मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता

काठमाडौँ । वर्षायाम सुरु भएसँगै प्राकृतिक विपद् तथा त्यसले पार्न सक्ने असरलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आइतबार मनसुन पूर्व तयारी तथा प्रतिकार्यका सन्दर्भमा सरोकारवालासँग छलफल गरेका छन् ।
उक्त छलफलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल आयल निगम लिमिटेड तथा निजी क्षेत्रका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
मन्त्री भण्डारीले वर्षा याममा आवागमन अवरुद्ध, प्राकृतिक प्रकोप तथा आपत्कालीन परिस्थिति आएमा देशभर अत्यावश्यक वस्तुहरूको सहज आपूर्ति सुनिश्चित गर्न सबै पक्षलाई तयारी अवस्थामा रहन आग्रह गरे । उनले भने, “सरकार जनताको सेवा र सुरक्षाका लागि सधैँ प्रतिबद्ध छ, तर आपूर्तिको स्थायित्वका लागि सार्वजनिक र निजी क्षेत्र मिलेर काम गर्नु अत्यावश्यक छ ।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले देशभर रहेका गोदामहरूमा पर्याप्त मात्रामा चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्री सञ्चय गरिएको जानकारी दिए । “यातायात अवरुद्ध भए पनि भण्डारणका कारण आपूर्ति नियमित हुन सक्ने अवस्था छ,” उन भने ।
शाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दाल, चामल, नुन, तेल लगायतका वस्तुहरूको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले पनि पेट्रोलियम पदार्थहरूको आपूर्ति नियमित गराउने व्यवस्था मिलाइएको जनाउँदै आपत्कालीन भण्डारणमा पनि ध्यान दिइएको बताए ।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले मनसुनको समयमा उपभोग्य वस्तुहरूको अभाव हुन नदिन प्रदेश तथा जिल्ला तहका सम्पूर्ण इकाईहरूलाई सूचित गरिने जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा राज्यलाई साथ दिन तयार रहेको र आपूर्तिमा कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री भण्डारीले सबै व्यवसायी तथा उद्योगीहरूलाई सेवा भावका साथ काम गर्न आग्रह गर्दै भने, “सङ्कटको घडीमा निजी क्षेत्रको सकारात्मक भूमिका निकै महत्त्वपूर्ण हुन्छ । नागरिकले सहज रूपमा आवश्यक वस्तु पाउनुपर्छ भन्ने नै हाम्रो मूल उद्देश्य हो ।”
उनले निजी क्षेत्रसँग सरकारबिच समन्वय बढाउँदै आपत्कालीन राहत र आपूर्तिको व्यवस्थापनमा सहकार्य गर्न आग्रह गरे । मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रकोप व्यवस्थापन कुनै एउटै निकायको काम नभएको उल्लेख गर्दै साझा प्रयास, योजना र समन्वयमार्फत मात्रै दिगो समाधान सम्भव हुने धारणा व्यक्त गरे ।
छलफलको अन्त्यमा मन्त्री भण्डारीले सार्वजनिक–निजी साझेदारीमा आधारित सहकार्यलाई मजबुत पार्दै आगामी दिनमा अझ प्रभावकारी तयारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।