शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

शुक्रबार, ३० जेठ २०८२, १६ : ५९
शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ । बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरी दोश्रो तथा कर्णालीकी सरिता शाही तेश्रो भए ।

शुक्रबार छात्रा ट्रिपलजम्पसहित छात्र/छात्राको ४ गुणा १ सय मिटर रिलेमा गरी ३ कीर्तिमान बने । छात्र ४ गुणा १ सय मिटर रिलेमा बागमतीका प्रवीण राना मगर, सन्त दराई, सुविन लामा र निरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पारे । बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारु, तुल्सीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन् । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो बने ।

सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारु, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चदै कीर्तिमान स्थापित गरे । लुम्बिनीका निशा चौधरी, रेसु थारु, रामकुमारी थारु र सम्झना थारुको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो स्थानमा रहे ।

तीनदिने एथलेटिक्समा जम्मा ९ कीर्तिमान बने । यसअघि छात्र १ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर (१०.७६ सेकेन्ड), छात्रा ४ सय मिटर दौडमा सुदूरपश्चिमकी संगीता विक (१ मिनेट ०१.१९ सेकेन्ड), छात्रा ८ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी (२ मिनेट १७.९ सेकेन्ड) र छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारु (५७.४० मिटर) ले कीर्तिमान स्थापित गरेका थिए । 

त्यस्तै, छात्र/छात्राको बागमती टोलीले ४ गुणा ४ सय मिटर रिलेमा पनि कीर्तिमान कायम गरे । छात्रमा प्रवीण राना मगर, निरज शाह, हस्त सुनार र सन्तबहादुर दराई तथा छात्रामा दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलले कीर्तिमान आफ्नो नाममा लेखाए ।

छात्र त्रिपलजम्पमा सुदूरपश्चिमका विकास बुढा पहिलो भए । उनले १३.७३ मिटर जम्प गरे । सुदूरपश्चिमकै विक्रम नाथ दोश्रो र बागमतीका अविनाश सुनार तेश्रो भए ।

छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो भए । उनले ९ मिनेट ०८.९ सेकेन्डमा दौड पूरा गरे । कोशीका अमिर लिम्बू दोश्रो तथा लुम्बिनीका अर्विन्दकुमार यादव तेश्रो बने । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी देवकी धामीले १० मिनेट ५२.९ सेकेन्डमा पूरा गर्दै स्वर्ण चुमिन् । बागमतीकी अस्मिता भुजेलले रजत तथा कर्णालीकी स्वस्तिका कठायतले कांस्य जिते ।

छात्र २ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर पहिलो भए । उनले २२.४ सेकेन्ड समय खर्चे । लुम्बिनीका सुभम् वमरेल दोश्रो तथा गण्डकीका सुदीप भण्डारी तेश्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतीकी दिना गोपाली पहिलो भइन् । दिनाले २७.१ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी आरुषी भट्टराई दोश्रो तथा गण्डकीकी अनुष्का अधिकारी तेश्रो भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप