प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म
सारांश
- प्रतिनिधिसभा बैठकमा सांसदहरूले सदनको मर्यादा, रवि लामिछाने सम्बन्धी मुद्दा र यार्सागुम्बा संरक्षण लगायतका विषयमा धारणा राखे।
- सांसद ज्ञानेन्द्रबहादुर शाहीले सदनमा भइरहेको अवरोधप्रति आपत्ति जनाउँदै संसद्लाई मर्यादित बनाउनुपर्ने बताए।
- सांसद नगिना यादवले रवि लामिछानेविरुद्धको मुद्दा र यार्सागुम्बा संरक्षणबारे धारणा राखिन् भने सांसद ठाकुरप्रसाद गैरेले यार्सागुम्बा संरक्षणको विषय उठाए।
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न सांसदहरूले आ–आफ्नो धारणा राखेका छन् । सदनको मर्यादा, सांसद रवि लामिछाने सम्बन्धी मुद्दा र यार्सागुम्बा संरक्षण लगायतका विषयमा सांसदहरूले आ–आफ्नो धारणा राखेका छन् ।
सांसद ज्ञानेन्द्रबहादुर शाहीले सदनमा भइरहेका अवरोधप्रति आपत्ति जनाउँदै भने, ‘संसद् यसरी आन्दोलनका शैलीमा चल्न सक्दैन । यो संसदीय प्रणाली होइन, दादागिरीले सदन चल्न सक्दैन ।’ उनले संसद्लाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
त्यसैगरी, सांसद नगिना यादवले सदन अस्तव्यस्त देखिएको भन्दै जनताको आवाज सम्बोधन हुन नसकेको गुनासो गरिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन वटा मुद्दा रहेको स्मरण गराउँदै भनिन्, ‘उहाँ जेलमा हुनुहुन्छ । उहाँमाथि विभिन्न काण्डको आरोप छ तर न संसदीय दलबाट राजीनामा दिनुभएको छ, न पार्टीबाट । आफैँ गन्हाइसकेपछि अरूको बारेमा प्रश्न उठाउनु कत्तिको जायज हो ?’
अर्का सांसद ठाकुरप्रसाद गैरेले भने प्राकृतिक सम्पदाको संरक्षणको विषय उठाउँदै पाल्पाको रिङ्वा गाउँपालिकामा यार्सागुम्बा फेला परेको जानकारी दिए । ‘अहिलेसम्म हिमाली क्षेत्रमा मात्र पाइने यार्सागुम्बा अब पहाडी क्षेत्रमा पनि देखिन थालेको छ,’ उनले भने, ‘यसको वैज्ञानिक अध्ययनसहित संरक्षणका उपायहरू अपनाउन जरुरी छ ।’
संसद चलिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरिरहेको छ । यसरी नाराबाजी भइरहँदा संसद् प्रभावित भएको भन्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो धारणा राखे । अन्य सांसदहरूले पनि यो नाराबाजी हटाउन सभामुखसँग माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण