नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० शृङ्खला आजदेखि सुरु हुँदै

समाचार सारांश
- नेपाल स्कटल्याण्डमा आयोजना हुने त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागी हुँदैछ। खेलहरू २० जुन सम्म चल्नेछन्, जसमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ।
- नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्नेछ र त्यसपछि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली रहनेछ।
- यसअघि, टोलीहरू आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा भिडेका थिए, जसमा नेपालले चार खेलमध्ये तीनमा जित हासिल गरेको थियो।
काठमाडौँ । नेपाल सम्मिलित त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आइतबारदेखि स्कटल्याण्डको ग्लासगोमा सुरु हुँदैछ । जुन २० सम्म खेलिने यो शृङ्खलामा आयोजक स्कटल्याण्डसहित नेदरल्याण्ड्स सहभागी हुनेछन् ।
पहिलो खेल स्कटल्याण्ड र नेदरल्याण्ड्सबिच हुनेछ । खेल नेपाली समयअनुसार साँझ ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
नेपालले भने सोमबार नेदरल्याण्ड्सको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसको भोलिपल्ट मंगलबार नेपाल आयोजक स्कटल्याण्डसँग भिड्नेछ ।
त्यसपछि बिहीबार (जुन १९) मा नेपाल र नेदरल्याण्ड्स पुनः आमनेसामने हुनेछन् । शुक्रबार (२० जुन) मा नेपालले स्कटल्याण्डको सामना गर्नेछ । ६ खेलपछि सबैभन्दा बढी अङ्क बटुल्ने टोली विजेता घोषित हुनेछ ।
तीनै टोली हालै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगितामा आमनेसामने भएका थिए । नेपालले आफ्नो चार खेलमध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो ।
नेपालले टी–२० शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।
यस्तो छ नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करन केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरण ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख ।