तनहुँ जिल्ला प्रशासन कार्यालयमा बिहान ७ बजेदेखि सेवा सुरु
सारांश
- तनहुँ जिल्ला प्रशासन कार्यालयले नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा बिहान ७ बजेदेखि सुरु गरेको छ, सेवाग्राहीको चाप बढेपछि।
- जिल्लामा १२ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र वितरण भइसकेको छ, तर ४६ हजार अझै वितरण हुन बाँकी छ।
- प्रशासनले स्थानीय तहमा परिचयपत्र पठाएको छ, जसले गर्दा सेवाग्राहीलाई सदरमुकाम धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ।
दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि बिहान ७ बजेदेखि सेवा दिन सुरु गरेको छ । कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले शुक्रबारदेखि बिहान ७ देखि ५ बजेसम्म सेवा सुरु गरेको हो ।
बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएकाले बिहानदेखि सेवा प्रवाह सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए । उनले भने, ‘सेवा प्रवाहलाई व्यवस्थित गराउन बिहानदेखि सेवा प्रवाह थालिएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि ७ बजेदेखि सेवा सुरु हुनेछ ।’
कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सेवाग्राहीको चाप बढ्दै गएको छ । कार्यालयले यसअघि दैनिक एक सय ५० को हाराहारीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्दै आएको छ ।
तनहुँमा १२ हजार राष्ट्रिय परिचयपत्र वितरण, ४६ हजार बाँकी
जिल्लामा १२ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित दश स्थानीय तहमा परिचयपत्र पठाएकामा सम्बन्धित स्थानीय तहबाट १२ हजार ५०७ जनालाई परिचयपत्र वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट दुई सय ५८ परिचयपत्र वितरण भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । प्रशासन कार्यालयमा आइपुगेका राष्ट्रिय परिचयपत्र चालु आर्थिक वर्षमा कार्यालयले सम्बन्धित पालिकामा पठाएको थियो । अधिकारीका अनुसार जिल्लाका पालिकामा ५९ हजार ५०० थान परिचयपत्र पठाइएको छ । अझै ४६ हजार ७३५ थान परिचयपत्र वितरण हुन बाँकी छ ।
अधिकारीले भने, ‘सम्बन्धित स्थानीय तहबाटै परिचयपत्र वितरण गर्दा सम्बन्धित व्यक्तिलाई सहज हुने भएपछि प्रशासन कार्यालयमा थन्किएर बसेका परिचयपत्र पालिकामा पठाएका हौँ । यसले गर्दा परिचयपत्र लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेन ।’
उनका अनुसार चालु आर्थिक वर्षमा १५ हजार ७१२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गरेका छन् । दिनमा १८० जनासम्मको आवेदन दर्ता गर्ने गरिएको छ । त्यसका लागि दुईवटा स्टेसन तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण