शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

माओवादीको यूटर्न : भिजिट भिसामा अग्नि सापकोटा साटेकै हो ?

२ बुँदे सहमतिप्रति असन्तुष्टि
शुक्रबार, ३० जेठ २०८२, २१ : ४२
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक सञ्चालनका लागि दुई बुँदे सहमति गरे, जसमा भिजिट भिसा र अध्यागमनसम्बन्धी विषयमा अख्तियारको अनुसन्धानलाई सहयोग गर्ने उल्लेख छ।
  • सहमतिपछि रास्वपा र राप्रपाले भने उक्त सहमतिलाई अपुरो भन्दै विरोध जारी राखे, गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद बैठक अवरुद्ध गरे।
  • माओवादीभित्रै दुई बुँदे सहमतिप्रति असन्तुष्टि देखिएको छ भने राप्रपाका सांसदले यो अग्नि सापकोटाको मुद्दा मिलाउन गरिएको आरोप लगाए।

काठमाडौँ । १३ जेठदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक सहज ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ शुक्रबार सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र संसद्को प्रमुख विपक्षी माओवादी केन्द्रले २ बुँदे सहमति गरे ।

भिजिट भिसाका नाममा भएको भनिएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र यसबारे संसदीय छानबिन समिति गठनको मागबाट यूटर्न हुँदै माओवादी दुई बुँदे सहमति गर्न राजी भएको हो ।

 उक्त सहमति सत्तापक्ष र विपक्षीकाबिच भएको भनिएको छ भने २ बुँदेमा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौला र विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् 

यस्तो छ २ बुँदे सहमति

१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुरयाउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।

२‍. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने । 

भिजिट भिसामा विपक्षी नै विभाजित
यो सहमतिपछि माओवादी भिजिट भिसा प्रकरणमा संसद्को अवरोधमा सहभागी त भएन तर रास्वपा र राप्रपाले उक्त सहमतिलाई उधारो र अपुरो भन्दै संसद बैठक अवरोधको नीति छाडेनन् । 

रास्वपा र राप्रपाको विरोधकैबिच शुक्रबारको प्रतिनिधि सभा बैठकमा भिजिट भिसा प्रकरणबारे आफूमाथि उठेका प्रश्नको गृहमन्त्री रमेश लेखकले सांगोपांगो जवाफ दिए । मन्त्री लेखकले जवाफ दिँदा रास्वपाका सांसदले बेल घेराउ गरे भने राप्रपाका सांसद आसनबाट उठेर विरोधलाई निरन्तरता दिए । 

त्यसअघि बैठकको सुरुमै रास्वपा र राप्रपाका सांसद ढ्यापढ्याप गर्दै उठेर विरोध थालेका थिए । त्यहीबिचमा सभामुख देवराज घिमिरेले माओवादीका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डेलाई समय बोल्न समय दिए । तर राप्रपा र रास्वपाका सांसद आसनमा बसेनन् बरु पहिला आफूले बोल्न पाउनुपर्ने माग राखे ।

पाँचौँ पटकसम्म सभामुखले बस्न आग्रह गर्दा पनि उनीहरू आसन ग्रहण गर्न नमानेपछि पाण्डे उठे र बोल्न ३ पटक सभामुखसँग अनुमति मागे । ‘सम्माननीयज्यू म विषय अगाडि बढाऔँ ?’ पाण्डेको भनाइ थियो । तर राप्रपा र रास्वपाका सांसद नबसेपछि संसद्को नियमावलीलाई ध्यान राख्दै पुनः आसन ग्रहण गर्न सभामुखले आग्रह गरे ।

 त्यति वेलासम्म १३ मिनेट समय बितिसकेको थियो । त्यसपछि सभामुखले हितराज पाण्डेलाई समय दिइसकेकाले अरूलाई पनि पालैपालो बोल्न दिने बताएर पाण्डेलाई बोल्न अनुमति दिए । सभामुखको अनुमतिपछि पाण्डेले भिजिट भिसा प्रकरणमा त्रिविस्थित अध्यागमन कार्यालयबाट मानिस बेचिएको भन्दै त्यसमा संलग्नमाथि छानबिन गरी कारबाही हुने विश्वाससहित एमालेसँग २ बुँदे सहमति भएको जनाए । 

पाण्डे बोल्दासम्म २ पार्टीका सांसदले विरोध गरे । त्यसपछि सभामुखले राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई बोल्न दिए । लिङ्देनले राजावादी आन्दोलनमा सरकारी हस्तक्षेपको विरोध गर्दै भिजिट भिसा प्रकरणमा माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको सुन्न आएको बताए ।

‘यो हुने नै यही थियो, उहाँले भन्नुभयो गणतन्त्रको रक्षाको लागि, तर लुटतन्त्रको लागि यो सहमति भएको आमजनताले बुझेका छन्’, लिङ्देनले २ बुँदे सहमतिको कटाक्ष गरे ।

उनले राजनीतिक क्षेत्रको सहभागिता विना भिजिट भिसा प्रकरणमा त्यत्रो भ्रष्टाचार हुनै नसक्ने भन्दै गृहमन्त्रीको नैतिकताको विषय मात्रै नभई सिङ्गो देशको इज्जत र प्रतिष्ठाको विषय भएको दाबी गरे ।

त्यसपछि सभामुखले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिए । झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको आरोप लगाउँदै छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताए ।

‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ, त्यहाँ ध्यान देऊ भनेर गृह मन्त्रालयलाई ९/९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो रु जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो ?,’ सांसद झाले भने, ‘यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो ? अर्को कुरा, कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो ।’

झा बोलेपछि पुनः सुरु भयो नाराबाजी 

झाले बोलेपछि संसदमा फेरि गृहमन्त्रीको विरोधमा नाराबाजी चल्यो । ‘हाम्रो आन्दोलन जारी छ, गृहमन्त्री राजीनामा दे’ यो नारा २ मिनेट लागेपछि सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिए । तर रास्वपा र राप्रपाका सांसदले नाराबाजी र बेल घेराउ जारी राखे ।

गृहमन्त्री लेखकले सुरुमै भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको र हुनपनि नसक्ने प्रस्टीकरण दिए । लेखकले आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे ।

‘उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन’, लेखकको दाबी थियो । उनले भिजिट भिसामा सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले अनुसन्धान गरिरहेको अवस्थामा विपक्षीले आफूलाई समेत जोडेर राजनीतिक चरित्रहत्या गर्न खोजेको दाबी गरे । उनले नक्कली उजुरीहरू समेत देखाएको भन्दै त्यस्ताको समेत कारबाही गर्ने चेतावनी दिए । तर, संसदमा आफ्नो प्रष्टीकरण दिन उपस्थित भएका लेखक हडबडाउँदै प्रस्तुत भएका थिए । 

करिव सवा घण्टा विरोध र विपक्षीकै विभाजनबिच बैठक सकिएपछि संसद भवन बाहिर राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले माओवादीले एमालेसँग भिजिट भिसामा सहमति गर्नुमा अग्नि सापकोटाको मुद्दासँग साटेको गम्भीर आरोप लगाए ।    

‘भिजिट भिसामा माओवादीले अग्नि सापकोटा साट्यो । मान्छे मारेको मुद्दामा बाहिर बसेर छानबिन हुँदैन, त्योचाहिँ फौजदारी कसुरको नियमावलीभित्रै पर्छ’, शाहीले भने, ‘त्यो भएकाले उहाँलाई पक्राउ नगर्ने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नमाग्ने साथसाथै छानबिन समिति पनि नबनाउने कुरामा सहमति भयो । माओवादीका साथीहरू चुक्नुभयो र आत्मसमर्पण गर्नुभयो ।’

स्मरण रहोस् सापकोटाविरुद्धको २० वर्ष पुरानो मुद्दामा हालै मात्र सर्वोच्च अदालतले सरकारलाई अनुसन्धान गर्न बाटो खोलिदिएको थियो ।

माओवादी सशस्त्र द्वन्द्वकालमा विसं २०६२ मा मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटासहितका माओवादी नेताहरू संलग्न रहेको पीडित परिवारको भनाइ छ । तर, माओवादी केन्द्रकी नेतृ तथा प्रतिनिधिसभा सदस्य रेखा शर्माले शाहीको आरोप गलत रहेको बताइन् । ‘नितान्त गलत आरोप हो । कुनै पनि इस्युको उठान, संघर्ष र आन्दोलन हुने नै कुरा भयो’, उनले भनिन्, ‘हामीले जे गर्‍यौँ ठिक गर्‍यौँ । आन्दोलन अनन्तकालसम्म जाँदैन । समाधान त खोजिनु नै पर्छ ।’

उनले आफूहरुको जोड  समग्र अध्यागमनको सुधार गर्नेतर्फ रहेको उल्लेख गर्दै भनिन्, ‘त्यो गर्ने भनिएको विषय साटफेर कहाँबाट हुन्छ, किन हुन्छ रु त्यस्ता आरोपको कुनै तुक छैन ।’

२ बुँदे सहमतिप्रति असन्तुष्टि

यसैबीच दुई बुँदे सहमतिप्रति माओवादीभित्रै असन्तुष्टि देखिएको छ । माओवादीले औचित्यहीन सहमति गरेर संसद खुलाउन भूमिका खेलेको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको हो । माओवादी केन्द्रका एक

सांसदले दुई बुँदे सहमतिले आफूलाई चित्त नबुझेको बताए । ‘सहमति चित्त बुझ्दो भएन । किन यसरी सहमति गर्नुपर्ने बाध्यता आइलाग्यो मैले बुझेको छैन’, शुक्रबार राति ती नेताले बताए । यस्तै सामाजिक सञ्जालमा पनि माओवादीले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेको बारेमा चर्को टिकाटिप्पणी भइरहेका छन् । 

सहमतिको बचाउ गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने गणतन्त्रको रक्षाका लागि सहमतिमा हस्ताक्षर गरेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप