अहमदावाद विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुबाहेक ३३ जनाले पाउलान् क्षतिपूर्ति ?

काठमाडौँ । गुजरातको अहमदावादमा भएको विमान दुर्घटनामा ज्यान गुमाउने हरेकका परिवारलाई प्रतिव्यक्ति एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ । टाटा समूहले यो घोषणा गरेको हो ।
एयर इन्डियाले पनि दुर्घटनामा मृत्यु हुनेहरूलाई प्रतिव्यक्ति २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । दुर्घटनाग्रस्त विमानमा सवार सबै २४१ जना मृतकहरूलाई क्षतिपूर्ति दिइनेछ त्यसो भए के दुर्घटनामा ज्यान गुमाउने यात्रु बाहेकका अरू ३३ जनालाई पनि प्रतिव्यक्ति एक करोड रुपैयाँ क्षतिपूर्ति दिइनेछ ?
यस घटनामा यात्रु र चालक दलका सदस्यहरूबाहेक बीजे मेडिकल कलेजका विद्यार्थी, डाक्टर र कर्मचारीहरूको पनि मृत्यु भएको थियो । यद्यपि कम्पनीले अहिलेसम्म यो कुरा स्पष्ट पारेको छैन ।
टाटा समूहले मृतकलाई क्षतिपूर्ति दिनुका साथै घाइतेहरूको उपचारको खर्च पनि बेहोर्ने घोषणा गरेको छ । घाइतेहरूको आवश्यकता अनुसार खर्च गरिनेछ र हेरचाह प्रदान गरिने बताइएको छ । समूहले बीजे मेडिकल कलेजको भवन पनि मर्मत गरिदिने भनेको छ ।
नियममा के छ ?
अन्तर्राष्ट्रिय उडान दुर्घटनामा मृत्यु भएकाहरूको लागि क्षतिपूर्तिको घोषणा मोन्ट्रियल कन्भेन्सन १९९९ अन्तर्गत गरिएको छ । भारत पनि यस कन्भेन्सनको एक हिस्सा हो ।
कन्भेन्सन अनुसार, एक यात्रुले १२८८२१ एसडीआर (स्पेशल ड्रइङ्ग राइट्स)को क्षतिपूर्ति पाउँछन् । यो रकम भारतीय मुद्रामा १ करोड ४० लाख रुपैयाँ हो । यदि विमान दुर्घटना एयरलाइन्सको लापरवाहीका कारण भएको हो भने, क्षतिपूर्तिको रकम अझ बढी हुन सक्छ । कन्भेन्सनको नियम अन्तर्राष्ट्रिय उडान दुर्घटनाको शिकार भएकाहरूमा मात्र लागू हुन्छ ।
भारतीय एयरलाइन्सको उडानमा दुर्घटना भएमा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई जस्तै गरी यसका यात्रुहरूलाई क्षतिपूर्तिको दिने कुरा नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले गरेको छ ।
कम्पनी अनुसार क्षतिपूर्तिको रकम भने फरक हुन सक्छ । कम्पनीले २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म क्षतिपूर्ति दिन सक्छ । एयरलाइन्स र बीमा कम्पनीले सँगै क्षतिपूर्तिको निर्णय गर्छन् ।
बिहीबार जुन १२ मा गुजरातको अहमदावादको मेघानीनगर क्षेत्रमा एक अन्तर्राष्ट्रिय उडान दुर्घटनाग्रस्त भएको थियो । अहमदावादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको एआई–१७१ फलाइट सरदार वल्लभ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै केही परको बीजे मेडिकल कलेजको होस्टेल भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भयो । विमानमा एक लाख लिटरभन्दा बढी इन्धन थियो । त्यसैले ठोक्किने बित्तिकै विमानमा आगो लाग्यो ।
दुर्घटनामा विमानमा सवार १२ जना चालक दलका सदस्यहरू सहित २४१ जनाको मृत्यु भएको थियो । एक यात्रु भने भाग्यले बाँचे । विमानको झ्याल फुटेपछि ती यात्रुले हाम फालेर ज्यान जोगाएका थिए ।
यस घटनामा होस्टेलका कर्मचारी, मेडिकल विद्यार्थी र डाक्टरहरूको पनि मृत्यु भयो । दुर्घटनामा कूल २७४ जनाको मृत्यु भएको छ । मर्नेमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको नाम पनि आएको छ । दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । सरकारले एनएसजीलाई दुर्घटनाको अनुसन्धान गर्न र प्रतिवेदन पेस गर्न आदेश दिएको छ ।