प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर बन्नुपर्छ: विश्वप्रकाश
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले प्रतिपक्षीका विषयमा गम्भीर हुनुपर्ने बताए।
- भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने र छानबिनमा परेका सबैमाथि कारबाही हुनुपर्ने शर्माको भनाइ छ।
- कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्रीमाथि प्रश्न नउठेको अवस्थामा राजीनामा माग्नु उचित नभएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर हुनुपर्ने बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरूले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने बताएका हुन् ।
भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सवैमाथि छानबिन हुनुपर्ने उनले बताए । शर्माले यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वाभाविक रूपमा पद त्याग गर्नुपर्ने भए पनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उल्लेख गरे ।
कर्मचारीमाथि अनुसन्धान भइरहँदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ । उनले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई गाँसेर सदनमा आवेग प्रकट हुन खोजेको जस्तो देखिएको बताए ।
त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि कुनै प्रश्न र उजुरी नपरेको अवस्थामा राजीनामा माग गरेर प्रतिपक्षी नै अप्ठेरोमा परेको बताए ।
मंगलबार दलहरूबिचको छलफलमा प्रतिपक्षी दलले राजीनामा भन्दा पनि छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएको उनले बताए ।
उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग जायज नरहेको स्पष्ट पारे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण