बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संघीय लोकतान्त्रिक मोर्चा

के छ संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधिमा ?

मङ्गलबार, ०३ असार २०८२, १५ : ४५
मङ्गलबार, ०३ असार २०८२

सारांश

  • संघीय लोकतान्त्रिक मोर्चाले आफ्नो कार्यविधि तयार पारेको छ, जसलाई सचिवालयले तयार पारेको हो।
  • मोर्चाको बैठकले कार्यविधिलाई अन्तिम रूप दिन घटक दलहरूबाट सुझाव लिने निर्णय गरेको छ, र सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहनेछ।
  • कार्यविधिले बैठक सञ्चालन, निर्णय सार्वजनिक गर्ने प्रक्रिया, र आर्थिक व्यवस्थापनको बारेमा विस्तृत रूपमा उल्लेख गरेको छ।

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले आफ्नो कार्यविधि तयार पारेको छ । मोर्चाको कार्यविधि, २०८२ नाम दिइएको यसलाई सचिवलायले तयार गरेको र मूल समितिमा पेस गरेपछि त्यहाँबाट पास भएर कार्यान्वयनमा आउने छ । 

जेठ ३० गते राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले आबद्ध सबै घटक दलहरूबाट सुझाव लिई कार्यविधिलाई पूर्णता दिने र अर्को बैठकमा पेस गर्न निर्णय गरेको थियो । 

कार्यविधि अनुसार अर्को व्यवस्था नहुञ्जेल मोर्चाको सचिवालयको कार्यालय हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टीको कार्यालयमा रहनेछ । त्रिपाठीकै तत्परतामा तराई–मधेशका सात वटा दलबिच सहकार्य भएर यो मोर्चा बन्न सकेको हो । 

मोर्चामा आबद्ध कुनै पनि दलले चाहे सचिवालयको बैठक बस्न सक्ने र  विषयवस्तुको गम्भीरताका आधारमा मूल समितिको बैठक सञ्चालन गर्न सचिवालयले समन्वय गर्ने कार्यविधिमा उल्लेख छ । 

आलोपालो हिसाबले सबै घटक दलहरूको कार्यालय वा संसदीय दल तथा दलहरूको सुविधा हुने ठाउँमा बैठक राख्न सकिने पनि कार्यविधिमा उल्लेख छ । त्यस्तो बैठक आयोजना गर्ने दलले नै त्यस दिनको बैठकको अध्यक्षता गर्ने र सञ्चारमाध्यमको व्यवस्थापन एवं ब्रिफिङ गर्ने पनि उल्लेख छ । 

बैठकका निर्णय, एजेन्डा र कार्यक्रम सबै घटक दल दलहरूले पालना गर्ने भनिएको छ । र सचिवालयले एजेन्डा, योजना र कार्यक्रमको खाका तयार गरी मोर्चाको मूल समितिमा पेस गर्ने कार्यविधिमा लेखिएको छ । 

कार्यविधिमा भनिएको छ– ‘मोर्चाको मूल समितिको बैठकको निर्णयहरू सार्वजनिक गर्दा मोर्चाका आबद्ध घटक दलहरूका प्रतिनिधिहरूले प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नेछ, साथै मूल समितिको बैठकबाहेक हकमा सचिवालय सदस्यहरूले हस्ताक्षर गरि प्रेस विज्ञप्ति जारी गर्नेछ ।’

त्यस्तै आबद्ध दलहरूले आवश्यकताअनुसार प्रदेश स्तरमा तथा भ्रातृ संगठनहरूको विभिन्न तहरूमा मोर्चाको संरचना बनाई गतिविधि सञ्चालन गर्न सकिने पनि भनिएको छ । लक्ष्य र उद्देश्य प्राप्तिका लागि सरकार, संसद् र सडक तीन वटै स्थानमा सहकार्य गरी कार्यक्रम गरिने पनि कार्यविधिमा भनिएको छ । 

नीति कार्यक्रमको खाका सचिवालयले तयार गरी मूल समितिमा पेस गर्ने र आवश्यकतानुसार विभिन्न उपसमिति, कार्यदलहरू गठन गरी कार्य सञ्चालन गरिने बताइएको छ ।

सचिवालयको कार्य सञ्चालन एवं आर्थिक व्यवस्थापन आबद्ध दलहरूले गर्ने र यसका लागि एउटा कोष खडा गर्ने उल्लेख छ । 

कार्यविधिमा उल्लेख छ– ‘मोर्चाको सम्पूर्ण गतिविधिहरू सञ्चालनको निम्ति आवश्यक सबैखाले आर्थिक व्यवस्थापन सचिवालयमार्फत गरिनेछ र त्यसको सम्पूर्ण आय–व्यवको आर्थिक हिसाब किताब मूल समितिको बैठकमा पेस गरिने छ ।’ 

र मूल समितिको बैठक आयोजना गर्ने दलहरूले त्यस दिनको सम्पूर्ण आर्थिक व्यवस्थान गर्ने पनि भनिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप