बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चुनाव गराएर मात्रै राजीनामा दिन्छु : मोहम्मद युनुस

बुधबार, २८ जेठ २०८२, २१ : ४७
बुधबार, २८ जेठ २०८२

सारांश

  • बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
  • उनले सन् २०२६ को अप्रिलमा चुनाव हुने बताएका छन् र चुनाव निष्पक्ष हुनुपर्नेमा जोड दिए।
  • युनुसले लण्डनमा बङ्गलादेश नेसनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ।

लण्डन ।  बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले आफूले बङ्गलादेशमा निर्बाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहका कारण सन् २०२४ को अगष्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य भएको थियो । 

युनुस स्वयंले कुनै राजनीतिक पद खोजिरहेका छन् कि भनेर सोधिएको प्रश्नमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले निर्वाचनपछि सत्तामा रहिरहन ‘कुनै चाहना नभएको’ बताएका हुन् । 

उनले भने, ‘मलाई लाग्छ, म मात्र होइन, हाम्रो क्याबिनेटका कुनै पनि सदस्यले त्यसो गर्न चाहँदैनन् ।’ लण्डनको विदेश नीति थिङ्क ट्याङ्क चाथम हाउस, रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्समा मङ्गलबार साँझ बोल्दै युनुसले उक्त कुरा बताएका हुन् ।

उनले हसिनालाई सत्ताच्युत गर्ने प्रदर्शन सुरु भएको एक वर्षपछि अर्को महिना ‘जुलाई चार्टर’ भनिने प्रस्तावको ‘ठूलो प्याकेज’ सार्वजनिक गर्न चाहेको पनि बताएका छन् । उनले यो प्याकेजको उद्देश्य हसिनाको कार्यकालपछि लोकतान्त्रिक संस्थाहरूमा आमूल परिवर्तन गर्नु रहेको बताए । ‘हामी नयाँ बङ्गलादेश बनाउन चाहन्छौँ,’ युनुसले भने । 

उनले भने, ‘राजनीतिक दलसँग कुरा गरेर सरकारको ‘सहमति आयोग’ले यो बडापत्र तयार गरिरहेको छ।’ युनुसले लामो समयदेखि सन् २०२६ को जुनभन्दा अघि नै चुनाव हुने बताउँदै आएका छन् तर अन्तरिम प्रशासनले जति धेरै सुधार गर्छ त्यति नै राम्रो हुने बताउँदै आएका छन् । 

सत्ताका लागि होडबाजी गरिरहेका राजनीतिक दलहरूले पटक–पटक समयतालिका तोक्न माग गरेपछि उनले यसै महिनाको सुरुमा सन् २०२६ को अप्रिलमा चुनाव हुने बताएका थिए । उनले भने, ‘हाम्रो काम संक्रमणकाललाई राम्रोसँग व्यवस्थापन गर्ने हो र हामीले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दा जनता खुसी हुनेछन् ।’

उनले भने, ‘त्यसैले हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि चुनाव सही छ, यो हाम्रो लागि धेरै महत्वपूर्ण कारक हो। यदि चुनावमा अनियमितता भयो भने यो कुरा फेरि कहिल्यै समाधान हुँदैन।’

युनुसले लण्डनमा बङ्गलादेश नेसनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग पनि भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा ५९ वर्षीय रहमानविरूद्ध हसिना सरकारले सन् २००८ मा दोषी करार गरी जेल सजाय सुनाएपछि लण्डनमा बस्दै आएका थिए ।  चुनावमा पार्टीको नेतृत्व गर्न उहाँ ढाका फर्कने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप