१० बजे, १० समाचार : डिल्लीबजार कारागारमा प्रसाईंदेखि रमेश लेखकलाई राहतसम्म

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१३ जेठदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक सहज ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ शुक्रबार सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र संसदको प्रमुख विपक्षी माओवादी केन्द्रले २ बुँदे सहमति गरेको छ ।
उक्त सहमति सत्तापक्ष र विपक्षीकाबिच भएको भनिएको छ भने २ बुँदे सहमतिमा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौला र विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् । दुई बुँदे सहमतिपछि माओवादीको भूमिकालाई लिएर आलोचना भएको छ ।
माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएकोमा एकाएक दुई बुँदे सहमति भएपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ भने सामाजिक सञ्जालमा पनि आलोचना भएको हो । यता उक्त सहमतिपछि गृहमन्त्री रमेश लेखकलाई भने राहत भएको छ ।
२. गृहमन्त्रीको स्पष्टीकरण
गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । शुक्रबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले भने, ‘ अनुसन्धानमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
३. दुर्गा प्रसाईं
तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंले अदालतमा दिएको बयानमा प्रहरीलाई मार्ने नियतले गाडी नचलाएको, प्रदर्शनस्थलमा अश्रुग्यास, ढुङ्गा र गोली प्रहार हुन थालेपछि संयमित भई ज्यान बचाउनका लागि निषेधित क्षेत्रमा सुस्तरी गाडी चलाएर गएको दाबी गरेका छन् ।
अदालतले पुर्पक्षमा पठाउने आदेश गरेसँगै उनी डिल्लीबजार कारागार चलान भएका छन् ।
४. ठगी
काठमाडौँको नरेफाँटबाट जेठ २५ मा लक्ष्मण पराजुली र अरुणराज शर्मा पक्राउ परे । उनीहरू युके पठाउने नाममा ११ करोड ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
मोरङको रतुवामाई नगरपालिका–१० घर भएर कपनस्थित सरस्वती नगर बस्दै आएका ४४ वर्षीय लक्ष्मण पराजुली ‘आइइएलटीएस’ पढाउने शिक्षक पनि हुन् ।
५. दुई सचिवको जवाफ
गृहसचिव गोकर्णमणि दुवाडी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जबाफ पठाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीलाई सात दिनभित्र दरबन्दी बमोजिम व्यवस्थापन गरी त्यसको जानकारी गराउन पत्राचार गरेका थिए ।
६. प्रचण्डको भनाइ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नो ढंगले अघि बढेपनि आफूहरुबीच आरोप–प्रत्यारोप नहुने बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले रास्वपासंग माओवादीको मूलभूत विषयमा केही फरक नरहेको उल्लेख गरे । रास्वपाको अडानका कारणले केही समय रास्वपा आफ्नै ढंगले जाने र आफूहरुबीच बिमति र आरोप प्रत्यारोप नहुने उनको भनाइ छ ।
७. तीनकुने घटना
चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक भएसँगै अदालतमा मुद्दा खेपिरहेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हाल ‘फरार’ छन् । उनीहरू आफ्ना कानुन व्यवसायीसँगकै परामर्शका आधारमा अदालतमा हालसम्म अनुपस्थित नभएको बताइएको छ । उनीहरू उपयुक्त समयमा छिट्टै अदालतमा उपस्थित भएर कानुनी लडाइ लड्ने राप्रपा स्रोतको भनाइ छ ।
८. प्रदेश नीति तथा कार्यक्रम
स्रोत साधन र कानुनको सीमितताबाट गुज्रिरहेका प्रदेश सरकारहरूले आफ्नो आर्थिक पहिचान पहिल्याउने प्रयास गरेका छन् ।
प्रदेश सरकारहरूले ल्याएका वार्षिक नीति तथा कार्यक्रममा यस्तो अवस्था देखिएको हो । ठुला कार्यक्रम र महत्त्वकांक्षी योजना ल्याउने गरेका प्रदेशले यसपटक ल्याएका योजनाहरू थप यथार्थपरक बन्दै गएका देखिएको हो ।
९. बोर्डको पत्र
प्रतिनिधिसभाको अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई ९० रुपैयाँभन्दा कम नेटवर्थ नरोक्न पत्र पठाएको छ । लेखा समितिले २०८१ जेठमा प्रतिसेयर ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपिओ निष्कासनको अनुमति नदिन निर्देशन दिएको थियो ।
१०. सुन मूल्यवृद्धि
शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरूको आपत्ति
-
हाँडीगाउँमा बृहत् रक्तदान
-
सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरु
-
त्रिवि उपकुलपतिको कार्यालयदेखि सेवा आयोगसम्ममा आंशिक प्राध्यापकहरूले लगाए ताला
-
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने