शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’

बिहीबार, २२ जेठ २०८२, ०१ : ४२
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • लोकसेवा आयोगले ७५ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रमसहित हीरक महोत्सव मनाउने भएको छ।
  • महोत्सवमा आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायतका कार्यक्रमहरू हुनेछन्, जसमा उत्कृष्ट जनशक्तिलाई सम्मान गरिनेछ।
  • आयोगले वर्षभरि नै हीरक महोत्सवसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नेछ र यस अवसरमा सभाहलको नाम परिवर्तन गरिनेछ।

काठमाडौँ। लोकसेवा आयोगले ७५ वर्ष पुगेको उपलक्ष्यमा आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी हीरक महोत्सव मनाउने भएको छ ।

सो सन्दर्भमा जानकारी दिँदै हीरक महोत्सव प्रचारप्रसार समितिका संयोजकसमेत रहेका आयोगका सदस्य वीरबहादुर राईले विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमसहित मनाउन लागेको ७५औँ वार्षिकोत्सव कार्यक्रमलाई आमसञ्चारमाध्यमले प्राथमिकता दिने विश्वास व्यक्त गरे ।  

सरकारी सेवा प्रवेशका क्रममा जनशक्ति छनोटसहित पदपूर्तिका लागि सिफारिस गर्ने जिम्मेवारीमा रहेको आयोगको स्थापना २००८ साल असार १ गते भएको थियो । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोगलाई तोकिएको छ ।

केन्द्रीय कार्यालयसहित काठमाडौँमा तीन वटा र काठमाडौँ बाहिर ११ वटासमेत जम्मा १४ वटा कार्यालय रहेको आयोगका सबै कार्यालयमा हीरक महोत्सवसम्बन्धी कार्यक्रम आयोजना हुने जानकारी दिँदै सदस्य राईले भने, “अहिले सुरुआतमा सप्ताहव्यापी रुपमा उत्सव मनाइने भए पनि वर्ष दिनभर हीरक महोत्सवसम्बन्धी कार्यक्रम हुन्छन् । लोक सेवा आयोगका गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्न विशेष योगदान पुर्‍याउने अग्रज तथा कार्यरत उत्कृष्ट जनशक्तिलाई सम्मान गरिनेलगायतका कार्यक्रम छन् । जिम्मेवार संवैधानिक निकायका हैसियतले आयोगले धेरै बोल्दैन, तर आयोगबाट सम्पादित कामकाबारेमा चर्चा परिचर्चा हुन आवश्यक छ । त्यसमा आमसञ्चार माध्यमबाट साथ सहयोग प्राप्त हुने विश्वास लिएका छौँ ।”

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईंले हीरक महोत्सववका उपलक्ष्यमा आयोगको प्रतीक चिन्ह प्रयोगमा ल्याई वर्षभर कामकाज गर्ने र आयोगमा करिब ३० वर्ष सेवा गरी सचिव हुनुभएका भूवनमान सिंह प्रधानको योगदानको कदर गर्दै आयोगको केन्द्रीय कार्यालयस्थित ‘सभाहल’लाई उनको नाममा नामकरण गर्ने निर्णय भएको जानकारी दिइन् । 

सहप्रवक्ता एवं सूचना अधिकारी एकनारायण शर्माले ‘योग्यता, स्वच्छता, निष्पक्षताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने आदर्श वाक्यका साथ तोकिएको जिम्मेवारी पूरा गर्दै आएको आयोग विभिन्न कार्यक्रमका साथ हीरक महोत्सव मनाउन गइरहेको जानकारी दिँदै सदैव आयोगका पक्षमा पेसागत धर्म निर्वाह गरिरहेका मुलुकका आमसञ्चारमाध्यमले आयोगको हीरक महोत्सवसम्बन्धी गतिविधिलाई प्राथमिकता साथ प्रचारप्रसार गर्ने विश्वास व्यक्त गरे।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप