नेपाली श्रमिकहरूका समस्या समाधानका लागि एनआरएनएसँग सहकार्य गर्न प्रतिबद्ध छौँ : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको टोलीसँगको भेटमा मन्त्री भण्डारीले नेपाली नागरिकहरूको हितका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै यसमा एनआरएनएको सहयोग र समन्वय अपेक्षित रहेको बताए ।
मन्त्री भण्डारीले विदेशमा ५ हजारभन्दा बढी नेपाली श्रमिक रहेका देशहरूमा श्रम सहचारी नियुक्त गर्ने सरकारी निर्णय भए पनि स्रोतको अभावमा यो कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताए ।
हाल केही देशमा स्थानीय स्तरमा कर्मचारी राखेर काम भइरहेको भए पनि धेरै देशमा श्रमिकका समस्या जटिल बन्दै गएको उनले स्वीकार गरे । विशेष गरी श्रम स्वीकृति, भिसा नवीकरण, र अन्य प्रशासनिक प्रक्रियामा नेपाली श्रमिकहरूले विदेशमा दुःख भोग्नुपरेको उनको भनाइ छ । यी समस्याको सहजीकरणको लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूसँग समन्वय गरेर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री भण्डारीले मन्त्रालय डिजिटलाइजेसनको प्रक्रियामा अघि बढिरहेको र यसमा एनआरएनएको प्राविधिक सहयोग आवश्यक रहेको बताए । साथै, मन्त्रालयले सन् २०२४ सेप्टेम्बरसम्म विभिन्न माध्यमबाट विदेश पुगेका नेपाली श्रमिकहरूलाई वैधानिक करण (लिगलाइजेसन) गर्ने प्रक्रिया सुरु गर्न लागेको जानकारी पनि उनले दिए । यो प्रक्रियामा पनि एनआरएनएको सहयोगका लागि उनले आग्रह गरे ।
छलफलका क्रममा मन्त्री भण्डारीले मन्त्रालयले ‘श्रम संसार’ नामक मोबाइल एप्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिए । यो एप्सलाई नागरिक एप्ससँग एकीकृत गरेर विश्वभर रहेका नेपाली श्रमिकहरूलाई सहज र सरल रूपमा सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले बताए । यो एप्समार्फत श्रम स्वीकृति, भिसा नवीकरण, स्वास्थ्य सेवा, लगायतका सुविधाहरू पहिलो चरणमा समावेश गरिने छ । यसले विदेशमा रहेका नेपाली श्रमिकहरूको प्रशासनिक झन्झटलाई कम गर्ने र सेवा प्राप्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
उक्त भेटमा एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले विदेशस्थित नेपाली दूतावास र कन्सुलर कार्यालयहरूमा कर्मचारी अभावका कारण नेपाली नागरिकले सेवा प्राप्तिमा कठिनाइ भोगिरहेको उल्लेख गर्दै यो समस्याको समाधानमा सहयोग गर्न एनआरएनए तयार रहेको बताए ।
श्रेष्ठले एनआरएनएले प्रणालीगत रूपमा (सिस्टम बनाएर) सहयोग गर्ने योजना रहेको र सङ्घको प्राविधिक टोलीले १५ दिनभित्र ठोस नतिजा दिने गरी काम अघि बढाउने बताए । उनले एनआरएनएले हाल निर्माण गरिरहेको प्रणालीलाई एकीकृत गरी दूतावास र कन्सुलर सेवाहरूलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे । यो प्रणाली लागू भएपछि श्रमिकहरूले सामान्य समस्याका लागि भौतिक रूपमा दूतावास धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।
श्रेष्ठले थपे, ‘हामीले श्रम मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यो काम गर्ने योजना बनाएका छौँ । यो प्रणालीमार्फत हामीले सरकारलाई आर्थिक भार नपर्ने गरी काम गर्ने छौँ ।’
उक्त भेटमा विदेशमा रहेका नेपाली श्रमिकहरूले भोगी रहेका श्रम स्वीकृति, भिसा नवीकरण, स्वास्थ्य सेवा र कानुनी सहायता लगायतका विषयबारे छलफल गरिएको थियो । यी समस्यालाई समाधान गर्न डिजिटल प्रणालीको विकास, एनसिसीहरूसँगको समन्वय, र दूतावासहरूमा कर्मचारी व्यवस्थापनमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
मन्त्री भण्डारी र एनआरएनए अध्यक्ष श्रेष्ठ दुवैले यो सहकार्यले विदेशमा रहेका नेपाली श्रमिकहरूको जीवनलाई सहज बनाउने र उनीहरूको हकहित संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । भेटघाटमा एनआरएनएका कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानासहितको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’
-
भाले गैँडा सदर चिडियाखाना पठाइयो
-
उमागौरी सहकारी ठगी प्रकरण: मुद्दाको पेशी चौथो पटक स्थगित
-
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
-
इन्टर मिलान छाडेलगत्तै अल–हिलालसँग जोडिए प्रशिक्षक सिमोन इन्जाघी
-
‘जन्ते बाख्रो’ को प्रिमिएरमा कसले के भने ?