तरुण दलको महाधिवेशन पार्टीको निगरानीमा मङ्सिरमा गर्ने कार्यतालिका
सारांश
- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन आगामी मंसिरमा गर्ने कार्यतालिका पेश गरियो।
- कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले सहमहामन्त्री महालक्ष्मी उपाध्यायको नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गर्यो।
- असार १५ गतेसम्म सदस्यता वितरण, भदौभित्र पालिका अधिवेशन र मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका छ।
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको महाधिवेशन पार्टीको प्रत्यक्ष निगरानीमा आगामी मङ्सिरमा गर्ने कार्यतालिका पेस भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा तरुण दलको महाधिवेशन गराउन सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को संयोजकत्वको निर्देशन समितिले मङ्सिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेको हो ।
सहमहामन्त्री उपाध्यायले असारबाट सुरु गरेर मङ्सिरमा महाधिवेशन गर्ने कार्यतालिका आफूहरूले पेस गरेको जानकारी दिइन् । ‘हामीले असारबाट सुरु गरेर मंसिरका केन्द्रीय महाधिवेशन सक्ने कार्यतालिका पेस गरेका छौँ,’ सहमहामन्त्री उपाध्यायले रातोपाटीसँग भनिन्, ‘त्यो कार्यतालिका पार्टीले अनुमोदन गरेर पार्टीकै सक्रियतामा गर्ने गरी हामी अगाडि बढेका छौँ ।’
उनका अनुसार संगठनका पूर्णकालीन सदस्यता वितरणको काम असार १५ गतेसम्म सक्ने, असार मसान्तभित्र वडा तहको अधिवेशन सक्ने र भदौमा पालिका अधिवेशन सक्ने कार्यतालिका छ । त्यस्तै असोजमा जिल्ला अधिवेशन र मङ्सिरमा राष्ट्रिय अधिवेशन सक्ने कार्यतालिका आफूहरूले पार्टीलाई दिएको सहमहामन्त्री उपाध्यायले जानकारी दिइन् ।
बैठकमा सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, निर्देशन समिति संयोजकसमेत रहेकी उपाध्याय निर्देशन समितिमा रहेका कांग्रेस केन्द्रीय सदस्यहरू सरिता प्रसाई र जितजंग बस्नेत र तरुण दलको तदर्थ समिति संयोजक विद्वान गुरुङ सहभागी थिए ।
तरुण दलको वर्तमान कार्यसमितिले महाधिवेशन गर्न सक्ने छाँट नदेखिएपछि पार्टीले आफै अगाडि बढेर महाधिवेशन गराउन लागेको हो । ‘पार्टीले नै ‘वन’ गरी पार्टीले हामीले बुझाएको कार्यतालिका अनुमोदन गरेर जिल्ला जिल्लाको पार्टी समितिलाई पठाएर पार्टीले नै महाधिवेशन गर्ने हो,’ सहमहामन्त्री उपाध्यायले भनिन् ।
लामो समयसम्म तदर्थ समिति संयोजक गुरुङले अधिवेशनको प्रक्रिया अगाडि बढाउन सकेका थिएनन् । उनले लमजुङमा अधिवेशन गराउन लाग्दा खुकुरी हानाहान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
-
‘चमेलीको पोइ’ १६ असोजमा
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण