ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा

समाचार सारांश
- नेपथ्य ब्यान्डले नर्थ क्यारोलाइनाको ग्रिन्सबोरोमा कन्सर्ट गर्दै अमेरिका यात्रा टुङ्ग्यायो।
- कन्सर्टमा दर्शकले मातृभाषाको महत्व र सामाजिक सन्देशबारे गायक अमृतको भनाइको प्रशंसा गरे।
- कार्यक्रममा दर्शकको उत्साह, व्यवस्थित प्रस्तुति, र आयोजकको प्रतिक्रियाले कन्सर्टको सफलता देखायो।
नर्थ क्यारोलाइना । कन्सर्ट सकिएपछि नेपथ्यका सदस्यहरूले मञ्चमा लामबद्ध भई अभिवादन गरिरहँदा दर्शकदीर्घामा उथलपुथल चलिरहेकै थियो । हलभरिको जमातले एक स्वरमा आवाज निकालिरहेको थियो, ‘नेपथ्य, नेपथ्य...।’
चर्को आवाजकै बिच सहयोगी कलाकारहरू ध्रुव, सुविन, नीरज, शान्ति र दिनेश झुकेर नमस्ते गर्दै मञ्चबाट बाहिरिए । दर्शकको माया देखेर भावुक गायक अमृत भने केही बेर अडिएर मात्र बिदा लिए । दर्शकदीर्घामा भने नारा लागिरहेकै थियो ।
शनिबार मञ्च र दर्शकदीर्घा बीचको हार्दिकता उत्कर्षमा पुगेकै क्षण नेपथ्यले नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर मात्र होइन, यस वर्षको महिना दिन लामो सिङ्गो अमेरिका यात्राबाट बिदा लिएको छ ।
कन्सर्टले नेपथ्यसँग जोडिएका सम्झना, पहिचानका साझा सरोकार र स्वदेशको मायाजस्ता कुरा उजिल्याएको थियो भने अर्कातर्फ सिङ्गो प्रस्तुति अत्यन्त व्यवस्थित हुनाले दर्शक सन्तुष्ट बनेका थिए । गीतहरूका बिच-बिचमा गायक अमृतले दिने छोटा मन्तव्यमा पनि दर्शक उत्तिकै रमाएका देखिन्थे ।
ती शब्दहरूमा आफ्नो भावना मेल खाएको आनन्द उनीहरूको ताली र अनुहारको रङमा प्रतिबिम्बित हुन्थ्यो । जस्तो कि ‘यो जिन्दगानी’ गीत गाइसकेपछि अमृतले आह्वान गरेका थिए, ‘महिनामा एक दिनको कमाइ कम्तीमा आफ्नै गाउँ ठाउँको यस्तो बच्चाको पढाइका लागि छुट्याइदिनुस्, जसले शिक्षाको उज्यालो देख्न पाएको छैन र जसले तपाईँको सानो योगदानबाट भविष्यमा देशका लागि केही गर्न सकोस् ।’
प्रतिक्रियामा हलभरिका दर्शक उत्साहसहित चिच्याएका थिए । यता अमृत पनि थामिँदैन थिए र थप्थे, ‘धन हुनेले थुपार्ने हो, मन हुनेले दिने हो ।’ दर्शक अझ उत्साहित बन्न पुगे ।
यस्ता मन्तव्यका क्रममा उनले बिदेसिएका आफन्तसँगको अनुभव पनि सुनाए । जस्तो कि शनिबार पनि उनले ‘रेशम' गीत सकिने बित्तिकै भने, ‘यहाँ आएको बेला अस्ति एक जना साथीकी छोरीको घर गएको थिएँ । छोरीको सानो बाबुले त अङ्ग्रेजी मात्र बोल्दो रहेछ । छोरी ज्वाइँ पनि अङ्ग्रेजीमै कुरा गर्ने । स्कुल जान थालेपछि अलमल बढेर अङ्ग्रेजी मात्र बोल्न लगाएका रे । जबकि बच्चाहरूले त एक पटकमा धेरै भाषा सिक्न सक्छन् । सकेसम्म मातृभाषा पनि सिकाउनुस् । होइन भने कम्तीमा नेपाली त सिकाउनै पर्छ । हामीलाई एकताबद्ध र मजबुत राख्ने नै राष्ट्रिय भाषाले हो ।’
आफ्नो भनाइलाई थप सान्दर्भिक बनाउँदै अमृतले बसाइँ सरेर गएका नेपाली धेरै स्थानबाट धपाइएर स्वदेश फर्किनुपरेको दृष्टान्त सुनाए । ‘केही भवितव्य परेर लखेटिनुपर्यो भने पुग्नुपर्ने त्यही हिमालको काख नै हो । भाषा एउटा मात्र जानिरहे बच्चा उसको जरासँग जोडिइरहन्छ र भोलि आफ्नो पिता पुर्खाको ठाउँ सम्झेर फर्किएछ भने पनि दुःख पाउँदैन ।’
दर्शकदीर्घामै रहेर ताली पिट्दै झुमिरहेकामा गायक मोहन भुसाल पनि थिए । 'एउटा संगीतकर्मीका रूपमा मैले यस कार्यक्रमबाट धेरै सिक्न पाएँ । संगीत, मनोरञ्जन, सद्भाव र सन्देशको गज्जबको सम्मिश्रण । यो कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको पाएँ । नेपाली कार्यक्रमको स्तरलाई यसले अर्कै उचाइमा पुर्याएको अनुभव भयो,' उनी भन्दै थिए, 'दुई घण्टा बितेको थाहै पाएनौँ ।' उनी डेढ घण्टाको दूरीमा रहेको राली सहरबाट सपत्नी आएका थिए ।
कन्सर्टको भव्यता देखेर ग्रिन्सबोरोका दर्शक मात्र होइन, आयोजनास्थल ‘पिडमोन्ट हल’ का व्यवस्थापक कारा टायरी पनि दङ्ग थिइन् । ‘हलभरिका दर्शकलाई त्यस्तरी रमाइलो पार्ने कन्सर्ट ठ्याक्कै भनेकै समयमा सुरु भएर भनेकै समयमा अन्त्य हुनु अझ गज्जब लाग्यो, जुन यहाँ हत्तपत्त देख्न पाइँदैन,’ उनले भनिन्, ‘फेरि आउनुस्, तपाईंहरूलाई स्वागत छ ।’
अमेरिकाको यस राज्यमा नेपथ्यलाई पहिलोपटक प्रस्तुत गराउने आयोजक टोलीका विक्रम श्रेष्ठ पनि शनिबारको भव्य कन्सर्टबाट हौसिएका देखिन्थे । ‘पूरै अनलाइन बुकिङबाट यति ठुलो नेपाली कार्यक्रम भएको यो नै हाम्रो पहिलो अनुभव हो । हाम्रो टिमले अपेक्षा गरेको भन्दा उत्कृष्ट प्रस्तुति भयो,’ उनी भन्दै थिए, ‘यति व्यवस्थित प्रोडक्सन दिन सक्ने नेपथ्यको व्यवस्थापक नेपालयको टिमसँग सहकार्य अनुभव मेरा लागि कार्यक्रम व्यवस्थापनको पाठशाला जस्तै भएको छ ।’
यो प्रस्तुतिसँगै नेपथ्यको सातौँ अमेरिका यात्रा सम्पन्न भएको छ । यो वर्ष महिना दिन लामो शृङ्खलाबद्ध यात्रामा ब्यान्ड अस्टिन, सियाटल, लस एन्जलस, पिट्सबर्ग, सिकागो, बोस्टन हुँदै ग्रिन्सबोरो आइपुगेको हो । यस यात्रालाई सफलताका साथ सम्पन्न गर्ने कलाकार, व्यवस्थापक, प्राविधिकसहितको १४ सदस्यीय टोली यसै साता स्वदेश फिर्नेछ ।