चर्चित अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलको सन्न्यास

समाचार सारांश
- अस्ट्रेलियाका ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
- म्याक्सवेलले सन् २०१२ मा अस्ट्रेलियाका लागि डेब्यू गरेका थिए र उनी २०१५ र २०२३ को विश्वकप विजेता टोलीका सदस्य थिए।
- उनले शारीरिक समस्याका कारण र टोलीमा स्थान ओगटेर बस्नुको अर्थ नभएको भन्दै सन्न्यास लिएको बताएका छन्, तर टी-२० क्रिकेट भने जारी राख्नेछन्।
काठमाडौँ । विश्व क्रिकेटमा पछिल्लो समय सन्न्यासको लहर चलेको छ । चर्चित क्रिकेटरहरूले एकपछि अर्को गर्दै सन्न्यास घोषणा गरिरहेका छन् । केही समयअघि भारतका दुई चर्चित खेलाडी रोहित शर्मा र विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरे ।
श्रीलङ्का चर्चित अलराउन्डर एन्जेलो म्याथ्यूले पनि केही समयअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । अब यिनै खेलाडीहरूलाई पछ्याउँदै अस्ट्रेलियन क्रिकेट टोलीका प्रभावशाली ब्याटिङ अलराउन्डर ग्लेन म्यासवेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।
३६ वर्षीय म्याक्सवेलले सोमबार सन्न्यासको घोषणा गरेका हुन् । उनले सन् २०१२ मा अस्ट्रेलियन टोलीबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनी सन् २०१५ र सन् २०२३ मा अस्ट्रेलियालाई विश्वकप जिताउने टोलीका प्रभावशाली सदस्य पनि हुन् ।
आफ्नो आक्रामक ब्याटिङ र उत्कृष्ट फिल्डिङका कारण उनी विश्व क्रिकेटमा निकै चर्चित छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ४९ खेलको एक सय ३६ पालीमा कुल तीन हजार नौ सय ९० रन बनाएका छन् ।
यस क्रममा उनले चारवटा शतक र २३ वटा अर्धशतक पनि प्रहार गरेका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय एक रन हो । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ विकेट पनि लिएका छन् ।
म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई भने निरन्तरता दिने भएका छन् । उनले अर्को वर्ष आयोजना हुने टी–२० विश्वकप खेलेर यो ढाँचाको क्रिकेटबाट पनि बिदा लिने सम्भावना छ । उनले टेस्ट क्रिकेटबाट पनि औपचारिक रूपमा सन्न्यास लिएका छैनन् । तर, म्याक्सवेलले अब टेस्ट क्रिकेट खेल्ने सम्भावना भने निकै कम छ ।
सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले सन् २०२२ मा खुट्टा भाँचिएपछि एक दिवसीय क्रिकेटमा आफूले गतिलो प्रदर्शन गर्न नसकेको बताए । सोही कारणले च्याम्पियन्स ट्रफीमा पनि आफ्नो प्रदर्शन स्वाभाविक नरहेको उनले बताए ।
‘शरीरले साथ नदिएपछि टोलीमा स्थान ओगटेर बस्नुको कुनै अर्थ छैन । त्यसैले मैले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको निर्णय लिएको हुँ । अहिलेसम्म मलाई साथ र सहयोग दिनु हुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल भुक्तानी सहज बनाउन एभरेस्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट कार्ड'
-
नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशन सम्पन्न, मनिष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
-
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा (तस्बिरहरू)
-
छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल
-
मोरङको कानेपोखरीमा राजनीतिक संरक्षणमा व्यापक अवैध उत्खनन