दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो

समाचार सारांश
- दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ, काठमाडौं जिल्ला अदालतको आदेश अनुसार।
- पत्रकार सुरेश रजकको हत्या र घर आगजनीमा संलग्न भएको आरोपमा प्रसाईं लगायतलाई थुनामा पठाइएको हो।
- २०८१ चैत १५ मा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा तीनकुनेमा घर आगजनी हुँदा पत्रकार रजकको मृत्यु भएको थियो।
काठमाडौँ । तीनकुनेमा आवन्छित गतिविधिमामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए ।
पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । अदालतको आदेशअनुसार, प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान गरिएको छ ।
पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् । पूर्वराजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरुले आगजनीका गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्णरुपमा क्षति भएको थियो । सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो । आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।