शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

शुक्रबार, ३० जेठ २०८२, ०७ : ३५
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ, जसमा आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ।
  • आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्, जुन बजेट पेस गर्नुअघि गरिन्छ।
  • आर्थिक सर्वेक्षणले प्रदेशको आर्थिक अवस्थाको मूल्याङ्कन गर्छ र नीति निर्माण, बजेट तर्जुमा, तथा दीर्घकालीन योजना बनाउन सहयोग गर्छ।

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

प्रदेशसभाका सभामुख भवन कुमार पाठकका अनुसार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारको बजेट कार्यक्रम संसदमा पेस गर्नुपूर्व आर्थिक सर्वेक्षण पेस गर्ने प्रक्रिया रहेको उनले बताए । 

प्रदेश वा क्षेत्रको आर्थिक अवस्था, संरचना, प्रगति, समस्या र सम्भावनाको समग्र मूल्याङ्कन गरी नीति निर्माण, बजेट तयार पार्ने प्रक्रिया, तथा दीर्घकालीन योजना बनाउने आधार स्तम्भका रूपमा आर्थिक सर्वेक्षणलाई लिइन्छ । 

एक आर्थिक वर्षमा भएको आर्थिक गतिविधिहरूको समीक्षा (उत्पादन, रोजगारी, गरिबी, उद्योग, कृषि, सेवा, राजस्व, आय–व्यय आदि सूचकहरूको विवरण) गरी तयार गरिने सांख्यिकीय र विश्लेषणात्मक प्रतिवेदन (आर्थिक सर्वेक्षण) नीति निर्माणका लागि आधार तयार पार्न, आगामी बजेट तथा विकास योजनाको रुपरेखा निर्धारण गर्न, अर्थतन्त्रको स्वास्थ्य मूल्याङ्कन गर्न, सूचना पारदर्शिता र जवाफदेहिता सहित विकास र सुधारको योजना निर्माण, लगानीकर्ताको मार्ग निर्देशन तथा नीतिगत निर्णय लिन तयार गर्ने गरिन्छ । 

प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत हुनेछ । शुक्रबारको प्रदेशसभाको बैठकमा प्रदेशसभाका विषयगत समितिहरूको वार्षिक प्रतिवेदन समेत पेस हुने कार्यसूची रहेको सभामुख पाठकले बताए । प्रदेशसभाका विषयगत ६ वटा समितिहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप