हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दा जैविक विविधतामा खतरा निम्त्यायो : उपराष्ट्रपति यादव

समाचार सारांश
- उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरण प्रदूषण कम गर्दै वातावरणमैत्री प्रविधि अपनाउनुपर्ने कुरामा जोड दिए।
- विश्व वातावरण दिवसको अवसरमा उनले जलवायु परिवर्तनले पारेको असर र यसका चुनौतीबारे प्रकाश पारे, जसमा हिउँ पग्लने, प्रदूषण र वन विनाश मुख्य छन्।
- उनले वातावरण संरक्षण सबैको साझा कर्तव्य भएको र युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने बताए, साथै वृक्षरोपण र ऊर्जा बचतजस्ता कार्यमा जोड दिए।
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दा गएको र वनक्षेत्रको विनाशले जैविक विविधतामा खतरा निम्त्याएको उल्लेख गरे । शुभकामना सन्देशमा भनिएको छ, “नदी तथा जलस्रोतको दुषित अवस्थाले सुरक्षित खानेपानीको अभाव सिर्जना भएको छ । अतिवृष्टि, अनावृष्टि, खडेरी, सुक्खाग्रस्त समस्याको चपेटामा हामी पर्दै गएका छौँ । तराई–मधेस क्षेत्रमा त भूमिगत पानीका स्रोतहरू सुक्दै गएका छन् वा पानीको सतह निक्कै तल गइसकेको अवस्था छ ।”
उपराष्ट्रपति यादवले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि जलवायु परिवर्तनका विविध असरले निकै समस्या उत्पन्न भइरहेको भन्दै यसविरुद्ध सबैको सहकार्य जरूरी रहेको उल्लेख गरे । “हाल हिमालको हिउँ पग्लने, नदीहरूमा प्रदूषण, वायु प्रदूषण, वन विनाश, चुरे विनाशजस्ता गम्भीर चुनौती देखापरेका छन् । कतिपय ठाउँमा इनार, कुवा, चापाकललगायतमा पानी आउनै छाडेको छ, यस सन्दर्भमा स्थानीय सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीचको सहकार्य अनिवार्य छ ।”
प्रत्येक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को नेतृत्वमा मनाइने विश्व वातावरण दिवस—२०२५ को मूल नारा ‘प्लास्टिक प्रदूषणको अन्त्य’ रहेको छ । उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जा स्रोत प्रवर्द्धन, वन्यजन्तु तथा जैविक विविधताको सुरक्षा सुनिश्चित, कृषि तथा औद्योगिक उत्पादनमा वातावरणमैत्री प्रविधि अपनाउने र व्यक्तिगत तथा सामुदायिक तहमा वातावरण संरक्षणका पहलहरूलाई प्रोत्साहित गर्ने कार्यमा जोड दिन जरूरी रहेको पनि बताए ।
पर्यावरण संरक्षण सरकारको मात्र जिम्मेवारी नभएर हामी सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै उनले हरेकले आफ्नो दैनिक जीवनमा साना परिवर्तनहरू गरेर पनि वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउनसक्ने उल्लेख गरे । “खासगरी, वृक्षरोपण अभियानलाई प्राथमिकता दिने, पानी तथा ऊर्जाको बचत गर्ने एवं सरसफाइ तथा वातावरणमैत्री प्रविधि अपनाउन सक्नुपर्दछ”, उपराष्ट्रपति यादवले भने ।
वातावरण संरक्षणमा सबैको योगदान उत्तिकै महत्वपूर्ण भएपनि युवाहरूको भूमिका झनै बढी भएको उनको भनाइ छ । युवाले पर्यावरण संरक्षणमा नवीनतम समाधानहरू खोज्न, जागरूकता अभियान सञ्चालन गर्न तथा सकारात्मक व्यवहार परिवर्तनको नेतृत्व लिन सक्ने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसमा सन्देशमूलक नाटक
-
संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत छौँ : महेश बर्तौला
-
टिजरमा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’
-
भारतबाट फर्किनेमा कोभिडको जोखिम, सुदूरपश्चिममा कस्तो छ तयारी ?
-
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
-
इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २५ हजार ९९९