरू प्रस्तुत गरियो, र अमेरिका यात्रा सिकागो, बोस्टन र ग्रिन्सबोरोमा जारी रहनेछ।
पिट्सबर्ग (पेन्सिलभानिया) । नेपथ्यको कन्सर्टमा दुई चीज छुट्दैनन्– एउटा ‘रातो र चन्द्रसूर्जे’ गीत र अर्को जताततै नेपाली राष्ट्रिय झन्डा । पिट्सबर्गको ‘रक्सिन थिएटर’ मा शनिबार राति कन्सर्ट चलिरहँदा भने अर्को झन्डा पनि देखियो । त्यो थियो– पहेँलो र गेरु रङमाथि सेतो ड्रागन अंकित भुटानको राष्ट्रिय झन्डा ।
पुनर्वास गराइएका भुटानीको उल्लेख्य संख्या हलमा देखेपछि गायक अमृत गुरुङले मञ्चबाटै आह्वान गरे, ‘विगतलाई बिर्सनु हुँदैन तर माफ गरेर अघि बढ्ने हौसलाचाहिँ राख्नै पर्छ । हामी संसारभरि फैलिएका नेपालीलाई आपसमा जोड्ने यही भाषाले हो । यो सद्भाव सदैव कायम रहोस् । कसैले कसैमा द्वेष नराखी अगाडि बढ्नुस् है ।’ प्रत्युत्तरमा दर्शकले केही बेरसम्मै ताली बजाए ।
चार्टियर्स एभेन्युमा छरिएका दर्शकका निम्ति निर्धारित समय अनुसारै बेलुकी ८ बजे हलका ढोकाहरू खोलिएका थिए भने त्यसको ठीक एक घण्टामा मञ्चमा अमृत र उनको टिम उपस्थित भएको थियो । ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट कन्सर्ट सुरु भएको थियो । त्यसलाई ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ले निरन्तरता दियो ।
पुनर्वास गराइएका भुटानी शरणार्थी उल्लेख्य संख्यामा रहेको पेन्सिलभानिया राज्यमा नेपालीभाषी समुदायको जीवन्त उपस्थिति देख्न पाउँदा खुसी लागेको गायक अमृतले उल्लेख गरे । अमृतले मञ्चबाटै अनुरोध पनि गरेका थिए, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है ।’
शनिबारको कन्सर्टको आयोजक टोलीकी एक सदस्य पनि भुटानी शरणार्थी परिवारकै विद्या पुलामी थिइन् । राष्ट्रिय पहिचान भुटानी भए पनि आफूहरू नेपाली नै रहेको उनी बताइरहेकी थिइन् । ‘हामी धपाइएर आएको भए पनि भुटानको समेत उत्तिकै माया लाग्छ,’ उनले भनिन्, ‘त्यसैले कार्यक्रममा मैले बोक्ने झन्डा नेपाल र भुटान दुवै मुलुकका हुन् ।’
कार्यक्रमभरि पटक–पटक नेपाली पहिचानका पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्न पनि आह्वान गरे । पैदलै गाउँबस्ती पुग्दा गीत संकलन गरेको र कतिपय गीत उतैको रमाइलोमा तयार पार्ने गरेको पनि उनले सुनाए । पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्बिरहरूले पनि उनको भनाइलाई सघाइरहेको देखिन्थ्यो ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
अमेरिका यात्राको चौथो प्रस्तुति पिट्सबर्गमा सकिएसँगै ब्यान्ड अब फेरि उत्तरतर्फ उक्लनेछ । अबको गन्तव्य हुनेछ भव्य सिकागो सहर । जनसंख्याका हिसाबले अमेरिकाकै तेस्रो ठुलो यो सहर कला र संस्कृतिका लागि पनि उत्तिकै प्रसिद्ध छ । त्यहाँस्थित ‘दी भिक थिएटर’ मा जुन ७ मा नेपथ्य कन्सर्ट तोकिएको छ ।
सिकागोपछि ब्यान्ड बोस्टन सहर पुग्नेछ । त्यहाँको ‘रोयाल बोस्टन’ हलमा जुन ११ मा नेपथ्यको प्रस्तुति रहनेछ । त्यसपछि भने १४ सदस्यीय नेपथ्य टोली नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ । त्यहाँको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ आफूलाई उभ्याएपछि यस वर्षको अमेरिका यात्रा बिट मार्दै ब्यान्ड स्वदेश फिर्नेछ ।
यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रूपमा सम्हाल्दै आएका छन् । अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट nepathya.com.np मार्फत सिट सुरक्षित गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार यातायात व्यवसायीकाे पक्षमा उभिएपछि राइडर्सहरू रूष्ट, आन्दोलनको चेतावनी
-
नामीद्वारा ४० देशमा १२ हजारभन्दा बढी जेएफ–एस ३ युनिट निर्यात
-
चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान प्रदान
-
देउवा र प्रचण्डलाई प्रधानमन्त्री ओलीको कुर्सी ‘सेयरिङ’को सन्देश के ?
-
ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री
-
आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे