बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी

मङ्गलबार, २० जेठ २०८२, २२ : १६
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भयो, जसमा राजनीतिक र संगठनात्मक प्रतिवेदन पारित गरियो।
  • नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने, जसमा अध्यक्ष पदका लागि १२ जना आकांक्षी छन्।
  • प्रचण्डको सुझाव अनुसार, सकेसम्म सहमतिमा नेतृत्व चयन गरिने र नभए निर्वाचन प्रक्रियाबाट टुंगो लगाइनेछ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन मानिएको योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को भावी नेतृत्वका निर्वाचन प्रक्रिया भोलि (बुधबार) बिहानबाट सुरू हुने भएको छ । 

जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनले राजनीतिक र सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मत पारित भएको नेता ठाकुर सौरागले जानकारी दिए ।

नयाँ नेतृत्व छनोटका लागि भोलि बिहानबाट निर्वाचन समितिले काम थाल्ने उनले बताए । उनका अनुसार अध्यक्ष पदमा १२ जनाको हाराहारीमा आकाङ्क्षी रहेकाले भए सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुनेछ । 

‘राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । भोलिदेखि नेतृत्व छनोटको प्रक्रिया अगाडि बढ्छ । वाईसीएल पार्टीको सहायक सङ्गठन भएकाले नेतृत्वको पनि कुरा सुन्नुपर्छ । सकेसम्म सर्वसम्मत नेतृत्व छनोट हुन्छ । नभए निर्वाचन समितिले प्रक्रिया अगाडि बढाउँछ’, रातोपाटीसँग उनले भने । 

विधानमा ३५ पदाधिकारी रहेकोमा अध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी ९९ जना आकाङ्क्षी रहेको सौरागले बताए । 

निवर्तमान अध्यक्ष सुबोध शेर्पाली नदोहोरिने घोषणा गरेकाले भावी नेतृत्वका लागि उपाध्यक्ष, उपमहासचिव र सचिवबाट १२ जनाको हाराहारीमा आकाङ्क्षी देखिएका छन् । अध्यक्ष पदका लागि सौराग, पुष्प ओली, केयरसिंह  कुँवर सचिवबाट माधव बस्नेत(रुपन्देही), डम्बर पुलामी ‘कर्मा’(झापा), गणेश शाही ‘विद्रोही’ (कालिकोट), नवराज एैर, शिव बोगटी, प्रेम श्रेष्ठ लगायत आकाङ्क्षी छन् । 

यसैगरी अध्यक्षपछि महत्त्वपूर्ण पद मानिने महासचिवका लागि झन्डै ६ जना आकाङ्क्षी देखिएका छन् । महासचिव पदका लागि शोभराम भण्डारी(सल्यान), सन्तोष पनेरु(चितवन), धनकुमार मैनाली(ललितपुर), मुकेश थापा, हरि ढकाल लगायत आकाङ्क्षी छन् ।

नेतृत्वको आकाङ्क्षीले आ–आफ्ना अडान नछाडेपछि फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा गएको टोलीले सोमबार अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । छलफलको क्रममा प्रचण्डले पार्टीको सहायक सङ्गठन भएकाले सकेसम्म सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउन सुझाव दिएको प्रचार विभाग प्रमुख पुष्प ओलीले जिकिर गरे । 

‘फ्यक्सन इन्चार्ज दीपशिखासहित हामी नेतृत्वका आकाङ्क्षीहरू अध्यक्षसँग बसेका थियौँ । उहाँले सहमतिमै नेतृत्व छनोट गर्न निर्देशन दिनुभएको होइन । जसले जिते पनि मेरैले जित्ने हो । सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व छनोट भएमा राम्रो हुन्छ । नभए निर्वाचन प्रक्रियाबाट अगाडि बढ्नोस् भन्नुभयो । कुनै निर्देशन दिनेभन्दा सुझाव दिनुभएको हो । सहमति र निर्वाचन प्रक्रिया सँगसँगै जारी राख्छौँ’, ओलीले भने । 

तेस्रो सम्मेलनबाट ४० वर्षे उमेर हदका कारण महासचिवभन्दा माथिको पदाधिकारीबाट लगभग सबै बाहिरिँदै छन् ।  सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी रहने गरी विधान पारित भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?