आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

सरकारपिच्छेको कर आतङ्क विरुद्ध जस्तो सुकै सङ्घर्ष गर्न तयार छौँ : प्रभु साह

शनिबार, ३१ जेठ २०८२, १७ : १३
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • आजपा अध्यक्ष प्रभु साहले लुटेरा र भ्रष्ट शासकहरूको कमान्डर हुनुभन्दा पीडितहरूको सिपाही बन्नुमा गर्व लागेको बताए।
  • उनले काँग्रेस र कम्युनिष्ट पार्टीहरूले जनतालाई धोका दिएको आरोप लगाउँदै शासनमा जनताको अधिकारका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।
  • साहले नेपालमा भ्रष्टाचार र विदेशमा सम्पत्ति थुपार्ने प्रवृत्तिविरुद्ध आवाज उठाउँदै, जनताको शासन नभएसम्म संघर्ष जारी राख्ने बताए।

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले लुटेरा, भ्रष्ट शासकहरूको कमान्डर हुनुभन्दा शोषित, पीडित, अधिकार विहीन, आवाज विहीन सर्वसाधारणको सिपाही हुनुमा गौरव लागेको बताएका छन् । 

आजपा निकटको आम सम्पर्क मञ्च केन्द्रीय कमिटीको शनिबार काठमाडौँको कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘म जुन पार्टीमा थिए, त्यहाँ राम्रै पोजिसनमा थिए । तर त्यहाँबाट आम जनताले अधिकार नपाउने, भ्रष्टहरूको रजगज रहेको मैले अनुभूति गरे । आम जनताले कसरी अधिकार पाउने, राज्यसत्तामा कसरी पहुँच हुने, अधिकार विहीनको अधिकार कसरी सुरक्षित गर्ने भन्ने बारेमा सोचेरै आम जनता पार्टीको गठन गरेको हो । मलाई लुटेर, भ्रष्ट एवं शासकहरूको कमान्डर हुनुभन्दा शोषित, पीडित, अधिकार विहीनहरूको सिपाही हुनुमा गर्व महसुस हुन्छ ।’ 

काँग्रेस, कम्युनिस्ट भनाउँदा दलहरूले आम जनतालाई धोखा दिइरहेको बताउँदै उनले शासन सत्तामा आम जनताको अधिकार एवं सहभागिताका लागि पाइरहेको सुख, सुविधा त्यागेर, गठबन्धनको टिकट परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएको बताए । 

अहिले शासन व्यवस्था लुटेर वर्गको कब्जामा रहेको र नेपालमा लुटेर विदेशमा सम्पत्ति थुपारिरहेकाले आम जनताको शासन व्यवस्थामा पहुँच नभएसम्म सङ्घर्ष जारी राख्ने उनले बताए । नेपालमा दुई थरीको मान्छेहरू रहेको बताउँदै उनले एकले नेपाललाई समृद्ध बनाउन खोजेको र श्रम गरिरहेको बताए । अर्को थरीका मान्छे नेपालमा लुट्ने, भ्रष्टाचार गर्ने र विदेशमा पुँजी थुपार्ने काम गरिरहेको उनले बताए । 

नेपालमा आफ्नो भविष्य सुरक्षित नदेखेपछि यहाँबाट लुटेर विदेशमा पुँजी थुपार्नेहरू उतै बस्न खोजेको उनले बताए । नेपालको पुँजी पनि उनीहरूले विदेशमा लगिरहेको बताउँदै उनले यसमा सरकारले पनि सहयोग गरिरहेको टिप्पणी उनले गरे । 

अहिले भगौडावर्गको शासन रहेको बताउँदै आजपा अध्यक्ष साहले आम जनताको शासन नहुन्जेल सङ्घर्ष जारी राख्नुपर्ने बताए । यस्तै दुनियाँमा कहीँ नभएको व्यवस्था नेपालमा गरेर लुट मच्चाउने काम भइरहेको उनले बताए । ६५३ भन्दा बढी सरकारले करपिच्छे कर र करको पनि कर लिएर आम जनतालाई लुटिरहेको उनले बताए । 

‘तीन टायरको सरकार विश्वमा कहीँ पनि छैन । तर नेपालमा तीन टायरको सरकार बनाएर लुट मच्चाइएको छ । करमाथि कर, करको पनि कर । सरकारले मुलुकमा कर आतङ्क मच्चाएको छ । यसका विरुद्ध हामी एकजुट भएर सङ्घर्ष गर्नुको विकल्प छैन,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारको मनोमानी तथा सरकार पिच्छे कर आतङ्क विरुद्ध लड्नैपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप