शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

व्यवसायीले गरेनन् भारतले दिएको कोटाबापतको गहुँ आयात

उत्पादन बढेकाले आयात नगरेको उद्योग मन्त्रालयको दाबी
बिहीबार, २९ जेठ २०८२, २२ : १०
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । भारतले दिएको कोटाको दुई लाख मेट्रिक टन गहुँ हालसम्म आयात भएको छैन । साउनदेखि वैशाखसम्ममा ३ लाख ९९ हजार रुपैयाँको २ हजार ११६ किलो गहुँ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

भारतबाट कोटामार्फत पाएको उक्त गहुँ तीन प्रयोजनका लागि आयातका सरकारले प्रक्रिया थालेको थियो । औद्योगिक प्रयोजनका लागि उद्योग विभाग अन्तर्गत, व्यापारिक प्रयोजनका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र सरकारले व्यापार गर्ने गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत गहुँ आयात थालेको थियो । 

यसमध्ये उद्योग विभागमार्फत उद्योगीहरूले १ लाख मेट्रिक टन औद्योगिक प्रयोजनका लागि, वाणिज्य विभाग अन्तर्गत व्यापारिक फर्महरूले ९० हजार र साल्टले १० हजार मेट्रिक टन गहुँ आयात गर्ने गरी प्रक्रिया थालेको थियो । 

वाणिज्य विभागले २०८१ माघ १४ गते सूचना जारी गर्दै ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन माग गरेको थियो । उक्त गहुँ आयातका लागि इच्छुक ५८ कम्पनीले आवेदन दिएका थिए । 

गत फागुन २३  गते सूचना जारी गर्दै वाणिज्य विभागले ४१ कम्पनीलाई ९० हजार मेट्रिक टन गहुँ आयात गर्न अनुमति दिइएको थियो । यसमध्ये २१ कम्पनीलाई ३ हजारका दरले, २ कम्पनीलाई २५००, ४ कम्पनीलाई २ हजार र १४ कम्पनीलाई एक हजार मेट्रिक टनका दरले आयात अनुमति दिइएको छ । 

अनुमतिसँगै विभागले सात दिनभित्र गहुँ आयातका लागि भारतीय निर्यात कम्पनी नेशनल कोअप्रेटिभ एक्सपोर्ट लिमिटेड (एनसीइएल) सँग गहुँ आयातको लागि सम्झौता गरी त्यसको प्रतिपत्र विभागमा बुझाउन भनेको थियो । तर व्यापारीहरूले सात दिनभित्र कुनै सम्झौता पत्र लिएर उपस्थित भएनन् ।  

विभागले चैत ४ गते फेरि सूचना जारी गर्दै एनसीइएलसँगको सम्झौता पत्र लिएर विभागमा ५ दिनभित्र उपस्थित हुन भन्यो तर सो अवधिमा पनि कुनै व्यापार कम्पनी उपस्थित भएनन् । 

यसपछि विभागले चैत १४ गते फेरि अर्को सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्झौता पेस हुन नसकेकोले सम्झौता उपलब्ध गराउने म्याद २०८१ चैत्र मसान्तसम्म थप गरिएको जनाएको छ । अन्तिम म्याद चैत मसान्तसम्म अनुमति पाएका कम्पनीहरुले एनसीएलसँग सम्झौता गरेर ल्याउने प्रोसेसमा गएको विभागका महानिर्देशक कुमार प्रसाद दहालले बताए । 

तर गहुँ आयात गरे/नगरेको जानकारी भने नभएको  उनको भनाइ छ । ‘व्यापारीहरुले ९० मेट्रिक टन गहुँमध्ये ८० मेट्रिक टन आयातका लागि प्रोसेस गरिसकेका छन्,’ उनले भने,‘तर आयात गरे नगरेको बारेमा जानकारी गराएका छैनन् ।’

यस्तै उद्योग विभागमार्फत औद्योगिक प्रयोजनका लागि आयात गर्नुपर्ने १ लाख मेट्रिक टन गहुँ आयातका लागि ३८ कम्पनीले अनुमति पाएको उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली बताउँछन् । उनीहरुले पनि गहुँ आयातका लागि भारतीय निर्यात कम्पनी एनसेलसँग सम्झौता गरेर आयातका लागि थालेको  बताए । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उपसचिवले पनि गहुँ आयातका लागि उद्योगी तथा व्यापारीहरुले प्रक्रिया अघि बढाइसकेको बताउँछन् । भारतीय निर्यात कम्पनी एनसेलसँग सम्झौता भइसकेको तर स्वदेशमै गहुँ उत्पादन बढेकाले आयात नगरेको ती उपसचिव भनाइ थियो । 

‘सबै प्रोसेस भइसकेको छ । तर पनि आयात गरेका छैनन्,ती उपसचिवले भने ‘आयात नगर्नुको कारण हाम्रो उत्पादन बढेको हुनसक्छ ।’ 

भारतले २३ मे २०२२ (२०७९ वैशाख ३० गते) गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा संकटको संकेत देखिएपछि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतले कोटामार्फत नेपालमा भने गहुँ निर्यात गर्दै आएको छ ।

भारतले गत  पुस २० एक सूचना जारी गर्दै नेशनल कोअपरेटिभ एक्सपोट्र्स लिमिटेड (एनसीईएल) मार्फत नेपाललाई २ लाख मेट्रिक टन गहुँ आयातका लागि अनुमति दिइएको  थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप