बालेनको चाहना : ‘गुरागाईँ बैठकमा नआइदिएहुन्थ्यो’

समाचार सारांश
- काठमाडौं महानगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण बजेट निर्माण प्रक्रिया प्रभावित भएको छ। बैठक बस्न नसक्दा आगामी आर्थिक वर्षको बजेट ल्याउन समस्या भइरहेको छ।
- ललितपुर महानगरपालिकाले भने आगामी आर्थिक वर्षको बजेट ल्याउन सार्वजनिक सुनुवाइ र छलफलहरू सम्पन्न गरिसकेको छ, असार १० गते बजेट ल्याउने तयारी छ।
- काठमाडौं महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण बैठक बस्न नसकेको र प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न दबाब दिइएको बताइएको छ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले असार १० गते बजेट ल्याउन सार्वजनिक सुनुवाइदेखि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ ।
आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि महानगरले विभिन्न चरणमा सरोकारवालासँग सुझाव सङ्कलन, सार्वजनिक सुनुवाइदेखि नीतिगत छलफलसम्म प्रक्रियासमेत पूरा गरेर बिहीबार कार्यपालिका बैठकले पास गरिसकेको छ ।
उक्त पारित नीति तथा कार्यक्रमको मस्यौदा भोलि (असार ६ गते) बस्ने नगर सभामा सबै सदस्यहरूलाई वितरण गर्ने योजना बनाएको छ ।
महानगरले बजेट निर्माणको प्रक्रिया करिब एक महिनाअघि नै सीमा निर्धारण समितिको बैठकबाट सुरु भएको थियो । त्यसपछि बजेट तर्जुमा समितिले बजेटको सिलिङ निर्धारण गर्नेलगायत आवश्यक गृहकार्य गरेको थियो ।
बजेटलाई जनमुखी बनाउन महानगरले वडा–वडामा सार्वजनिक सुनुवाइ आयोजना गरी नागरिकका सुझाव सङ्कलन गरिसकेको छ । यसका साथै ललितपुर महानगरपालिकाले विभिन्न संघसंस्था, स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधि, ललितपुर जिल्लाका सबै प्रदेश तथा संघीय सांसदसँग समेत छुट्टाछुट्टै छलफल गरी सुझाव लिइसकेको छ ।
तर यता देशकै ठुलो र राजधानीका रहेको महानगरपालिकामा भने अहिलेसम्म बजेट निर्धारण समितिको बैठक बस्न सकेको छैन । बजेट निर्धारण समितिको बैठक पनि दुई पटकसम्म सरिसक्यो । बिहीबार बस्ने भनिएको बैठक पनि अन्तिम समयमा आएर बस्न सकेन ।
समिति सदस्यका अनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको विवादका कारण लामो समयदेखि कुनै पनि बैठक बस्न सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्छ । तर सात महिना भयो काठमाडौँ महानगरकाे बैठक हुन नसकेको ।
अहिले सबै स्थानीय तह आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट बनाउन व्यस्त छन् । तर काठमाडौँ महानगरपालिका आन्तरिक विवादमै रुमल्लिइरहेको छ ।
महानगरको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ हुन् । मेयर बालेन्द्र शाह (बालेन) र गुरागाईँबिच निम्तिएको समस्याका कारण यसको बैठक बस्न नसकेको हो । सदस्य सचिवविना बैठक राख्न नमिल्ने सदस्यहरूको अडानका कारण पनि बैठकको टुंगो लागेको छैन ।
मेयरले बैठक राख्न भने पनि गुरागाईँले आफूलाई यसबारे थाहा नभएको प्रतिक्रिया दिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्छ । तर सात महिना भयो काठमाडौँ महानगरकाे बैठक हुन नसकेको ।
स्थानीय तहले असार १० गतेसम्म नगरसभासक्ष बजेट ल्याउनुपर्ने हुन्छ । र असार मसान्तसम्म पारित गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।
बजेट सीमा निर्धारण गरी सार्वजनिक सुनुवाइ तथा सुझावसमेत सङ्कलन गरी कार्यपालिका र नगरसभाबाट पारित गर्नुपर्नेमा महानगर विवादको चङ्गुलमा छ ।
ऐनले उक्त कार्यपालिका बैठक बोलाउने जिम्मेवारी नगरप्रमुखलाई दिएको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रमुख प्रशासकीय अधिकृत महानगरको कार्यपालिका बैठक र सभाका सदस्यसचिव हुन्छ, प्रमुख प्रशासकीय अधिकृतले बैठकको निर्णय लेख्ने प्रावधान छ ।
तर यता ललितपुर महानगरले भने असार ९ गते नीतिलाई अन्तिम रूप दिने गरी बवजेट पारित गर्ने तयारीमा रहेको प्रवक्ता राजुु महर्जनले बताए । ‘१० गते बजेट प्रस्तुत गरिनेछ । नगर सभा सदस्यहरूले बजेटको विनियोजनमाथि छलफल गर्न समय पाउनुहुनेछ र सम्पूर्ण छलफलपछि मात्र बजेट अन्तिम रूपमा पारित हुनेछ ।’
तर काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले भने नीति तथा कार्यक्रम र बजेटका विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताए ।
मेयरले अहिलेसम्म स्रोत अनुमान तथा निर्धारण समितिको बैठकसमेत नबोलाएका उनले बताए । भने, ‘सबै अधिकार मेयरलाई छ । मेयरले के गरिरहेका छन् । हामीलाई जानकारी छैन । बोलाए जाने हो ।’
उनका अनुसार नीति तथा कार्यक्रमसमेत कहिले आउने निश्चित छैन ।
प्रमुख प्रशासकीय अधिकृतसँगको विवादसँगै मेयर बालेनको अन्य जनप्रतिनिधिहरूबिच पनि विवाद बढेको छ । यस्तै उपमेयर सुनिता डंगोलसँग समेत बालेनको राम्रो सम्बन्ध छैन ।
ऐनले उक्त कार्यपालिका बैठक बोलाउने जिम्मेवारी नगरप्रमुखलाई दिएको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रमुख प्रशासकीय अधिकृत महानगरको कार्यपालिका बैठक र सभाका सदस्यसचिव हुन्छ, प्रमुख प्रशासकीय अधिकृतले बैठकको निर्णय लेख्ने प्रावधान छ ।
‘नीति तथा कार्यक्रम र बजेट बनाउने कार्य जारी छ’
गुरागाईँले जनप्रतिनिधिहरू छलफल र बैठकमा नबसे पनि बजेट भने तयार भइरहेको बताएका छन् । साथै महानगरका कर्मचारीहरूले नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा व्यस्त रहेको उनले जानकारी दिए । कुनै पनि बैठक नबसे पनि बजेट बनाउने काम नरोकिएको उनको भनाइ थियो ।
उनले भने, ‘कर्मचारी प्रशासन जिम्मेवारीअनुसार असार १० गते बजेट ल्याउने गरी मस्यौदा तयार गरिरहेको छ । जनप्रतिनिधिहरूले बैठक बोलाएर छलफल भने भएको छैन । स्रोत अनुमान तथा निर्धारण समितिको बैठकसमेत बसेको छैन ।’
प्रमुख प्रशासकीय अधिकृतलाई बिदा बस्न दबाब
मेयर शाहले महानगरको बैठक राख्नुभन्दा प्रमुख प्रशासकीय अधिकृतलाई बिदा बस्न आग्रह गर्दै आएको बुझिएको छ ।
काठमाडौँ टावरको विषयलाई लिएर मेयर र गुरागाईँबिच विवाद निम्तिएको थियो । मेयर बालेनले उनलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । त्यसको तीन महिनापछि अर्थात् चैत २१ मा उपमेयर र जनप्रविधिहरूले उनलाई कार्यालयमा हाजिर गराउन सफल भएका थिए ।
महानगरभित्रको विवादको जड नै प्रमुख प्रशासकीय अधिकृत भएकाले मेयरलाई अफ्ठ्यारो नबनाउन उनलाई बिदामा बस्न दबाब दिइएको बताइन्छ ।
मेयर सचिवालयका एक सदस्यका अनुसार प्रमुख प्रशासकीय अधिकृत आफैले बुझेर महानगरको विभिन्न बैठक राख्न र बजेट ल्याउने समयमा अरूलाई जिम्मेवारी दिएर बिदामा बस्न उपयुक्त हुने बताए ।
तर गुरागाईँ बिदामा बस्ने मनस्थितिमा देखिएका छैनन् । बालेनले पनि उनलाई बैठकमा राख्न चाहेका छैनन् ।
काठमाडौँ टावरको विषयलाई लिएर मेयर र गुरागाईँबिच विवाद निम्तिएको थियो । मेयर बालेनले उनलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । त्यसको तीन महिनापछि अर्थात् चैत २१ मा उपमेयर र जनप्रविधिहरूले उनलाई कार्यालयमा हाजिर गराउन सफल भएका थिए ।
त्यसयता बालेन र गुरागाईँबिच भेटघाटसमेत भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका
-
कोहली र रोहितको युगपछि शुभमन र यशस्वीको धमाकेदार सुरुवात
-
नेतृत्वविहीन रास्वपा तेस्रो स्थापना दिवस मनाउँदै, रविमाथि मुद्दाको चाङ
-
मनिष झालाई प्रश्न– रविले कतै बदमासी गरेजस्तो लागेको छैन ?
-
फ्लामेङ्गोसँगको हारले चेल्सी संकटमा
-
योगका ८ अंग