केन्यामा बलात्कारको आरोपमा बेलायती सैनिक पक्राउ

काठमाडाैँ । केन्यामा अवस्थित बेलायती सेनाको तालिम शिविर नजिकै एक महिलालाई बलात्कार गरेको आरोपमा एक बेलायती सैनिक पक्राउ परेका छन्। यसअघि पनि सोही शिविरमा खटिएका अर्का सैनिकमाथि हत्या आरोप लागेको थियो।
गत महिना राजधानी नैरोबीबाट करिब २०० किलोमिटर उत्तरको नन्युक्की सहर नजिक रहेको ब्रिटिश आर्मी ट्रेनिङ युनिट केन्या नजिकै उक्त बलात्कार घटना भएको बताइएको छ। सैनिकहरूको समूहले नन्युक्कीको एक बारमा गएको केही समयपछि उक्त घटना भएको थियो। आरोपित सैनिकलाई गिरफ्तार गरेर सोधपुछ गरिएको छ।
घटनाको अनुसन्धान बेलायती रक्षा मन्त्रालय अन्तर्गतको डिफेन्स सिरियस क्राइम युनिटले गरिरहेको छ, जसले बेलायती सैनिकले स्वदेश वा विदेशमा गरेका गम्भीर अपराधको अनुसन्धान गर्छ।
बेलायती रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘एकजना सेवा सदस्य’ केन्यामा गिरफ्तार गरिएको पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सशस्त्र बलहरूमा अस्वीकार्य र आपराधिक व्यवहारको कुनै स्थान छैन। सेवा गर्दै गरेका व्यक्तिबाट गम्भीर अपराधको रिपोर्ट भएमा त्यसको अनुसन्धान कमान्ड सञ्जालबाट स्वतन्त्र रूपमा गरिन्छ।’
केन्यामा बेलायती सेनाको यो पछिल्लो विवाद २०१२ मा भएको एउटा घटनासँग पनि जोडिएको छ, जसमा एक बेलायती सैनिकमाथि स्थानीय युवतीको हत्या आरोप लागेको थियो। २१ वर्षीया एक सन्तानकी आमा अग्नेस वाञ्जिरुको शव बेलायती सैन्य शिविर नजिकैको सेप्टिक ट्यांकीमा हराएको तीन हप्तापछि फेला परेको थियो।
उनले घटनाको दिन बेलायती सैनिकहरूसँग समय बिताएको भनिन्छ । सन् २०२१ मा द सन्डे टाइम्स ले एउटा रिपोर्ट प्रकाशित गर्दै एक बेलायती सैनिकलाई वाञ्जिरुको हत्यामा संलग्न भएको आशंका गरिएको उल्लेख गरेको थियो।
रक्षा मन्त्रालयले उक्त घटनामा केन्याली अनुसन्धानमा सहकार्य भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड