बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

माओवादीले अन्तिमसम्म साथ दिने रास्वपाको विश्वास, राप्रपालाई फकाउने रणनीति

अवैध लेनदेनको प्रमाण समेत सङ्कलन गरेर सार्वजनिक गर्ने तयारी
सोमबार, १९ जेठ २०८२, १३ : ३२
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको मागमा माओवादीको साथ खोजेको छ।
  • रास्वपाले भिजिट भिसा सेटिङ प्रकरणमा राप्रपासँग पनि समर्थन खोजेको छ, एकीकृत समाजवादीले भने गृहमन्त्रीको बचाउ गरेको छ।
  • रास्वपाले भिजिट भिसा प्रकरणमा अवैध लेनदेनको प्रमाण सार्वजनिक गर्ने तयारी गरेको छ, जसमा पैसाको चलखेल भएको आरोप छ।

काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको मागलाई ‘बटमलाइन’ बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले आफूलाई अन्तिमसम्मै साथ दिने विश्वास व्यक्त गरेको छ ।

अर्को विपक्षी दल एकीकृत समाजवादी गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिनुपर्छ भन्ने पक्षमा उभिए पनि माओवादीले भने साथ नछाड्नेमा रास्वपा विश्वस्त देखिएको हो ।

भिजिट भिसा प्रकरणमा रास्वपाले राजावादी पार्टी राप्रपालाई समेत आफूहरूको मागमा सहमत गराउने प्रयत्न गरेको छ । एकीकृत समाजवादी पहिलो दिनको बैठकबाटै गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने पक्षमा उभिएपछि रास्वपाले राप्रपा लगायतका दलहरूसँग पनि साथ माग्ने भएको हो । राप्रपा आफैँ राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलनमा केन्द्रित छ ।

‘एकीकृत समाजवादीले विपक्षीको पहिलो दिनको बैठकदेखि नै गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्छ भन्ने मत राखेको हो,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘उहाँहरूको कुरा मिडियामा मात्रै हिजो सार्वजनिक भएको हो ।’

रास्वपाले गृहमन्त्रीको राजीनामाबाट कुनै हालतमा पछि नहट्ने जनाएको छ । माओवादीसँग पनि आफूहरूको आन्तरिक कुरा भइरहेको पनि रास्वपाले जनाएको छ ।

‘आजै बैठक राख्नुभएको छ । त्यसबाट के निर्णय गर्नुहुन्छ हेरौँ,’ नेता झाले रातोपाटीसँग भने, ‘उहाँहरूको पार्टीको निर्णय हाम्रो नियन्त्रणमा छैन । यदि उहाँहरू अडानबाट पछि हट्नुहुन्छ भने त केही गर्न सकिन्न । तर हामीलाई विश्वास छ उहाँहरू हाम्रै साथमा आउनुहुन्छ ।’

त्यस्तै उनले राप्रपासँग पनि साथ दिन सहयोग मागिरहेको बताए । आस्था फरक भए पनि राप्रपालाई सुशासनको मुद्दा पनि बोक्न आग्रह गरिएको रास्वपाको भनाइ छ ।

एकीकृत समाजवादी हुँदै माओवादीले पनि साथ छाड्यो भने रास्वपा एक्लै गृहमन्त्रीबारे लिएको अडानमा कायम रहला त ? भन्ने प्रश्नमा कार्यवाहक प्रवक्ता झाले भने, ‘यसमा महत्त्वपूर्ण के हो भन्ने हेर्ने हो । त्यसरी हेर्दा महत्त्वपूर्ण रमेश लेखक होइन । उनीहरूले जसरी सहकारीको मुद्दा समाधान गर्ने बहानामा रवि लामिछानेलाई महत्त्व दिए, यसलाई सिध्याऔ, थुनौँ भने । तर सहकारी समस्या समाधान गर्ने विषयमा अब उनीहरूले जवाफ नै दिँदैनन् ।’

उनले रमेश लेखकले ‘राजीनामा दिनुपर्दैन’ भन्दै गर्दा गठबन्धन, कांग्रेस नेता र गृहमन्त्रीले ‘बदमासी भएको हो तर हाम्रो संलग्नता चाहिँ छैन त्यसैले आगामी दिनमा यस्तो नहोस् भनेर छानबिन समिति बनाउँछौँ, अनुसन्धानलाई तीव्र गर्छौँ’ भन्ने बोली नबोलेको बताए ।

‘उहाँहरूले यो गलत नै होइन भन्न सक्नुपर्‍यो । तर देश यसरी नै हामीले चलाउने हो भन्ने तरिका देखियो’, झाले भने, ‘सब कुरा नकारेको मात्र अवस्था छ । यसको मतलब अध्यागमनमा मानिसहरू लुटिएका छन् भन्ने पनि स्विकार्नुभएको छैन ।’

साथै,रास्वपाले भिजिट भिसा प्रकरणमा हुने अवैध लेनदेनको प्रमाण समेत सङ्कलन गरेर सार्वजनिक गर्ने तयारीमा जुटेको छ । कार्यवाहक प्रवक्ता झाले दैनिक सात सय भिजिट भिसामा मानिसहरू बाहिरिने गरेको र औसतमा मासिक २२ हजारको संख्या पुग्ने बताए । ‘त्यसमा पैसा लिएर कति जना गए ? भनेर हामीले सोधेका छौँ । हरि ढकालजीको म्यासेजमा मात्र १ हजार म्यासेजहरू आएको छ । मेरो र अरू साथीहरूकोमा पनि आएको छ,’ कार्यवाहक प्रवक्ता झाको भनाइ छ । उनले सचिवालयले सब प्रमाणहरू भौचर, ट्रान्जेक्सन र अडियोसमेत रहेकाले त्यो सबै समेटेर मंगलबार सार्वजनिक गर्ने बताए ।

रास्वपाको सचिवालय र संसदीय दलको बैठकमा ती प्रमाणहरू एकीकृत गरेर सार्वजनिक गर्ने तयारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप