शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

इङ्गल्यान्डमा खेलिने टेस्ट शृङ्खलाको नाम ‘एन्डर्सन–तेन्दुल्कर ट्रफी’

शुक्रबार, २३ जेठ २०८२, ०९ : १३
शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ । भारतीय टोलीले निकट भविष्यमा इङ्ल्यान्डको भ्रमण गर्दै छ । यस क्रममा इङ्गल्यान्ड र भारतबिच पाँच खेलको टेस्ट शृङ्खला खेलिने छ । शृङ्खलाका लागि भारत र इङ्गल्यान्ड दुवैले आफ्नो टोलीको घोषणा पनि गरिसकेका छन् । 

यसैबिच, उक्त टेस्ट शृङ्खलाको नाम दुवै राष्ट्रका महान खेलाडी जेम्स एन्डर्सन र सचिन तेन्दुल्करको नामबाट नामकरण गरिने भएको छ । इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) र भरतीय क्रिकेट कन्ट्रोल बोर्ड (बसीसीआई) ले आपसी सहमतिमा यो शृङ्खलाका नाम एन्डर्सन–तेन्दुल्कर राखेका हुन् ।

यी दुवै खेलाडीका लागि यो गौरवको विषय हो । जुन ११ तारिखदेखि इङ्गल्यान्डमा आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल सुरु हुँदैछ । उक्त फाइनलमा एन्डर्सन र तेन्दुल्कर पनि उपस्थित हुने भएका छन् । 

सोही अवसरमा तेन्दुल्कर र एन्डर्सनले लर्डसमा संयुक्त रूपमा आफ्नो नाममा सुरु हुन लागेको शृङ्खलाको ट्रफी अनावरण गर्ने कार्यक्रम रहेको छ । इङ्गल्यान्ड र भारतबिच हुने टेस्ट शृङ्खला आगामी सिजनको विश्व टेस्ट च्याम्पियनसिपको सुरुवात पनि हो । 

इङ्गल्यान्ड र भारतबिचको पहिलो टेस्ट जुन २० तारिखमा लिड्समा खेलिने छ । दोस्रो टेस्ट जुलाई २ तारिखमा बर्मिङ्घममा, तेस्रो टेस्ट जुलाई १० तारिखमा लर्डसमा, चौथो टेस्ट जुलाई २३ तारिखमा म्यानचेस्टरमा र पाँचौँ टेस्ट जुलाई ३१ तारिखमा दी ओभलमा सुरु हुनेछ ।

इङ्गल्यान्डका प्रभावशाली क्रिकेटर एन्डर्सनले गत जुलाईमा सक्रिय खेलजीवनबाट सन्न्यास घोषणा गरेका थिए । उनले आफ्नो सक्रिय खेलजीवनमा एक सय ८८ टेस्ट खेलेका थिए । तेन्दुल्करले भने सन् २०१३ मै टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले कुल दुई सय टेस्ट खेलेका छन् । 

यसअघि इङ्गल्यान्डमा खेलिने ट्रफीलाई पटौदी ट्रफीको नामले सम्बोधन गरिन्थ्यो । भारतका पूर्वकप्तान इफ्तिखार अली खान पटौदी र उनका छोरा मन्सुर अली खान पटौदीको नाममा यो शृङ्खलाको नाम राखिएको थियो । 

अहिले आएर सोही नाम परिवर्तन गरि एन्डर्सन–तेन्दुल्कर ट्रफी राखिएको हो । भारतमा आयोजना हुने इङ्गल्यान्ड र भारतबिचको टेस्ट शृङ्खलालाई भने एन्थोनी डे मेलो ट्रफी भनिन्थ्यो । एन्थोनी बीसीसीआईका संस्थापकमध्ये एक थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप