रवीन्द्र मिश्र र धवलशमशेर छिट्टै अदालतमा उपस्थित हुने

समाचार सारांश
- राजधानीको तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि राप्रपाका रवीन्द्र मिश्र र धवलशमशेर राणा 'फरार' छन्।
- मिश्र स्वास्थ्य लाभका लागि परिवारसँग छन् भने राणा पार्टीको काममा खटिएका छन्।
- अदालतमा उपस्थित नभएका कारण उनीहरुलाई पक्राउ पूर्जी जारी हुनसक्ने भएपछि कानुन व्यवसायीको सल्लाह अनुसार छिट्टै अदालतमा हाजिर हुने तयारी छ।
काठमाडौँ । चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक भएसँगै अदालतमा मुद्दा खेपिरहेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हाल ‘फरार’ छन् । उनीहरू आफ्ना कानुन व्यवसायीसँगकै परामर्शका आधारमा अदालतमा हालसम्म अनुपस्थित नभएको बताइएको छ । उनीहरू उपयुक्त समयमा छिट्टै अदालतमा उपस्थित भएर कानुनी लडाइ लड्ने राप्रपा स्रोतको भनाइ छ ।
बन्दी प्रत्यक्षीकरण रिट दायरसँगै सर्वोच्च अदालतको आदेशका आधारमा मिश्र रिहा भएका थिए । यस्तै राणा क्यान्सरको उपचारका लागि रिहा भएका थिए । काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर हुँदा भने उनीहरु पनि प्रतिवादी छन् । तर पनि उनीहरु थुनछेक बहस हुँदा उपस्थित नभएका हुन् ।
मिश्र हाल स्वास्थ्य लाभ र विश्रामका लागि परिवारसँगै रहेको मिश्र निकट राप्रपाका एक नेताले बताए । ती नेताका अनुसार मिश्र अहिले ‘फरार’ हैनन्, तर अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा नरहेका मात्र हुन्। उनका अनुसार मिश्रलाई सर्वोच्च अदालतले थुनाबाहिरै रहेर कानुनी लडाइ लड्न आदेश दिएको छ। त्यसैले अहिले प्रहरीले उनलाई नियन्त्रणमा लिन सक्ने अवस्था छैन।
‘अदालतले हाजिरी जमानीमा छाडेको हो भनेपछि बाहिर रहेर मुद्दा लड्न पाइन्छ,’ ती नेताले बताए । यस्तै राणा पनि पार्टीकै काममा खटिइरहेका छन् । उपस्थित नभएकै कारण अदालतले उनीहरुलाई पक्राउका लागि वारेन्ट जारी गर्ने तयारी गरेको बताइँदा उनीहरू अब छिट्टै अदालतमा हाजिर हुन लागेको बताइएको छ । उनीहरू हाजिर भएपछि थुनछेकको प्रक्रिया सुरु हुनेछ ।
यसअघि ३९ जना प्रतिवादीसँगै थुनछेक प्रक्रियामा सहभागी हुँदा लामो समय लाग्ने र सो अवधिमा हिरासतमै बस्नुपर्ने स्थिति आउनसक्ने भएकाले योजनाअनुसार नै त्यतिबेला अदालतमा उपस्थित नभएको राणा निकट स्रोतका भनाइ छ । अब कानुनविदु्सँग राय लिएर उनीहरू अदालतमा उपस्थित हुने स्रोतको भनाइ छ । बिहीबार राति तीनकुने घटनामा ७ जनालाई थुनमा पठाउने आदेश काठमाडौँ जिल्ला अदालतबाट भएको थियो । यस्तै ३० जना धरौटीमा रिहा भएका थिए ।
तीनकुने घटनामा बिहीबार राति थुनछेक आदेश भएपछि सञ्चारकर्मीले मिश्र र राणाको विषयमा पनि प्रश्न गरेका थिए । यसबारे राजावादी अभियानमा संलग्न अधिवक्ता स्वागत नेपालले राणा र मिश्र अदालतमा अनुपस्थित मात्रै भएको बताए । ‘उहाँहरू फरार होइन’, उनले भने, ‘फरारको सूची अर्को छ । अनुपस्थित र फरारको हकमा चाहिँ उपस्थित हुँदाको बखत आदेश हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
-
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
-
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
-
फेसबुके क्रान्तिले देश परिवर्तन हुँदैन : शिव परियार
-
इरान-इजरायल तनाव : चीनद्वारा इजरायलको निन्दा, इरानलाई अमेरिकाको चेतावनी
-
गुल्मीमा कफीको बिरुवाको माग बढ्दो