मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने

बुधबार, २१ जेठ २०८२, ०३ : ३३
बुधबार, २१ जेठ २०८२

काठमाडौँ। कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा १४औँ कर्मचारी खेलकुद प्रतियोगिता हुने भएको छ ।

यही जेठ २१ देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबल टेनिस खेल समावेश गरिएको मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष रामबिनय श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार फुटसलमा चार महिला र १५ पुरुष टोलीको सहभागिता रहनेछ । ब्याडमिन्टनमा महिला तथा पुरुष सिङ्गल र डबल्स, भेट्रान्स सिङ्गल र डबल्स (४५ वर्षमाथि), एक्जुकेटिभ डबल्स (तह) वा प्रथम श्रेणी र सोभन्दा माथिल्लो तहका कर्मचारीबिच प्रतिस्पर्धा हुनेछ ।

टेबल टेनिसमा महिला तथा पुरुष सिङ्गल र डबल्स, मिक्स डबल्स र एक्जुकेटिभ सिङ्गल (तह) वा प्रथम श्रेणी र सोभन्दा माथिल्लो तहका कर्मचारीको स्पर्धा समावेश गरिएको छ ।

प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड, नेपाल नागरिक उड्डयन प्राधिकरण, कृषि विकास बैङ्क लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल बैङ्क लिमिटेड सहभागी छन् । 

त्यसैगरी नेपाल वायुसेवा निगम, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नागरिक लगानी कोष, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल वन निगम, राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, सार्वजनिक सेवा प्रसारण केन्द्र, कृषि सामग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सहभागिता रहने जनाइएको छ ।

टेबल टेनिस लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । ब्याडमिन्टन हात्तिगौँडास्थित याकेट एन्ड रोल ब्याडमिन्टन हल तथा  फुटसल टोखास्थित ग्राण्डी स्पोर्टस सेन्टरमा हुनेछ ।

उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु १५ लाख २६ हजार खर्च लग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप